राजापुर नगरपालिकाको चरम लापरबाही, नगरको फोहर सामुदायिक वनमा बिर्सजन

दुर्घन्धित र कुरुप बन्दै राजापुर बजार


राजापुर नगरपालिकाको चरम लापरबाही, नगरको फोहर सामुदायिक वनमा बिर्सजन

राजापुर नगरपालिकाद्वारा सरस्वती सामुदायिक वनमा फालेको फोहोर । नजिकै देखिएको कैलाली टिकापुर जोड्ने हुलाकी सडक । तस्विर : दीपक शर्मा /सेतोखरी

राजापुर (बर्दिया) ३ मंसिर : बर्दियाको राजापुर नगरपालिकाले नगरको फोहोर ब्यवस्थापनमा उदासिनता देखाएकोछ । नगरमा दिनहुँ उत्सर्ग हुने फोहोरको उचित ब्यवस्थापनमा चासो नदिएपछि यतिबेला राजापुर बजार दुर्घन्धित र कुरुप बन्दै गएको हो । नगरमा दिनहुँ उत्सर्ग हुने फोहोरको उचित ब्यवस्थापन नगरि राजापुर नगरपालिकाले सामुदायिक वनमा फोहोर विर्सजन गरिरहेकोछ ।

नगरबाट उत्र्सग हुने फोहोरको उचित व्यवस्थापन गर्नुको साटो राजापुर नगरपालिका स्वयम जनस्वास्थ्य तथा पर्यावरणको बेप्रवाह गर्दै सामुदायिक वनमा फोहोर विर्सजन गर्दै आएकोछ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–४ कैलालीको टिकापुर जोड्ने हुलाकी सडकसंग जोडिएको सरस्वती सामुदायिक वनमा नियमनकारी निकाय नगरपालिका स्वयमले लामो समयदेखि फोहोर विर्सजन गरिरहँदा हुलाकी सडकमै फोहोरको डंगुर छरपस्ट हुदाँ सो सडक भएर आवतजावत गर्नेहरुलाई हैरानी भइरहेको छ । भने स्थानीयले फोहोरको उचित व्यवस्थापन गरिदिन आग्रह गरेपनि राजापुर नगरपालिकाले बेवास्ता गरिरहेकोछ ।

नगरपालिकाले अटेरी गर्दै सामुदायिक वनमै फोहोर फालिरहेकोछ । यसले सामुदायिक वन दुर्घन्धित हुनुका साथै वनको जैविकतामाथि संकट आउन सक्ने चिन्ता बढेको सरस्वती सामुदायिक वनका अध्यक्ष शर्मा चौधरीले बताए । राजापुर नगरपालिकाको कार्यालयदेखि मुस्किलले २ किलो मिटर पश्चिममा रहेको उक्त सामुदायिक वनमा फालिएको फोहरले नगरपालिकाकालाई गिज्याइरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यतिमात्र होइन कैलालीको सीमाना शक्तिघाट पुलसंग जोडिएको उक्त क्षेत्र भएर हिँडडुल गर्नसमेत सर्वसाधरणलाई सास्ती भएकोछ । कैलालीको टिकापुर क्षेत्रबाट बर्दिया आउनेहरुलाई राजापुर नगरपालिकाले अटेरी गरि थुपारेको फोहोरले स्वागत गर्दछ । नगरपालिकाको यस्तो नमुना कार्यबाट आक्रान्त बनेका स्थानीयले पटक–पटक फोहोर व्यवस्थापनमा चासो देखएपनि राजापुर नगरपालिकाले सुने पनि नसुने झैं गरिरहेको स्थानीयले बताए ।

केही समय अघि राजापुर नगरपालिकाले सरस्वती सामुदायिक वनमा रहेको खाल्डो पुर्ने भन्दै फोहर फाल्न थालेपछि अहिले त्यहाँ खाल्डो छैन राजापुर बजारको फोहोरको डंगुरले भरिएकोछ । सामुदायिक वन र हुलाकी सडकसंग छरपष्ट फालिएको फोहोर व्यवस्थापन गर्न पटक–पटक नगरपालिकाका प्रमुख शिव प्रसाद थारुलाई आग्रह गरेतापनि कुनै वास्ता नगरेका कारण अहिले सो क्षेत्रमा नाक थुनेर हिँडनु पर्ने बाध्यता रहेको सामुदायिक वनका अध्यक्ष चौधरीले बताए ।

स्थानीयबासी तथा नेपाली काँग्रेसका नेता धनिराम गीरीले सामुदायिक वनमा फ्याँकिएको फोहोर व्यवस्थापनमा उदासिन देखिएको बताए । ‘नगरको फोहोर व्यवस्थापनमा नगरपालिकाले कुनै योजना नै नबनाएका कारण अहिले सर्वसाधरणले सास्ती भोग्नुपरेको हो । यही फोहोरका कारण मानव स्वास्थ्यमा ठूलो संकट आए यसको जवाफ कसले दिने ?’ नेता गिरीले भने–‘नगरको फोहोर व्यवस्थापनका लागी जमिनको कमि छैन तर नगरप्रमुख र उपप्रमुखलाई यसविषयमा चासो र चिन्ता नै छैन । जसका कारण नगरबासीले सास्ती भोग्नु परेको छ ।’

यता राजापुर नगरपालिकाका नगरप्रमखु शिवप्रसाद थारुले अर्को व्यवस्था नहुदाँसम्म्का लागि त्यहाँ फोहोर बिर्सजन गरिएको स्वीकारे । उनले भने–‘नगरको फोहोर व्यवस्थापनका लागी योजना बनाउदैछौं । यस छिटै समस्या समाधान हुन्छ ।’

राजापुर नगरपालिकाका सूचना अधिकारी वसन्त मल्लले फोहरलाई व्यवस्थापन गर्नका लागी संघीय सरकारको योजना अनुसार डिपिआर तयार भइ काम अगाडी बढेको जानकारी दिए । स्थानीय तहको निर्वाचन भएको करिब ५ वर्ष पुग्नै लाग्दा फोहोरलाई व्यवस्थापन गर्न नसक्ने जनप्रतिनिधिले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै स्थानीयबासीले नागरिकका काम भन्दा पनि कमाउने योजनामा लागेको आरोप लगाएका छन् ।