गोरखामा नमूना ग्रीन हाउस निर्माण गरिने


गोरखामा नमूना ग्रीन हाउस निर्माण गरिने

गोरखा ८ मंसिर : कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुंगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ ।

कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

कार्यालयको नाममा भएको उक्त जग्गामा दुई भवन रहेको भए पनि गएको करिब ३५ वर्षदेखि उक्त जमिन र घर उपयोगविहीन हुँदै आएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

‘टिनको छाना भएका तीन÷तीन कोठे दुई भवन रहेछ, दुवै भवन जीर्ण अवस्थामा रहेको पाइयो,भवनको मर्मत सम्भार गर्ने र कार्यालयको नाममा रहेको जमिनलाई तारजाली गरी संरक्षण गर्न बजेट समेत प्राप्त भएको छ’, उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital

गण्डकी प्रदेश सरकारबाट भवन संरक्षणलगायतका कामका लागि चालू आर्थिक वर्षमा रु ५० लाख रकम प्राप्त भएको छ ।

प्रदेश सरकारले कृषि ज्ञान केन्द्रको स्रोत केन्द्र संरचनात्मक सुधार कार्यका लागि रु १० लाख विनियोजन गरेको छ भने उक्त नमूना ग्रीन हाउस निर्माणका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको प्रमुख अधिकारीले जानकारी दिए ।

विनियोजित कार्यक्रमबाट उक्त जमिनमा तारजाली लगाउने, जीर्ण भवन मर्मत गर्ने, पानी पोखरी निर्माण गर्ने नमूना ग्रिन हाउस निर्माण गर्नेलगायतको योजना रहेको छ । त्यस्तै, प्लाष्टिकको घर निर्माण गरी तरकारी खेती, नर्सरी निर्माण गरी बेर्ना उत्पादन गर्ने लगायतका योजनासमेत कार्यालयको रहेको कार्यालयले जनाएको छ ।

पानी पोखरी निर्माण गरी लिफ्टिङ गरी पोखरीको पानीको व्यवस्था गरिनेछ । उनले भने, ‘३०/४० गोलासहितको घार राखेर मौरीपालन गर्ने योजना छ ।’ पहाडी खाद्यान्न आयोजनाले करिब २०४३ सालतिर कार्यालयको उक्त जमिनमा भवन निर्माण गरे पनि भवन प्रयोगमा नआउँदा जीर्ण अवस्थामा पुगेको छ । -रासस