बर्दियामा बढ्दो बाघ आक्रमण : २३ जनाको मृत्यु, २५ जना घाइते


बर्दियामा बढ्दो बाघ आक्रमण : २३ जनाको मृत्यु, २५ जना घाइते

File Photo

गुलरिया (बर्दिया) १२ मंसिर : घरपरिवारका अन्य सदस्य काममा व्यस्त भएका बेला ६२ वर्षिय कालुराम थारु घर नजिकैको रुखमा बाँधिराखेको राँगो लिन आफै गए । सधै आउ–जाउ भैरहने सो स्थानमा राँगो लिन गएका थारु कहिलै घर फर्कन पाएनन् । रुखमा बाँधिराखेको राँगो फुकाउदै गर्दा एक्कासी बाघले आक्रमण गर्दा ६२ वर्षिय थारुको घटनास्थलमै लिला समाप्त भयो ।

आईतबार दिउँसो करिब ४ बजेतिर गेरुवा गाँउपालिका वडा नम्बर–४ राजिपुरका ६२ वर्षिय कालुराम थारुले सोचेका पनि थिएनन् की राँगो लिन जाँदा आफ्नो ज्यान फाल्नु पर्छ भनेर । तर, लेखेको त्यस्तै रहेछ घर नजिकै रुखमा बाँधिराखेको राँगो लिन जाँदा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले आक्रमण गर्दा एैया पनि भन्न नपाएर उनले ज्यान गुमाउनु पर्यो । उनलाई आईतबार अपरान्ह पौने ४ बजेतिर पाटेबाघले आक्रमण गरेको थियो ।

ईलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले बाघको आक्रमणबाट चौधरीको टाउको विछिप्त रहेका अवस्थामा घरभन्दा करिब पाँच सय मिटर टाढा उनको शव भेटिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटेबाघले मानवीय क्षतिको यो एउटा घटना हो । यस्ता घटना थुप्रै भएकाछन् । बर्दियामा बाघको संख्या बढेसँगै मानववस्तीमा जोखिम पनि बढ्दै गएको छ ।
पछिल्लो पटक आक्रामक रुपले मानिसको सिकार गर्न पल्किरहेका बर्दिया राष्ट्रिय निकुञ्जका पाटबाघले निकुञ्ज क्षेत्रका नागरिकलाई राति होस् वा दिउँसो आक्रमण गरिरहेकोछ । सर्वसाधरण बाघ आक्रमणको त्रासले त्रसित बनेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दिया राष्ट्रिय निकुञ्जले बाघ संरक्षणको विषयमा धेरै काम गर्ने गरेको दावि गरेतापनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन । बाघ संरक्षणमा आएको बजेटले बाघको संख्या बृद्धि गर्नमा सहयोग पुगेको भएतापनी बाघ लगायत वन्यजन्तुको आक्रमणमा परि स्थानीयले अनाहकमा ज्यान गुमाइरहेकाछन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांक हेर्दा विस २०५६ सालदेखि हालसम्म बाघले मानिसलाई आक्रमण गर्ने र मार्ने गरेको संख्या बढ्दै गएकोछ ।

विगतका वर्षहरुमा बाघबाट थोरै मानवीय क्षति भएपनि गत वर्षदेखि बाघ आक्रमणको घट्ना ह्वात्तै बढेको छ भने मानवीय क्षती पनि उच्च रहेको पाइएकोछ । बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणको घटना उकालो लाग्दै गएपछि स्थानीयबासीमात्र होइन बाघ संरक्षणकर्ताहरु समेत त्रसित बन्न पुगेकाछन् ।

गत आर्थिक वर्षमा बाघ आक्रमणमा परी बर्दियामा कुल १२ जनाले अनाहकमा ज्यान गुमाउनु पर्यो । भने चालु आर्थिक वर्षको मध्यसम्म आइपुग्दा बर्दियामा बाघ आक्रमणमा परि ४ जना मानिसको ज्यान गइसकेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मुकुन्द संजेलले जानकारी दिए ।

यतिमात्र होइन बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार हालसम्म बाघको आक्रमणमा परी २३ जना मानिसको मृत्यु भैसकेको छ । भने बाघको आक्रमण परी २५ जना मानिस घाइते भएका छन् ।
बाघ लजालु स्वभावको जनावर भएपनि मानिसलाई देख्ने वित्तिकै आक्रमण नगर्ने तर, बाघ आफ्ना बच्चासंग भएको बेला, सिकार गर्न नसक्ने अवस्थामा भएको बुढो बाघ र मान्छे खान पल्किएको बाघले मात्रै मानिसलाई आक्रमण गर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत संजेलले बताउँछन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा नागरिक र वन्यजन्तुबीच द्वन्द्व मात्र बढेको छैन । मानवीय क्षति समेत बढेकाले स्थानीयले चिन्ता र चासो ब्यक्त गरिरहेकाछन् । यतिमात्र होइन वन्यजन्तु चोरी, सिकारी र तस्करी पनि उत्तिकै मौलाउँदै गएकोछ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व समाधानका लागी निकुञ्जले ठोस् योजना ल्याउन सकेको छैन । जसकारण मानिस र वनयजन्तुबीचको द्वन्द्व न्यूनिकरण हुन नसकेको स्थानीय सोम थारुले बताए ।
बर्दियामा मात्र नभएर पछिल्लो समय बाँकेमा समेत पाटेबाघको आक्रमणको घटना बढेकोछ । बाँकेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा मात्र सिमित पाटेबाघ पछिल्लो पटक बाँकेको दक्षिण–पूर्वी सीमाको राष्ट्रिय वनमै पुगेर मान्छे समेत मार्ने गरेकोछ ।