नेपालगन्ज २२ मंसिर : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बाँके जिल्लाका विभिन्न कार्यालय प्रमुख सम्मलित बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिए । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनका कारण बिकासको गति पछि धकेलिएको बताए ।
कार्यालय प्रमुखहरुकाबिच सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई निरन्तर अनुगमन र निगरानीमा राखेकोले दोषी पाए कारबाही गरिने बताए ।
बिकास निर्माणको अवस्था र आईपरेका समस्या तथा समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
सोक्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतीकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणको कार्यान्वयनका अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरुसँग जानकारी लिने काम भएको थियो । बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन ।
यसअघि मन्त्री अथकले मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरुसँग छलफल गरेका मन्त्री अथक राष्ट्रिय युवा परिषदको कार्यक्रममा सहभागी हुन बाँके आएका थिए । उनी आजनै काठमाण्डौं फर्किएका छन् ।