नेपालगन्ज ५ पुष : विदेशी विनिमय सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले १८ वस्तुको आयातमा कडाइ गरेको छ ।
चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री/फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट÷भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर र प्लास्टिकका फर्निचर आयात गर्न बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
केन्द्रीय बैंकले आयातमा मार्जिन व्यवस्थासम्बन्धी एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरिदिएको छ । अब विदेशबाट सामान आयात गर्नेहरूले त्यसअघि नै रकम जम्मा गर्नुपर्नेछ । त्यस्तो प्रयोजनका लागि बैंकहरूले स्वदेशी मुद्रामा कर्जा प्रवाह गर्न पनि नपाउने भएका छन् । यसअघि एलसीका लागि मार्जिन राख्ने÷नराख्ने निर्णय बैंकहरूले नै गर्ने गरेका थिए ।
सरकारी निकाय, कूटनीतिक नियोग र अस्पतालका लागि आवश्यक सामान, औद्योगिक कच्चापदार्थ, औषधिजन्य प्रयोजनका सामग्री, विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटर र विद्युतीय सवारी आयात गर्न भने मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छैन । तर, पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्नेछ ।
कोरोना महामारीको प्रभाव घट्दै जाँदा नेपालमा विदेशबाट मालबस्तु आयात ह्वात्तै बढेको छ । अत्यधिक आयातकै कारण कात्तिक महिनासम्म शोधनान्तर घाटा एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा आयात ६१.६ प्रतिशतले बढेको छ । कुल विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलरमा खुम्चिएको छ । अहिले नेपालसँग ७.२ महिनाका लागि आवश्यक वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिती बाँकी छ ।