इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात


इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात

झापा ८ पुष : पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो । भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए ।

एक लाख १५ हजार बराबरको एक हजार २०० वटा किबीको बिरुवा भूटान निकासी भएको छ । ‘चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो’, उनले भने । किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताए । उनले भने,–‘यसबाट किसानमा उत्साह थपिन्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि आव २०७४/७५ मा १०० र आव २०७५/७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ ।

विगत लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बङ्गालादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताए । पाँच वर्ष अघिदेखि किबीको बिरुवा भूटान निर्यात गर्दै आएको उनको दाबी छ । समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ । ‘यस वर्ष १० हजारभन्दा बढी बिरुवा बिक्री भइसकेको छ’, खतिवडाले भने । -रासस