नेपालगन्ज १२ पुष : नेपाली काँग्रेस बाँकेसहित १६ जिल्लाको अधिवेशन आगामी पुष २७ गते हुने भएकोछ । काँग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी आगामी पुष २७ गते निर्वाचन गर्ने निर्णय सार्वजनिक गरेकोछ ।
काँग्रेसको केन्द्रिय महाधिवेशन भए पनि जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी बाँके, कैलाली, अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन र नवलपुर गरि १६ जिल्लाको अधिवेशन हुन बाँकी छ ।
यसअघि मंसिर १४ गते बाँकेका लागि तोकिएको जिल्ला अधिवेशन प्रदेश अधिवेशनसंग जुध्ने अवस्था आएपछि स्थगित गरिएको थियो । उम्मेदवारी मनोनयनपत्र वितरण भइसकेको अवस्थामा अन्तिम समयमा अधिवेशन रोकिएको थियो ।
प्रदेश महाधिवेशन र संघीय महाधिवेशन प्रतिनिधि चुनिइसकेकाले प्रदेश र केन्द्रिय महाधिवेशनलाई असर नपर्ने भएका कारण केन्द्रिय निर्वाचन समितिको निर्देशनमा जिल्ला अधिवेशन सारिएको थियो ।
बाँके काँग्रेसको नेतृत्वमा ७ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला पार्टी सभापतिका लागि लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, वर्तमान उपसभापति सुनिलनरसिंह राणा, संविधानसभा सदस्य बादशाह कुर्मी, नेताहरु राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, नारायण गौडेल र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यी मध्ये सिजापति, गौडेल र शाह १३ औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लडेका थिए । पहिलो चरणमा दोस्रो बनेका सिजापति दोस्रो चरणमा भने अहिलेकी पार्टी सभापति किरण कोइरालासंग पराजित भएका थिए । बर्मा १२ औं महाधिवेशनमा पूर्व सभापति स्वर्गीय डाक्टर अरुण कोइरालासंग चुनाव लडेका थिए । हमाल, राणा र कुर्मी पहिलोपटक सभापतिमा भिड्न लागेका हुन् । यी सात आकांक्षी मध्ये गौडेल बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु हुन् ।
गौडेल भने डाक्टर शेखर कोइराला निकट हुन् । राणा केही समय अघि पार्टी सभापति कोइरालासंग निकट भएपनि महाधिवेशन प्रतिनिधि लड्दा देउवा समूहतिर खुलेका थिए । बर्मा देउवा निकट भएपनि जिल्लाका स्थानीय तथा क्षेत्रीय अधिवेशनहरुमा फरक समीकरणमा रहेर भूमिका निभाएका कारण उनको भूमिका अझैं प्रष्ट छैन ।
थप समाचार
बाँकेमा देउवा समुहका ५ प्यानल, उम्मेदवार बनाउन प्रतिनिधी खोसाखोस
देउवा समूहका ४ र कोइराला–पौडेल समूहका एक जना उम्मेदवारका आकांक्षी
काँग्रेस बाँकेको निर्वाचन कार्यक्रम स्थगित
काँग्रेस बाँकेको सभापतिमा देउवा पक्षबाट बादशाहको उम्मेदवारी घोषणा
काँग्रेस बाँकेको उपसभापतिमा नेता सापकोटाद्वारा उम्मेदवारी घोषणा