नेपालगन्ज १४ पुषः नेपालगन्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुकमै नमूनायोग्य काम गरिरहेको बताएकोछ । नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपालगन्जलाई सुन्दर, सफा र हरित शहर बनाउनका लागि सुरुवातदेखि नै पहलकदमी काम अघि बढाइएको उल्लेख गरिएको छ ।
देशमा विभिन्न शहरमा ल्याण्डफिल साईट निर्माण कार्य पुरा नभएको अवस्थामा नेपालगन्जमा भने ल्याण्डफिल साईट निर्माण भई सञ्चालनमा आईसकेको छ । विज्ञप्तीमा नेपालगन्जमा दैनिक फोहर ब्यवस्थापनका लागि स्थायी, ज्यालादारी र करारमा गरि १५५ जना कर्मचारी कार्यरत रहेको र उनीहरुको मासिक तलबमा ३४ लाख ९ हजार ४०१ रुपैयाँ मात्रै खर्च हुने स्पष्ट पारिएको छ ।
मुख्य सडकको फोहार ब्यवस्थापनका लागि ई–विडिङ्गमार्फत फर्महरु छनोट गरिएको र सार्वजनिक निजी साझेदारी अन्तर्गत केही वडामा वडा कार्यालयको सिफारिस तथा नगर कार्यपालिकाको निर्णयका आधारमा घरघरबाट फोहर संकलनका लागि गैर सरकारी संस्थाहरु छनोट हुने विज्ञप्तीमा स्पष्ट पारिएको छ ।