*भेरी अस्पताल हाताभित्र क्वाटरमा निसास्सिएर ४ जनाको मृत्यु, धनप्रसादकी श्रीमतीको होस् आयो, छोरा र भाई अझैं बेहोस्


*भेरी अस्पताल हाताभित्र क्वाटरमा निसास्सिएर ४ जनाको मृत्यु, धनप्रसादकी श्रीमतीको होस् आयो, छोरा र भाई अझैं बेहोस्

नेपालगन्ज १५ पुष : नेपालगन्जस्थित भेरी अस्पतालको हाताभित्र रहेको कर्णाली प्रदेशको खरिद तथा आपूर्ती शाखाको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।
भेरी अस्पताल हाताभित्र रहेको उक्त क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र नगरपालिका वडा नम्बर–६ पिली गाउँ घर भएका २३ वर्षिय धनप्रसाद भट्टराई, ४५ वर्षिय धनप्रसादकी आमा कोकिला भट्टराई, २७ वर्षिय दिदी नन्दकली भट्टराई र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

धनप्रसादकी २४ वर्षिया श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र १८ वर्षिय भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमती सुशीला होसमा आएपनि छोरा विवश र देवर नरेन्द्रको होस अझैं नआएको प्रहरी निरीक्षक खिमबहादुरले जानकारी दिए । उनले भने–‘परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । बिहीबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए ।’

Kids Festival 2022
kanti aarogya hospital

प्रहरी निरीक्षक घर्तीले भने–‘बेहोस अवस्थामा पाइएका सबैलाई उपचारका लागि अस्पताल लगियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको चिकित्सकले पुष्टि गरे ।’

होसमा आएकी धनप्रसादकी श्रीमती सुशीलाले बुधबार बेलुका खाना खाएर सबैजना सुतेको बताएकी छन् । प्रहरी निरीक्षक घर्तीले भने –‘सुशीलाको स्वास्थ्य अवस्था अझैं सामान्य नभइसकेकोले थप जानकारी लिन असमर्थ भयौं ।’
उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौं प्रहरी निरीक्षक घर्तीले भने –‘मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्छ ।’

थप समाचार

भेरी अस्पतालको स्टोर कोठामा ३ जना मृत भेटिए, अनुसन्धान जारी

*यसअघि भेरी अस्पतालको क्वाटरमा भनिएकोमा सच्चाइएको छ । -सं