नेपालगन्ज १५ पुष : नेपालगन्जस्थित भेरी अस्पतालको हाताभित्र रहेको कर्णाली प्रदेशको खरिद तथा आपूर्ती शाखाको क्वाटरमा निसास्सिएर मृत्यु भएकाको पोष्टमार्टम गर्न रोक लगाइएकोछ । एकै परिवारका चार जनाको मृत्युको खबरबाट विछिप्त भट्टराई परिवारको आफन्तले पोष्टमार्टम गर्न रोक लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरका अनुसार एउटै परिवारका आमा र छोरासहित ४ जनाको मृत्यु भएपछि गहिरो शोकमा डुवेका परिवारका सदस्यले पोष्टमार्टम गर्न रोक लगाएका हुन् ।
भेरी अस्पताल हाताभित्र रहेको उक्त क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराईसहित ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालीकोटको खाडाचक्र नगरपालिका वडा नम्बर–६ पिली गाउँ घर भएका २३ वर्षिय धनप्रसाद भट्टराई, उनकी ४५ वर्षिय आमा कोकिला भट्टराई, २७ वर्षिया दिदी नन्दकली भट्टराई र उनका तीन महिनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको थियो ।
प्रहरी निरीक्षक खिमबहादुरका अनुसार धनप्रसादकी २४ वर्षिया श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र १८ वर्षिय भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सुशीला उपचारपछि दिउँसो मात्रै होसमा आएपनि छोरा विवश र देवर नरेन्द्रको होस अझैं नआएको प्रहरी निरीक्षक खिमबहादुरले जानकारी दिए ।
उनले भने–‘परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको कोठामा सुतेकाबेला ४ जनाको मृत्यु भयो । अस्पतालमा उपचारको क्रममा रहेका धनप्रशादका छोरा र भाइको अझैं होस आउनसकेको छैन । यद्यपी छोरा र भाइको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी प्राप्त भएकोछ ।
‘उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा दाउराको कोइला बालेर राखेको पाइएको छ । घटना स्थलको अनुसन्धान गर्दा झ्याल, ढोका पुरै बन्द भएको पाइएकोले हालसम्म उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौं’ प्रहरी निरीक्षक घर्तीले भने –‘मृत्युको वास्तविक कारण भने पोष्टमार्टम गरिएपछि आउने रिपोर्टबाट मात्रै पत्ता लाग्छ ।’ उनले अगाडी थपे भोली शुक्रबारसम्म मृतक धनप्रशादका आफन्त नेपालगन्ज आइपुग्ने खबर प्राप्त भएको छ । त्यसपछि थप कुरा थाहा हुन्छ ।
थप समाचार