नरैनापुरद्वारा ५ करोडको लागतमा ग्यास सिलिण्डर र चुल्हो वितरण


नरैनापुरद्वारा ५ करोडको लागतमा ग्यास सिलिण्डर र चुल्हो वितरण

नेपालगन्ज १८ पुष : बाँकेको नरैनापुर गाउँपालिकाले ५ करोडको लागतमा ग्यास सिलिण्डर र चुल्हो वितरण शुरु गरेकोछ । गाउँपालिकाले ९ हजार ५ सय घरधुरीलाई सिलिण्डर र ग्यास चुल्हो वितरण गर्ने भन्दै ५ करोड रकम विनियोजित गरेको हो ।

जिल्लामै दुर्गम मानिएको नरैनापुर गाउँपालिकाले आफ्ना जनतालाई खाना पकाउने प्रयोजनका लागि भन्दै आईतबारदेखि ग्यास सिलिण्डर र चुलो वितरण कार्य सुरु गरेको छ ।

नौ बुँदे प्रतिबद्धतासहित डिजिटल प्रविधिबाट ग्यास सिलिण्डर र चुलो वितरण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । प्रति परिवार ग्याससहितको सिलिण्डर १ थान, चुल्हो १ थान, पाइप २ मिटर, लाइटर १ थान दिइएको गाउँपालिकाले जनाएको छ ।

आगामी एक महिनाभित्र पालिकाका लक्षित ९ हजार ५ सय घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

वनजंगल फडानी गर्ने कार्य रोकेर वातावरण संरक्षणमा योगदान पुर्याउन, आगलागी नियन्त्रण र धुवाँबाट हुने रोगहरु न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाका सबै घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण गर्न शुरु गरिएको अध्यक्ष शाहले दावि गरे ।

गाउँपालिकाले प्रत्येक घरधुरीका अगुवासँग घरमा शौचालय निर्माण गरी नियमित प्रयोग गर्ने, उमेर पुगेका बालबालिकालाई नियमित बिद्यालय पठाउनुपर्ने, कोभिड लगायत बालबालिकालाई सबै खोप लगाई पूर्ण खोपयुक्त गाउँपालिका बनाउने प्रतिबद्धता समेत लिएको छ ।

त्यस्तै बालबिवाह, बालश्रममुक्त परिवारको निर्माण गरी बालमैत्री स्थानीय शासन सञ्चालनमा सहयोग पुर्याउनुपर्ने, लैङ्गिक तथा घरेलु हिंसा गर्न नपाइने, जातिय तथा धार्मिक छुवाछुत र भेदभाव गरे कानून बमोजिम कारबाही सहने छु भन्ने प्रतिवद्धतापत्रमा हस्तक्षर समेत गराएर ग्यास सिलिण्डर र चुलो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनका अनुसार ग्यास सिलिण्डर तथा चुल्हो गलतरुपमा प्रयोग भएको पाइएमा कारबाही गरिनेछ ।