चिसो बढेपछि बर्दियाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गरे


चिसो बढेपछि बर्दियाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गरे

गुलरिया (बर्दिया) २१ पुष : अत्याधिक चिसो बढेपछि बर्दियाका अधिकाशं स्थानीय तहले आईतबार सम्मका लागी विद्यालय बन्द गरेकाछन् । केहिदिनदेखि तराई मधेशका जिल्लाहरुमा दिउँसो समेत बाँक्लो हुस्सु र शीतलहर चल्न थालेपछि बर्दियाका विद्यालय बन्द गरिएको हो ।

बाक्लो हुस्सु र शीतलहरसंगै घाम नलाग्दा यतिबेला बर्दियाको जनजिवत अस्तब्यस्त भएकोछ । ह्वात्तै चिसो बढेपछि बारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाइले पुस २२ गते देखि २५ गते सम्मका लागी विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।

यस्तै गुलरिया नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सतिश यादवले पनि आगामी पुष २५ गते सम्मका लागी गुलरियाका सबै विद्यालय बन्द गरिएको जानकारी दिए ।

बर्दियाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिकाले पनि आगामी पुष २५ गते सम्मका लागी विद्यालय बन्द गरिएको बताएकोछ । चिसोलाई मध्यनजर गरि बन्द गरिएका विद्यालयलाई अन्य विदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दियाका अधिकांश स्थानीय तहले चिसोलाई मध्यनजर गर्दै विद्यालय बन्द गरेपनि ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाँउपालिका तथा बढैयाताल गाँउपालिकाले विद्यालय बन्द गरेको छैन ।

ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिताकुमारी भण्डारीले चिसो बढेपनि विद्यालय बन्द गर्ने कुनै योजना नभएको बताइन ।

गेरुवा गाँउपालिकाका सूचना अधिकारी प्रकाश शर्माले चिसो बढेपनि विद्यालय बन्द नगरिएको जानकारी दिए । बाँसगढि नगरपालिकामा पनि विद्यालय बन्द गरिएको छैन ।

यस्तो बेला बालबालिकाको शिक्षा भन्दा स्वास्थ्यलाई प्राथमिकतामा राखेर केही दिनका लागि विद्यालय बन्द गरिनुपर्ने बाँसगढीका चन्द्र देवकोटा बताउँछन् । चिसोकै कारण केहीदिनदेखि आफ्ना बच्चा विद्यालय नपठाएको समेत उनले बताए ।

बाक्लो हुस्सु, शितलहरसंगै कठ्यङ्ग्रीने चिसो बढेर अस्पतालहरुमा विरामीको चाप बढ्दै जाँदा समेत निर्वाधरुपमा विद्यालय सञ्चालन भएको भन्दै स्थानीयले जनप्रतिनिधिप्रति आक्रोस पोखिरहेका छन् ।