नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी शुरु

उत्कृष्ट महिला उद्यमी सम्मानित


नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी शुरु

नेपालगन्ज २२ पुष : महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रबद्र्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा शुरु भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजना र महिला उद्यमी संघ नेपालगन्ज वडा नम्बर– २ कमिटीको सह–आयोजनामा शुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुका स्टलहरु राखिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र साना तथा घरेलु उद्योग कार्यालय नेपालगन्जको सहयोग र नेपालगन्ज उप–महानगरपालिकाको समन्वयमा प्रदर्शनी आयोजना गरिएको हो ।

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले प्रदर्शनीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा महिला उद्यमी संघका केन्द्रीय अध्यक्ष निरु रायमाझी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लायन मधुसुदन रिजाल, नेपालगन्जका विभिन्न वडाध्यक्षहरु एवं उद्योगी व्यवसायीहरु सहभागी थिए ।

महिला उद्यामी संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रम वक्ताहरुले प्रदर्शनीले बजारीकरणमा जान नसकेका उत्पादनहरुले परिचित हुने मौका पाउने अपेक्षा व्यक्त गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्री हमालले स्वदेशी उत्पादनको प्रबद्र्धनमा अब राज्यले दिनुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने कुरामा जोड दिए ।

‘हामीले आफ्नो देशका उत्पादनलाई माया ग¥यौँ भने त्यसले उद्यामीलाई ठूलो हौसला मिल्छ । राज्यका तर्फबाट पनि गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्न म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’

उद्योगी व्यवसायीका लागि बजारीकरण महत्वपूर्ण विषय भएकोले महलिा उद्यमी संघले त्यसको बारेमा ज्ञान सीप आदानप्रदान गर्ने उदेश्यले प्रदर्शनी आयोजना गरेको अध्यक्ष रस्तोगीले बताइन् ।

प्रदर्शनीमा सहभागीहरुलाई स्वागत गर्दै महिला उद्यमी संघ बाँकेका प्रथम उपाध्यक्ष सावित्रा बस्नेतले प्रदर्शनी आयोजनाका लागि सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गरिन् ।

प्रदेश सभा सदस्य नमुनाले भनिन्, ‘हामी आत्मनिर्भर बन्ने हो भने ठूला कुरा गरेर हुँदैन । महिला उद्यमीलाई नै सशक्त बनाउन सक्ने हो भने धेरै परिवर्तन आउन सक्छ ।’ नमुनाले महिला उद्यमीका समस्या सम्बोधनका लागि राज्यले भूमिका खेल्न नसकेको बताइन् ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका उद्यमीहरुले घरेलु उद्योगबाट उत्पादित दालमोठ, नमकिन, कपडा, पोते, गुडिया, ह्याण्डब्याग, हस्तकलाका सामान, श्रृंगारका सामान, गुन्द्री, बुटिकका सामान, डेकोरेशनका सामानका स्टलहरु राखेका छन् । यसैगरी अगानिक दाल, मह, पिठो, कुखराजन्य उत्पादनका स्टलहरु पनि प्रदर्शनीमा राखिएका छन् ।

उत्कृष्ट महिला उद्यमी सम्मानित

कार्यक्रममा उत्कृष्ट महिला उद्यमी नेपालगन्जकी सत्यवती कुर्मी र सुशीला गौतम, कोहलपुरकी सरिता थापा एवं प्युठानकी दुर्गा केसीलाई सम्मान गरियो ।

यसका साथै नेपालगन्ज उपमहानगरपलिकाकी उपमेयर उमा थापामगर र वडा नम्बर– २ का अध्यक्ष सुनिलसिंह हमाल वडासदस्यहरु ध्रुवबहादुर दाहाल, रामकुमार वैश्य, आशा विष्ट, नेपालगन्ज उप–महानगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक अधिकृत मञ्जु पाण्डे, वडा नम्बर–२ का वडासचिव खेमराज सुवेदीलगायतलाई पनि सम्मान गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, महिला उद्यमी संघका निरु रायमाझी खत्री र संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।