रुपैडिहाबाट कोक र डिउको ब्यापक तस्करी, नेपाली विक्रेता मारमा


रुपैडिहाबाट कोक र डिउको ब्यापक तस्करी, नेपाली विक्रेता मारमा

रुपैडिहाबाट तस्करी भइरहेको कोक र डिउ । तस्विर: सेतोखरी

नेपालगन्ज २७ फागुन : गर्मी बढेसंगै भारतीय बजार रुपैडिहाबाट दिनहुँ घरयासी प्रयोजनका लागि भन्दै ठूलो मात्रामा कोक, डिउ, फेन्टा र स्प्राईट जस्ता पेय पदार्थ तस्करी हुने गरेकोछ । भारतमा उत्पादित यी पेय पदार्थ नेपाली बजारभन्दा केही सस्तो हुने भएकाले दिनहुँ पैदल, मोटरसाईकल तथा रिक्सामा घरेलु प्रयोजनका लागि भन्दै नेपाल तस्करी हुदैँ आएको हो ।

नेपालगन्जमा भण्डारण गर्ने र महंगोमा बेच्ने हुदाँ नेपालमा उत्पादन हुने कोक, डिउ, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ विक्री वितरणमा समेत भारी गिरावट आएको छ । भन्सार छलि गरि भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याइएका यस्ता पेय पदार्थले नेपाली बजारमा कब्जा जमाइरहँदा यहाँको ब्यापार व्यवसाय धरासय बन्दै गएको छ ।

भारतीय बजारबाट भन्सार छलि गरि ल्याइएका कोक, फेन्टा, स्प्राईट, डिउ जस्ता पेय पदार्थको एउटै बोतलमा ५०–६० रुपैयाँसम्म नाफा खाने गरेका छन् । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले दिनहुँ सयौं मान्छेले क्यारिङ्ग गरि नेपालगन्जका पसल–पसलमा बेच्ने गरेकाछन् ।

भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका छन् । घरेलु प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ नेपालगन्जमा भण्डारण गरि नेपालगन्ज र छिमेकी जिल्लाहरुमा समेत महंगोमा बेच्ने गरिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जमा कोकाकोलाका आधिकारिक विक्रेता मधु दहालले भारतबाट नेपालगन्जमा भइरहेको कोक र डिउको तस्करीले नेपाली विक्रेता ठूलो मारमा परेको बताए ।

‘कमिलाको लस्कर जस्तै रुपैडिहाबाट लाईन लागेर हातमा कोक र डिउको बोतल समातेर नेपालगन्ज तस्करी गर्छन् । नेपालगन्जका पसल पसलमा छोड्छन् । अनि नेपाली उत्पादन कोक र डिउ कहाँ विक्री गर्ने ’ दहालले भने– ‘प्रहरी प्रशासन, भन्सार, उद्योग ब्यापार संघ सबैसंग म विनम्र अनुरोध गर्दछु । कोक र डिउको तस्करी रोकिदिनु पर्यो ।’

उनले घरमा खानैका लागि कसैले ल्याउँछ भने लेबल च्यातेर ल्याउन दिए नेपालगन्जका कोही पनि पसलले खरिद नगर्ने हुँदा तस्करी स्वतः रोकिने सुझाव दिए ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घरेलु प्रयोजनका लागि भन्दै कोक, डिउ र स्प्राइट जस्ता पेय पदार्थ तस्करी हुने गरेको स्वीकारे ।

सेतोखरीसंग कुरा गर्दै भने–‘यो ठिक होइन, यस्ता कार्यमा म सहमति दिदैन् । हिजो (बिहीबार) बेलुका मात्रै जमुनाहबाट बरामद गरिएका ५० बोतल नष्ट गरेका छौं ।’

‘भारतबाट आउनेले एक÷दुई बोतल लिएरै आएका हुन्छन्, तर, कतिलाई समात्ने, कति झगडा गर्ने । विहे छ भन्छन्, पार्टी छ भन्छन्, चाडपर्वका लागि भन्छन्, कतिपय अवस्थामा ब्यवहारिक बन्नुपर्ने हुँदा नेपाली विक्रेतालाई मार परेकोछ ।’ बाँके प्रहरी प्रमुख अधिकारीले भने–‘घरेलु प्रयोजनका लागि हुन वा तस्करी गर्ने हुन उनीहरुमाथि निगरानी बढाउन निर्देशन दिइसकेको छु । रुपैडिहा जाने र उताबाट फर्किँदा पेय पदार्थ ल्याए जफत गर्न भन्सारसंग समन्वय समेत गरेको छौं ।’

यसअघि भारतबाट भन्सार छलि ल्याइएका पेय पदार्थमा कडा कदम चाल्दै नेपालगन्ज भन्सार कार्यालयले उक्त सामाग्री ल्याउन रोक समेत लगाएको थियो । भने बजार अनुगमनमा भारतबाट भित्रिएका पेय पदार्थ बरामद गरी नष्ट समेत गरिएको थियो ।

जिल्लाका पसलहरुमा अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानून बमोजिम कारबाही हुने ब्यवस्था छ । अझ युनिलिभरका कुनैपनि उत्पादन एक देशदेखि अर्को देश लान पाइदैन । तर, खाद्य तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज भन्सार कार्यालय, प्रहरी र प्रशासनको मौनताका कारण नेपालगन्जमा भारतीय पेय पदार्थले कब्जा जमाइरहेकोछ ।