सशक्त र भरपर्दो नेतृत्व गुमायौं : संघ
नेपालगन्ज ५ चैत्र : नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा शनिबार बिहान उनको निधन भएको हो । ५९ वर्षीय आचार्य नेपाल उद्योग वाणिज्य महासंघको पुर्वकेन्द्रीय सदस्य पनि हुन् ।
विगत केही वर्षदेखी क्यान्सर रोगबाट उनी पीडित थिए । भारतको दिल्लीमा उपचार गराएर घर फर्केपनि उनी क्यान्सर रोगबाट पूर्ण रुपमा मुक्त हुन सकेका थिएनन् । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्य नेपालगन्जका चर्चित समाजसेवी हुन् ।
नेपालगन्जको समग्र विकास निर्माण, सार्वजनिक सरोकारका विषय, उद्योगी ब्यवसायीका मुद्दामा अत्यन्त चिन्तित र गम्भीर रहने उनको स्वभाव थियो । आचार्यको निधनपछि नेपालगन्ज क्षेत्र शोकमग्न बनेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, माओबादी नेता कार्यकर्ता, विभिन्न दलका अध्यक्ष तथा प्रतिनिधी, उद्योगी, ब्यवसायी लगायत स्वर्गीय आचार्यको निवासमै पुगेर श्रद्धाञ्जली दिएका छन् । उनको शनिबार नै राप्ती नदीमा धार्मिक विधिपुर्वक दाहसंस्कार गरिएको पारिवारीक स्रोतले जनाएको छ ।
यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघले दामोदरको निधनप्रति शोक ब्यक्त गरेकोछ । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् संरक्षक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं नेपालगन्जको सामाजिक, आर्थिक र राजनैतिक आन्दोलनका अगुवा दामोदर आचार्यको असमायिक निधनप्रति संघले गहिरो समवेदना प्रकट गरेको हो ।
‘उहाँले लामो समयदेखि क्यान्सरको उपचार गराई रहनुभएको थियो । केही दिन पहिले मात्र दिल्लीबाट उपचार गराएर घर फर्किनु भएका उहाँलाई रोगले झन् च्यापेपछि शुक्रवार भेरी अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा उहाँको शनिवार बिहान ९ बजे निधन भएको छ ।’ संघ अध्यक्ष अव्दूल वाहिद मन्सुरी र महासचिव चिरञ्जिवी ओलीद्वारा जारी संयुक्त शोक वक्तब्यमा भनिएकोछ ।
‘उहाँको निधनले नेपालगन्ज उद्योग वाणिज्य संघ स्तब्ध र दुःखी भएको छ । संघ सम्पूर्ण उद्योगी, व्यवसायीको तर्फबाट स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस दुःखद घडीमा आचार्यको धर्मपत्नी एवं नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य श्रीमति पार्वती आचार्य सहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।’ उक्त शोक वक्तब्यमा भनिएकोछ ।
शोक बक्तव्यमा अगाडी भनिएकोछ– ‘२०१९ साल कात्र्तिक १७ गते प्युठानमा जन्मिनु भएका आचार्य सरकारी सेवा हुँदै २०४९ सालमा नेपालगन्जको व्यवसायीक क्षेत्र लाग्नु भएको थियो । सोही समयदेखि उहाँले आफुलाई नेपालगन्जको आर्थिक, सामाजिक एवं राजनीतिक आन्दोलनको सशक्त अगुवाकारुपमा स्थापित गर्न सफल हुनुभयो । २०६३ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भई यहाँको व्यवसायिक हकहित र संघलाई नयाँ उचाईमा पुर्याउन उहाँले खेलेको भूमिका महत्वपूर्ण छ । उहाँको निधनबाट संघले एउटा सशक्त र भरपर्दो नेतृत्व गुमाएको छ भने यसको अभाव सदैव महसुस भइरहने छ । उहाँको भौतिक शरीर हामी माझ नभए पनि आफूनो जीवनकालमा उद्योगी, व्यवसायीको हितका लागि खेलेको महत्वपूर्ण योगदानको सदैव सम्झना भइरहने छ ।’
स्वर्गीय आचार्यको श्रीमतीसंगै एक छोरा र तीन छोरी रहेका छन् । आचार्यको निधनप्रति संघले गहिरो समवेदना प्रकट गर्दै शनिवार नेपालगन्जको सम्पूर्ण उद्योग, व्यवसाय (व्यवसायीक प्रतिष्ठानहरु) बन्द गरी शोक मनाएकोछ ।