नेपालगन्ज १० चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहीबारदेखि नेपालगन्जमा शुरु भएको छ ।
चुस्त व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरकै झझल्को दिनेगरी नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् ।
पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली सेनाका सहसेनानी जनमत कार्की, पुर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजितकुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे ।
विगतका वर्षभन्दा सुधारिएको प्रदर्शन गरेको लुम्बिनी आशा लाग्दो टिमका रुपमा देखा परेको छ । लुम्बिनीका प्रशिक्षक अर्जुन घिमिरेले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । राष्ट्रिय टिमका खेलाडी समावेश पुलिसका अगाडी आफ्ना खेलाडी खुलेर खेलेको उनको भनाइ थियो ।
उता नेपाल पुलिसकी सहायक प्रशिक्षक कोपिला उप्रेतीले नेपाल पुलिस उपाधि जित्ने हिसाबले नेपालगन्ज आएको बताइन् । पहिलो खेलमा खेलाडीले राम्रो प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो । कोपिला पहिलो पटक प्रशिक्षकका रुपमा नेपालगन्ज आएकी हुन् । यसअघि नेपाल पुलिस प्रधानमन्त्री कप च्याम्पियन बन्दा कोपिला पुलिसकी महत्वपुण खेलाडी थिइन् ।
त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले न्यू डायमण्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९, २५–१७ र २५–२२ ले हराउन सफल भयो ।
त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलकुद प्रशासक अशोकजंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, ‘मिठो छ ट्रिट’का संस्थापक सौभाग्यजंग शाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे ।
फाइनल खेल झैं निकै प्रतिस्पर्धा भएको उक्त खेल नतिजामा आर्मीका प्रशिक्षक लोकेस बुढाले खुशी व्यक्त गरे । त्यस्तै डायमण्डका प्रशिक्षक कुमार राईले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि नतिजा गुमाउन पुगेको प्रतिक्रिया दिए ।
यसअघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले पिएम कप आठौं संस्करणको उद्घाटन गरेका थिए । भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेका थिए । उद्घाटन मन्तव्य दिंदै मन्त्री अथकले पिएम कपलाई नेपाल सरकारको रातो किताबमा उच्च प्राथमिकताका साथ समावेश गर्ने बताए ।
मोफसलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता वर्षेनी गर्न सक्नु निकै चुनौती भएकाले आगामी वर्षदेखि नेपाल सरकारले यसको अभिभावकत्व लिने उनले बताए ।
‘यसको स्वामित्व लिन सरकार तयार छ’ उनले भने–‘सीमावर्ती सहर भारतीय टिमलाई समेत आमन्त्रण गरेर खेलाडीको आवास तथा भोजन पाँच तारे होटलमा गरी खेलाडीको हौसला बढाइदिनु भएकोमा म आयोजकलाई धन्यवाद दिन्छु ।’ खेलाडीको आवास तथा भोजनमा कोहलपुर स्थित पाँच तारे होटल सेन्ट्रल प्लाजाले हस्पिटालिटी पार्टनरका रुपमा सघाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय पोशाक ब्राण्ड युक्यान किट पार्टनर तथा महिला सशक्तीकरणका विषयमा ऐक्यबद्धता जनाउँदै युएनडिपीले थिम पार्टनर भएर सहकार्य गरेको छ । नेपाली सेनाको भैरवप्रसाद गणले व्यवस्थापनमा सघाएको छ ।
लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल नेपाल पुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब(भारत) तथा दोस्रो खेल न्यू डायमण्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर(छत्तीसगढ भारत)को हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।
थप समाचार
विभागीय क्लबलाई सधैं टक्कर दिने न्यू डायमण्ड उपाधी जित्ने दाउमा
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?