पंकजद्वारा विक्की अपहरण घटना
अपहरण घटनाका आरोपित पंकज श्रीवास्तव(बायाँ) र अपहरणमा परेका ‘विक्की’ भनिने अतिक खान(दायाँ) । तस्विर सेतोखरी
नेपालगन्ज ११ जेठ : पंकज श्रीवास्तवको ग्रुपबाट अपहरणमा परेका ‘विक्की’ भनिने अतिक खानले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएकाछन् । घटना घटेको पाँच दिन ढिलो गरि विक्कीले ५ जनाविरुद्ध अपहरण तथा शरीरबन्धक र डाँका चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका हुन् ।
अपहरण घटनाका आरोपित भन्दै विक्कीले पंकज श्रीवास्तव, अनुराग शाह, सुरेश कुर्मी, अस्विनी सिंह र एक जना नामथर नखुलेका ब्यक्ति विरुद्ध अपहरण तथा शरीरबन्धक र डाँका चोरी मुद्दामा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले पुष्टि गरे ।
विक्की भनिने भारतीय नागरिक अतिक खानले दिएको जाहेरी दर्ता भएकोछ । विक्कीले दिएको जाहेरी दर्ता नम्बर ५४८ रहेकोछ । घटनाको अनुसन्धान प्रहरीले गरिरहेकोछ ।
भारतीय नागरिक विक्कीले दिएको जाहेरीमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ एसविआई बैंकको माथिल्लो तलामा किङ्ग्स क्रस क्लब सञ्चालन गरि बस्ने अन्दाजी ३४ वर्षका पंकज श्रीवास्तव, सोही वडा बस्ने अनुराग शाह, नेपालगन्ज ७ बस्ने अन्दाजी ३० वर्षिय सुरेश कुर्मी, भारत लखनऊ बस्ने अन्दाजी ३३ वर्षिय अस्विनी सिंह र एक जना नाम थर थाहा नभएका ब्यक्ति रहेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले पंकज लगायत माथि विक्कीले दिएको जाहेरी दर्ता गरिसकेको र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित स्टार लाइट क्यासिनोमा यही जेठ ५ गते अन्दाजी राती २ः३० बजे घटना घटेको हो । पंकज समुहले विक्कीलाई कुटपिट गरि जबरजस्ती गाडीमा राखि अपहरण गरि लग्दा पनि बाँके प्रहरीले पंकजमाथि कुनै कारबाही नगरेपछि आफूले बाध्य भएर आफूलाई अपहरण गर्ने पंकज लगाएत विरुद्ध जिप्रकामा जाहेरी दिएको बताए ।
पंकजको समुहले कयासिनोभित्र प्रवेश गरि विक्कीलाई जबरजस्ती समाती क्यासिनो बाहिर ल्याएर कुटपिट गरि DL2CAX7878 नम्बरको टोयटा कम्पनीको फोर्चुनर कारमा राखि राप्तीपारि लगई पेस्तोल देखाई साथमा रहेको नगद पाँच लाख भारतीय रुपैयाँ, ४ तोलाको सुनको सिक्री र मोबाइल लुटि लगेको र सोही राती ४ बजे फुल्टेक्रमा छाडी प्रहरीमा उजुरबाजुर गरेमा ज्यानै देखि मारि लास बेपत्ता गरिदिने धम्कि दिइ पाँचै जना अभियुक्तहरु आफ्नो गन्तब्यमा लागेको विक्कीको जाहेरीमा उल्लेखछ ।
घटना विवरण सुनाउँदै विक्कीले भने –‘म क्यासिनो खेल्न नेपालगन्जको स्टारलाईट क्यासिनो गएको थिए । रातको करिब २ः३० बजेको थियो होला । केही केटाहरु एक्कसी क्यासिनो भित्र प्रवेश गरे । सुरेश कुर्मी भन्नेले मेरो हात समाते अनि मलाई बाहिर हिँड् केही कुरा गर्नु छ भन्यो । मलाई हात समातेर क्यासिनो बाहिर निकाले । मलाई के गरिरहेका छन् भन्ने मैले बुझ्नै सकिन । बाहिर मलाई पिट्नका लागि धेरै केटाहरु तयार भएर बसेका रहेछन् ।’
‘बाहिर निस्कने वित्तिकै मलाई धमाधम कुट्न थाले । म एक्लो मान्छेको के लाग्थ्यो र ? कसैले मुक्काले एक साइडबाट हिर्काउँछ, कसैले अर्को साइडबाट हिर्काउँछ, कसैले अगाडीबाट कसैले पछाडीबाट सबैले पालैपालो मलाई कुट्न थाले । मलाई लग्नलाई क्यासिनोको पार्किङ्गमा भारतीय नम्बरको फर्चुनर गाडी तयार पारेर राखिएको रहेछ । पिट्दै सबैले समातेर मलाई त्यही गाडीमा राखे । मलाई कहाँ लग्दैछन् भन्ने थाहा थिएन ।’ विक्कीले अगाडी थपे–‘पंकज श्रीवास्तले जोड जोडले भन्दै थियो ‘आज तेरो अन्तिम दिन हो, मारेर राप्ती नदीमा बगाउने हो ।’ अनि पंकजको निर्देशनमा गाडी पूर्वतिर सोझियो मलाई राप्ती नदी लग्न लागेको चाल पाए । गाडीमा अनुराग शाह, सुरेश कुर्मी, पंकज श्रीवास्तव, अस्विनी सिंह लगायत थिए ।’
‘मलाई गाली गर्दै गाडीभित्रै कसैले कताबाट हान्छ कसैले कताबाट हान्छ । सोहीक्रममा पिट्दै मैले लगाएको ४ तोलाको सुनको सिक्री र पाँच लाख भारु नगद पनि पंकजले लग्यो । गाडी फुल्टेक्राबाट धेरै नै अगाडी राप्ती नदीतिर बढीसकेको थियो ।’ विक्कीले भने–‘गाडीमा मलाई पिट्दै बोल्न थाले ‘राप्तीपार ले चलो, इस्को वहीं गोली मारदेंगे ।’
‘पिट्दै सुरेश कुर्मीले भन्यो ‘निकाल पेस्तोल यहीं मारदेतें हे, वहाँ क्यो मार्ना हे ।’ त्यतिकैमा पंकजले भन्यो ‘राप्ती पार ले चलके मारेंगे, नदीमे फेंक देंगे ।’ विक्कीले घटना विवरण सुनाउँदै अगाडी थपे–‘गाडीभित्र ‘तुमको मारदे’ भन्दै पेस्तोल राखेको ठाउँतिर सुरेश कुर्मीले पटक–पटक हात अगाडी बढाउँथे, अरुले रोक्थे सुरेशलाई । राप्ती नदी पुग्नै लागेको थिम, नदी पुग्नु भन्दा पहिले पंकजको मोबाईलमा कसैको फोन आयो, ‘पुलिसलाई थाहा भैसकेको छ सिसिटिभिमा कैद भैसकेको छ । कहाँ हो त्यसलाई छिटो छाडिदेऊ’ भनेर । त्यसपछि पंकजले गाडी घुमाई हाल्यो ।’
राप्ती नदी नजिक पुगिसकेको गाडी फोन आइसकेपछि जब नेपालगन्ज तिर फर्काउँछन् अनि मलाई लाग्यो अब मेरो ज्यान बच्यो अब मलाई मार्दैनन् भन्ने । त्यसपछि सिधै गाडी ल्याएर वडा प्रहरीको भित्र हाल्छन् । विक्कीले भने–‘पंकजहरुले वडा प्रहरी भित्रै मलाई गाडीबाट घसेट्दै पुलिसकै अगाडी पिट्दै पुलिसको जिम्मा लागाउँछन् । राती नै मेडिकल गराएर वडा प्रहरीमा थुनेर राखियो । विहान त्यहाँबाट पुलिसको गाडीमा राखेर मलाई जिल्ला प्रहरी कार्यालय लगियो ।’
‘म डराएको थिएँ, केहि सम्झिन सकिरहेको थिएन, मेरो ज्यान बच्यो, कतिखेर जाउँ र श्रीमती बच्चालाई भेटुँ भन्ने भएको थियो । म कुनै प्रतिवाद गर्ने अवस्थामा थिएन । प्रहरीले मलाई अपहरण गर्ने, मलाई कुटपिट गर्ने व्यक्तिलाई कारबाही गरेर न्याय दिलाउन छोडेर मिलापत्र कागजमा साइन गरायो ।’ विक्कीले भने ।
‘पंकज समुहले ८ वर्ष अघि मलाई लखनऊमा पनि गोली हानेको थियो । अनि हामी लखनऊबाट बहराईच बसाईसराई स¥यौं । अहिले केही वर्षदेखि नेपालगन्जमा बस्छु, यहीबाट नेपाली विहे गरेको छु’ विक्कीले भने ।
थप समाचार