नेपालगन्ज २४ जेठः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलका सुन्दर हरिजनको मृत्यु हुनुमा प्रहरी, वकिल, कारागार र अदालतको गम्भीर लापरबाही भएको औल्याइएकोछ । सुन्दरको रोल्पा कारागारमा मृत्यु घटनाका सम्बन्धमा घटनाको अनुगमन गर्न बाँकेबाट गएको अधिकारकर्मीको टोलीले सार्वजनिक प्रतिबेदनमा यस्तो औल्याइएको हो ।
अभियोजन दर्तादेखि कारागार चलानको आदेश दिने र नेपालगन्ज कारागारबाट रोल्पा कारागारमा स्थान्तरण गर्दासम्म थुप्रै गल्ती र लापरबाही पाइएको उक्त प्रतिबेदनमा उल्लेखछ । घटनाको अनुगमनका लागी इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगन्ज उच्च अदालत बार एशोसिएसन मानवअधिकार तथा जनसरोकार समितिका संयोजक झबिन्द्र प्रसाद पौडेल समेतको टोली गत जेठ १८ गते बुधबार बिहान रोल्पा गएको थियो ।
अनुगमन टोलीलले जेठ १८ देखि २३ गतेसम्मसम्म रोल्पा कारागार, कारागारका कैदी, कारागार अधिकारी, स्थानीय प्रशासन, प्रहरी लगायतसंग भेटघाट र छलफल गरि तथ्य जाँच गर्दा यस्तो पाइएको हो । इन्सेकका लुम्बिनी प्रदेश संयोजक महतले प्रस्तुत गरेको रिपोर्टमा जेल प्रशासनले एउटा कैदीबन्दीले पाएको सजाय अर्कोले भोग्ने गरी कैदीपूर्जी र व्यक्तिसमेत साटिएको घटनालाई कारागार प्रशासनको मिलोमतो र गम्भीर लापरवाही भनिएको छ ।
२८ पुस २०७७ मा थुना मुक्त हुनुपर्ने कैदी हरिजन ४८ हजार पाँच सय रुपैयाँ जरिवाना तिरेर थुना मुक्त गरिए । तर, उनी कागजातमा मात्र मुक्त भए । कारागारमै राखिए । उनको सट्टा विजय विक्रम शाहलाई थुनामुक्त गरियो । शाह हातहतियार तथा खरखजाना र अपराधिक लाभ मुद्दामा पुर्पक्षको रुपमा कारागारमा राखिएका थिए । थुनामुक्त भएलगत्तै शाह फरार भए । बाँकेमा रहेका दुबै जनालाई रोल्पा स्थानान्तरण गरी हरिजन मुक्त हुनुपर्नेमा शाहलाई मुक्त गराइएको थियो । थुना मुक्त भइसकेका हरिजनले कारागारको शौचालयमा आत्महत्या गरेपछि मात्र कैदी सट्टापट्टा गरेको रहस्य खुलेको हो ।
बाँके कारागारमा जेल जीवन बिताइरहेका हरिजनलाई रिहाइको समय नजिकिदै गर्दा आफन्त नभएको बिरानो ठाउँमा ‘आफन्त भएको र पाएक पर्ने स्थान भनेर स्थानान्तरण’ गरिनु, त्यसको पुष्टि गर्ने आधार नहुनु, स्थानान्तरण निवेदनमा हरिजनको सही र कैदीपूर्जीमा हस्ताक्षर शंकास्पद हुनु, कैदी स्थानान्तरण गर्दा कानूनी र प्रक्रियागत रुपमा आवश्कय कागजात पूर्ण नभएको, कैदीले भनेको आधारमा हचुवाको भरमा सारिएको, सार्दा सुरक्षा संवेदनशीलता र आवश्यक प्रमाणहरुको उपयुक्त विश्लेषण नगरिएको, कैदीले भने बमोजिम रोल्पामा आफन्त बसोबास गरेको र कोही पनि भेट्न रोल्पा कारागार गएको अभिलेखमा नभेटिनुलाई गम्भीर त्रुटिको रुपमा लिइएको छ ।
यस्तै उक्त प्रतिबेदनमा मृतक हरिजनले विजय विक्रम शाहको नामको बिरामी पूर्जीबाट गत १३ वैशाखमा रोल्पा नगरपालिकाको स्वास्थ्य शाखामा र १४ वैशाखमा स्वास्थ्य कार्यालय रोल्पामा स्वास्थ्य उपचार गरेको देखिन्छ ।
बाँके कारागारबाट कैदी बुझाउँदा रोल्पा कारागारलाई स्पष्ट पहिचान नखुलाइ हचुवाको भरमा बुझाएको र रोल्पा कारागारले कैदीको एकीन पहिचान नगरेर बुझ्ने काम गरेको, दुई फरक उमेर समूह र जातिगत समूहका व्यक्ति भए पनि बोलीचाली, भाषाका आधारमा पनि अदालतले नियन्त्रण र निगरानी नगरेको, कारागारभित्र एक कैदीबन्दीको नामबाट अर्कोले फोन गर्नु र त्यसमा कारागारको ध्यान नपुग्नुलाई पनि प्रतिवेदनमा गम्भीर लापरबाही भनिएको छ ।
त्यस्तै रोल्पा कारागारमा कैदीबन्दीलाई सहज रुपमा आत्महत्या गर्न सक्ने गरी कमजोर भौतिक संरचना रहनुले पनि घटना भएको उक्त प्रतिबेदनमा उल्लेख छ । राज्यको नियन्त्रणमा रहेको व्यक्ति सजिलै साटिनु, एक व्यक्तिले अर्को व्यक्तिले भोग्नुपर्ने कैद भोग्नु, पहिचान बदल्दा समेत कारागार प्रशासनको ध्यान नपुग्नु, विजय विक्रम शाह सुन्दर हरिजनको नामबाट छुट्ने बेलामा आफन्त कोही छैनन् भनेर स्थानीय पत्रकारको रोहवरमा छुट्नुलाई कारागार प्रशासनको गम्भीर लापरबाही र गैरजिम्मेवारीपनाको पराकाष्टाको रुपमा रिपोर्टमा उल्लेख छ ।
अध्ययन समितिका सदस्य अधिवक्ता वसन्त गौतम कैदी साट्ने कुरा कैदीले मात्र गर्न नसक्ने काम भएकाले जेल प्रशासनको मिलोमतो रहेको आशंका गर्दै उनीहरुमाथि छानबिन गर्न माग गरे । नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष सुनिल श्रेष्ठ त पोष्ट मार्टमको रिपोर्टकै आधारमा आत्महत्या भन्न नसकिने भन्दै यस विषयमा पनि छानबिन गर्न सरकारसँग माग गरे ।
‘विजय विक्रमलाई पक्राउ गरेर अनुसन्धान गरेपछिमात्र सत्यतथ्य बाहिरिनेछ, के र कुन प्रयोजन हो त्यो खुल्छ । सुन्दरको मृत्यु अस्वभाविक हो’ पूर्व बार उपाध्यक्ष श्रेष्ठले अगाडी थपे–‘आत्महत्या भएपनि कारागारको ब्यवस्थापनमाथि प्रश्न उठेकोछ । कारागार निर्देशनालयले हेर्नुपर्छ ।’
‘नाबालक (उमेरको) विषय उठिसकेपछि अभियोजन दर्ताकै क्रममा काउन्सिलिङ्ग गरे हुन्थ्यो । उमेर खुल्ने प्रष्ट कागजात राख्नुपथ्र्यो, त्यसो भएन । अदालतमा बयान लिनेक्रममा पनि त्यो विषयमा गम्भीर लापरबाही गरियो ।’ श्रेष्ठले अगाडी थपे–‘यो विषयमा बार गम्भीर छ । अदालत, कानून ब्यवसायी, प्रहरी प्रशासन, सरकारी वकिल लगायतको ठूलो लापरबाही र कमिकमजोरी भयो । फौजदारी न्याय प्रणालीमा देखिएको गम्भीर लापरबाही हो ।’
रोल्पा कारागारमा कैदीको आत्महत्या प्रकरणलाई गृहप्रशासन र प्रहरी बिनाको उच्च स्तरीय समितिबाट छानबिन गर्नुपर्ने, नाबालकको विषयमा अनुसन्धान गर्ने अनुसन्धान अधिकारी, अभियोजनकर्ता (सरकारी वकिल), प्रतिरक्षी कानून व्यवसायी, अदालतको फैसलाका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने अधिवक्ता लोकबहादुर शाहले माग गरेका छन् ।
उनी भन्छन्, ‘कसुर गरेको भएपनि बालबालिका सम्बन्धि ऐन २०७५ ले थुनछेक र कारागार पठाउन पाइदैन । यही गल्तीका कारण उनको मृत्यु भयो । कारागारभित्र आत्महत्या गर्न दुरुत्साहन सम्बन्धि अनुसन्धान गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।’
‘अभियोजन दर्ता गर्दा उमेर खुल्ने प्रष्ट कागजात भए नभएको एकिन गरिनुपथ्र्यो । त्यसो भएको भए सुन्दर कारागार जानुपर्दैन्थ्यो । बाध्यताका क्रममा न्यायाधिशका अगाडी १७ वर्षको हुँ भन्दा पनि न्यायाधिशले बालिग भएको भन्दै कारागार पठाए ।’ शाहले भने–‘वहस गर्ने वकिलको चरम लापरबाहीका कारण लिगल कागजात पेश भएन । यो सबै सेटिङ्ग विना सम्भव छैन । न्यायाधिश, अभियोजनकर्ता, वकिल र कारागार प्रमुख दोषी हुन् कारबाहीको दायरामा आउनुपर्छ ।’
चोरी मुद्दामा रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको २०७९ जेठ ४ गते साँझ करिब ६.३० बजे कारागारकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि उनको मृत्युको घटना संकास्पद बनेको बाँकेका अधिकारकर्मी बताउँछन् । चोरी मुद्दाको पुर्पक्षका लागी कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम छुट्नु पर्नेमा निजको नामबाट हातहतियार तथा खरखजाना मुद्धाका बिजय बिक्रम शाह छुटेको र कैद भुक्तानी गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई परिवारजनले आशंकाको रुपमा लिएपछि अनुगमन टोलीले पीडित परिवार लगायत घटना सम्बद्ध पक्षसंग भेटघाट गरि स्थलगत प्रतिवेदन सार्वजनिक गरेको हो ।
थप समाचार
सुन्दर मृत्यु घटना : आयोगदेखि गृहको टोली रोल्पामा अनुसन्धान गर्दै
सुन्दर मृत्यु घटना : छानबिन गर्न गृहले बनायो समिति, रोल्पा जाँदै अधिकारकर्मीको टोली