गडरिया दम्पती हत्या प्रकरण : हत्यामा संलग्न कन्ट्रयाक किलर भारतीय नभएर नेपाली, नेपालगन्जका २ जना हतियारसहित पक्राउ


गडरिया दम्पती हत्या प्रकरण : हत्यामा संलग्न कन्ट्रयाक किलर भारतीय नभएर नेपाली, नेपालगन्जका २ जना हतियारसहित पक्राउ

नेपालगन्ज ११ साउन : कोहलपुर नगरपालिका वडा– १४, पार्वतीपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई भारतीय सुटर नभई नेपालगन्जकै दुई युवाले हत्या गरेको खुलेको छ ।

दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगन्ज उपमहानगरपालिका– १९ का राजन सोनकर र नेपालगन्ज उपमहानगरपालिका– १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या गरेको खुलेको हो ।

हत्या आरोपी राजन र सकिल गएराति हतियारसहित पक्राउ परेका छन् । कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित राजन र सकिल पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

विजय र रेखाले ५०–५० हजार रुपैयाँ दिएर राजन र सकिलमार्फत् भाइ कृष्ण र बुहारी अञ्जलीको हत्या गराएको स्वीकारेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

विजय र रेखाले सुरुमा भारतीय सुटरलाई एक लाख रुपैयाँ दिएर सुपारी दिए पनि उनीहरूले धोका दिएपछि नेपालगन्जकै राजन र सकिलमार्फत हत्या गराएको बताएका छन् ।

घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई राजन र सकिलले एक गोली पड्काएर तर्साई उनीहरूको घाँटी थिचेर हत्या गरेका थिए ।

राजन र सकिलले हत्या गरेर निस्केपछि विजय र रेखाले भाइ कृष्णको नाडी काट्नुका साथै बुहारी अञ्जलीको घाँटीमा डोरी राखिदिएका थिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत गडरिया दम्पती हत्याका योजनाकार दाई विजय र भाउजू रेखालाई सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार सोमबार ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको थियो । भाइ र बुहारीको हत्या गर्न विजयले केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर कन्ट्रयाक्ट किलरलाई दिएका थिए ।

दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय भने तल नै रहेको प्रहरीको दावी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको थियो ।

मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार र उनकी श्रीमती अञ्जली आफ्नै घरको कोठा र घरको गलीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुको करिव १ वर्ष पहिला बिवाह भएको थियो ।

लगत्तै अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा दाइले योजना बनाएर सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको हो ।

प्रहरीका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसी विवादमा कुटपिट गराएको दाइ विजयकुमारको बयान छ । त्यही विषयलाई लिएर उनले १८ दिन अघि नै बुहारी अञ्जलीलाई मार्न सुपारी दिएको प्रहरीको भनाइ छ । हत्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान घरमै गडरिया दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा मृतक कृष्णका दाई विजयमाथि शंका गरेको थियो । उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

घटनाका क्रममा ज्यान गुमाएका र आक्रमणमा संलग्नबीच घम्साघम्सी भएको देखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी मल्लले बताए । उनले भने, ‘योजनाकारलाई पक्राउ गर्न सफल भएको २४ घण्टा वित्न नपाउँदै हत्यारालाई पनि पक्राउ गर्न सफल भयौं ।

प्रहरीले अझै केही कुरा बाँझिएकाले अनुसन्धान भइरहेको बताएको छ । दाइ र भाइको मनमुटाव र सम्पत्ति पनि हत्यामा जोडिएको छ ।

सुतिरहेको अवस्थामा मृत फेलापरेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको थियो । त्यस्तै घटनास्थल रगताम्य थियो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

थप समाचार

गडरिया दम्पती मृत्यु घटना : भारतबाट कन्ट्रयाक किलर बोलाएर भाइ र बुहारीको हत्या

गडरिया दम्पती मृत्यु घटना : घटना शंकास्पद, सुराक खोज्दै प्रहरी