File Photo
नेपालगन्ज ६ कार्तिक : नेपालगन्जको न्यूरोडबाट प्रहरीले आईतबार साँझ जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सेतुविक चोक नजिक रहेको पहिलेको ह्यायत होटल अहिलेको द्रब्य कुटिरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
द्रब्य कुटिरमा जुवा खेलिरहेका उनीहरुबाट प्रहरीले करिब डेढ लाख नगद समेत बरामद गरेकोछ । प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा सुर्खेतका एक जनासहित नेपालगन्जका ९ जना रहेकाछन् ।
प्रहरीले पक्राउ गरेको जुवाडेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –५ का ल्याकत हुसेन शेष, वडा नम्बर– ४ का महेश गुप्ता, वडा नम्बर–१० का सुदीप श्रीवास्तव, वडा नम्बर–७ का धनलाल सुनार, वडा नम्बर–५का राजनराज श्रेष्ठ, वडा नम्बर–१० का डिबी शाही, वडा नम्बर–६ का नारायण भण्डारी, वडा नम्बर–१२ का कमल रोका र सुर्खेत विरेन्द्रनगर–१२ का विक्रम महतरा रहेकाछन् ।
यसैबीच, जुवाखालबाट पक्राउ परेका जुवाडे छुटाउन बाँके प्रहरीलाई दवाव दिइएकोछ । जुवाडे छुटाउन उम्मेदवारहरुले बाँके प्रहरीलाई फोनमाथि फोन गरेर दवाव दिइरहेको बाँके प्रहरी स्रोतले जनाएकोछ ।
प्रहरी स्रोतले भन्यो–‘जुवाखालबाट पक्राउ परेकाहरु आफ्नो मान्छे हो भन्दै उम्मेदवारहरुले फोनमाथि फोन गरेर छोडिदिन दवाव दिइरहेकाछन् ।’
चाडबाडका बेलामा मात्रै होइन बाँकेमा वर्षभरी नै जुवा हुने गरेको छ । नेपालगन्जमा भइरहेका जुवा खालबाट जुवा हारेर कयौं परिवार तहसनहस भइसकेकोछ । नेपालगन्जमा सामान्य घरदेखि स्टार होटलमा करोडौंको जुवा भइरहेकोछ । जुवा खेल्ने खेलाडीहरु केही नयाँ त छन् नै धेरैजसो २–३ पटक जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा बसिसकेका पट्के जुवाडेहरु छन् ।
दाङ, बाँके, बर्दिया र टिकापुरका नामुद जुवाडेहरु यतिखेर नेपालगन्जमा जुवा खेलिरहेकाछन् । बाँके प्रहरीले यसअघि जुवालाई निस्तेज पार्न जुवाखालमा छापा हान्ने देखि पटके जुवाडेमाथि निगरानी बढाउँदै आएको थियो । तर, चाडबाडसंगै पुनः बाँकेमा दिनहुँ करोडौं रुपैयाँ हारजीत हुने गरि जुवा खेलिरहेका छन् ।
नेपालगन्जमा जुवा खेल्नकै लागि छिमेकी जिल्ला दाङ, टिकापुरबाट नामुद जुवाडेहरु नेपालगन्ज आएकाछन् । नेपालगन्ज आएका यी जुवाडेहरु होटल बुक गरि र केही ब्यक्तिको घरमा डेरा जमाएर दिनहुँ करोडौं रकम हारजित हुने गरि जुवा खेल्ने गरेका हुन् ।
चाडबाडकै मुखमा नेपालगन्जमा जुवा नाइकेहरु छोटो समयमा ठूलो रकम कमाउनकै लागि जुवा अखडा चलाइरहेका छन् । चाडबाड नजिकिएसंगै नेपालगन्ज र आसपासका क्षेत्रमा स्थानीय जुवा नाइकेहरुले दिनहुँ करोडौं रकम हारजित हुने गरि जुवा खेलाइरहेका हुन् ।
त्यसो त बाँके जिल्ला जुवाका लागि चर्चित छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारी, भूपू कर्मचारी र प्रतिष्ठित उद्योगी ब्यापारीहरुकै राम्रो साँठगाँठमा जुवा हुने गरेको यसअघि जुवा काण्डबाट पुष्टि भइसकेकोछ ।
जबजब जाडबाड नजिकिन्छ तबतब बाँकेका विभिन्न नामुद जुवा अड्डाहरुमा जुवा नाइकेको रजगज नै चल्छ ।
थप समाचार
जुवाडे छुटाउन उम्मेदवारहरुद्वारा बाँके प्रहरीलाई फोनमाथि फोन