आम निर्वाचन २०७९

बाँके–२ : एमालेको समर्थनमा जित निकाल्ने प्रयासमा धवल, इस्तियाकलाई आफ्नैले दिएनन् साथ


बाँके–२ : एमालेको समर्थनमा जित निकाल्ने प्रयासमा धवल, इस्तियाकलाई आफ्नैले दिएनन् साथ

नेपालगन्ज २९ कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ मा पनि चुनावी माहोल तातेको छ । नेपालगन्ज उपमहानगर समेत पर्ने यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । गत स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो ठुलो दल हुन् ।

तर, यस पटकको निर्वाचनमा काँग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाको धेरै चर्चा छैन । मतदाताको मुड र नेपालगन्जको चुनावी माहोल हेर्दा उनी तेस्रो स्थानमा धकेलिन सक्छन् । चुनावमा राप्रपाका डाक्टर धवल शम्सेर राणा र जनता समाजवादी पार्टी जसपाका इस्तियाक राईबीच कडा टक्कर देखिएको छ ।

क्षेत्र नम्बर–२ का ९७ हजार ८ सय ९ मतदातामध्ये करिब २३ हजार मुस्लिम छन् । मुस्लिम मतदातामा इस्तियाकको राम्रै पकड छ । बाँकी ७४ हजार मतदाता हिन्दू छन् । हिन्दू मतदातामा पनि मधेसी र पहाडी समुदायको मनोविज्ञान अलि फरक छ ।

यस पटकको चुनावमा अधिकांश मधेसी हिन्दू समुदायका मतदाता धवलको पक्षमा देखिएका छन् । तर, पहाडी हिन्दू समुदायका मतदाता बाँडिने सम्भावना धेरै छ । नेपालगन्जका मतदातालाई यसपटक विकास, समृद्धि र सुशासनका एजेण्डाले भन्दा धर्म र जातका एजेण्डाले बढी छोएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

तीन दशकदेखि काँग्रेसको राजनीति गर्दै आएका भए पनि सुदीपको प्रभाव र पहुँच नेपालगन्जका कट्टर काँग्रेसी नेता र कार्यकर्ताभन्दा बाहिर खासै देखिँदैन । सत्तारुढ गठबन्धनबाट जसपाका इस्तियाक राईले टिकट पाउने आँकलन गरेर क्षेत्र नम्बर–२ का काँग्रेसका आकांक्षीले चुनावका लागि तयारी सम्म गरेका थिएनन् । अन्तिम अवस्थामा जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएपछि सुदीपले टिकट पाए । तर काँग्रेस कार्यकर्ताकै बीचमा पनि सुदीपले चुनाव जित्लान् भन्नेमा धेरै आशंका छ ।

स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले पाएको मतका आधारमा हेर्दा दोस्रो शक्तिको रूपमा रहेको एमालेले प्रदेश सभाका दुई सिट लिएर प्रतिनिधि सभामा चौथो शक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टीका डाक्टर धवल शम्शेर राणालाई क्षेत्र छाडिदिएको छ । एमालेले राप्रपालाई छाडिदिएपछि तेस्रो र चौथो पार्टीका रूपमा रहेका जसपाका नेता इस्तियाक राई र राप्रपाका डाक्टर धबल शम्शेर राणा चुनावी मैदानमा छन् । डाक्टर राणा नेपालगन्ज उपमहानगरपालिकाको दुईपटक मेयर बनिसकेका नेता हुन् ।

उनी स्वच्छ छवि भएका नेता मानिन्छन् । धवलले मेयर हुँदा दुवै कार्यकालमा आफूले पाउने पारिश्रमिक गरिब तथा विपन्न नागरिकलाई बाँडिदिएका थिए । घर खर्च चलाउने पैसा जुटाउनका लागि राजनीति गर्नु हुँदैन भन्दै आएका धवल १० वर्षसम्म मेयर हुँदा आर्थिक विवादमा परेनन् ।

एमालेको समर्थन र काँग्रेसको कमजोर उम्मेदवारको फाइदा लिएर चुनाव जित्ने रणनीतिका साथ धवल चुनावी मैदानमा छन् । राणा २०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट नेपालगन्जको मेयर निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिएपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे । २०७४ को स्थानिय तहको निर्वाचनमा राप्रपाबाटै नेपालगञ्जको मेयर जिते । राप्रपामा भए पनि एमालेसँगको पुरानो लिगेसी र व्यक्तिगत सम्बन्धले बाँकेको क्षेत्र नम्बर–२ मा एमाले–राप्रपा तालमेल राम्रैसँग अगाडि बढेको छ ।

स्थानीय तहको चुनावको मत परिमाण हेर्दा जसपाको बाँके क्षेत्र नम्बर–२ मा १३ हजार ८ सय ९ मात्रै मत छ । दुईपटक प्रतिनिधि सभामा चुनाव जितेर तीनपटक मन्त्री भएका राजनीतिका चतुर खेलाडी जसपाका युवा नेता एवं पूर्वमन्त्री इस्तियाक राई कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छन् ।

इस्तियाकले बाँकेमा जसपालाई घरको कम्पनी जस्तै बनाएर चलाएका छन् । उनीसँग सहमत नहुनेहरू जसपामा टिक्न सक्ने अवस्था छैन । मधेसी जनअधिकार फोरम गठन हुँदा ताकाका अधिकांश कार्यकर्ता अहिले जसपामा छैनन् । पुराना कार्यकर्तालाई पन्छाउँदै नयाँ कार्यकर्ता प्रवेश गराएर पार्टीमा एकलौटी वर्चश्व कायम गर्दै गएका छन् । उनको हैकम कतिसम्म छ भने केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले चाहेर पनि बाँकेमा केही गर्न सक्दैनन् ।

मनोनयनको दिन इस्तिायकले माओवादीबाट प्रदेशसभा सदस्यमा सिफारिस भएका दुई जना प्रभावशाली नेतालाई पार्टीमा प्रवेश गराएर प्रदेश सभाको टिकट दिए । प्रवेश गरेलगत्तै प्रदेश सभा सदस्यको टिकट दिएर उनले पार्टीमा आफ्नै पहुँच र प्रभाव देखाइदिएका थिए । नवप्रवेशीलाई टिकट दिएपछि जसपाका पुराना कार्यकर्ता इस्तियाकसँग असन्तुष्ट छन् । असन्तुष्टिको तह कतिसम्म छ भने उनकै भाइ शम्सुल राईले इस्तियाकविरुद्ध प्रतिनिधिसभामा बागी उम्मेदवारी दिएका छन् ।

मधेस आन्दोलनबाट उदाएका इस्तियाकले राजनीति सुरु गरेको १५ वर्षमा आर्थिक अवस्थामा पनि छलाङ मारेका छन् । नेपालगन्जका विभिन्न ठाउँमा जग्गा जमिन किनेका इस्तियाकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ को बिर्ता गाउँमा एक सय २० करोडको लागतमा कुखुराको दाना उद्योग खोलेका छन् । यसले पनि उनको आर्थिक हैसियतलाई लिएर प्रश्न उठ्ने गरेको छ । उनी छोटो समयमा धेरै कमाउने नेतामा पर्छन् ।

बाँकेको क्षेत्र नम्बर–२ को अनौठो विशेषता के छ भने यो क्षेत्रबाट हाल कुनै पनि नेताले लगातार २ पटक संसदीय निर्वाचन जितेका छैनन् । त्यही क्षेत्रबाट सुशील कोइराला ५ पटक चुनावी मैदानमा उत्रिए । कोइरालाले दुईपटक हारे, तीनपटक जिते । चुनाव जितेरै कोइराला बाँकेबाट प्रधानमन्त्री पनि बने ।

यहाँ काँग्रेस सांगठनिक रूपमा पहिलो शक्ति हो । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र डडुवा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै काँग्रेसले नै जितेको छ । तर, सुशील कोइरालाको परिचय जोडिएको यो क्षेत्रमा काँग्रेसले निक्कै कमजोर उम्मेदवार उठाएर लगभग वाकओभर दिएको छ । एमालेको नियति पनि काँग्रेसकै जस्तो छ । २०४८ सालदेखि हालसम्म भएका कुनै पनि संसदीय निर्वाचनमा एमालेले नेपालगन्जको शहरी क्षेत्रबाट एकपटक पनि चुनाव जित्न सकेको छैन ।

बाँकेको क्षेत्र नम्बर–२ मा कुन पार्टीको कति मत ?

(वडाअध्यक्षले पाएको मतका आधारमा )
काँग्रेस : १८ हजार ३७ मत
एमाले : १५ हजार ४ सय ७८
जसपा : १३ हजार ८ सय ९
राप्रपा : ८ हजार ४ सय ९४
माओवादी : ६ हजार ८ सय ५९
-नेपाल भ्यूजबाट

थप समाचार

दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा इस्तियाकको संघर्ष

इस्तियाक राईको झुठो आश्वासनः तीन वर्ष वित्यो काञ्जि हाउसले एक करोड पाएन

कुनै पनि हालतमा म इस्तियाक राईलाई छोड्दिन : नेता समसुल हक राई

मन्त्री राईको चुनाव अगावै ५० करोड असुल्ने योजना यस्तो छ ?

६ ठेकेदार कम्पनीले मात्र ४० अर्ब ठेक्का पाउने गरी ‘सेटिङ’

‘डिजि’देखि मन्त्री ईस्तियाक राईसम्मले कमिशन मागेको खुलासा

भवन उद्घाटन गर्न हनुमानगढी पुगेका मन्त्री मो. ईश्तियाक राईलाई युवाले लखेटे

ठेक्का सम्झौता नहुँदै हतारमा शिलान्यास

सासंद ईस्तियाक राईको दश हजार विरुवा खोई ?