इस्तियाक राईको झुठो आश्वासनः तीन वर्ष वित्यो काञ्जि हाउसले एक करोड पाएन

शिलान्यास र घोषणाले आलोचित बन्दै राई, डा. कर्ण भन्छन्–‘घोषणा गर्नु, चर्चा कमाउनु गलत कुरा हो’


इस्तियाक राईको झुठो आश्वासनः तीन वर्ष वित्यो काञ्जि हाउसले एक करोड पाएन

नेपालगन्ज ३ कार्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बर्खास्त गरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तियाक राई चर्चा कमाउन लागि परेका हुन्छन् ।

सत्तामा रहँदा होस् या नहोस् उनी आफ्नो सस्तो लोकप्रियता र चर्चा कमाउनकै लागि सधैं तम्तयार हुन्छन् । जनतासामु झुटा प्रतिबद्धता र आस्वासन बाँड्न माहिर इस्तियाक आफूले बोलेअनुरुप विरलै केही गर्छन् । त्यो पनि आधाअधुरा ।

जनताबीच लोकप्रियता कमाउन र भएगरेका सबै राम्रा कामको श्रेय लिन तम्तयार राई जनताको आँखामा छारो हाल्न यो योजना त्यो योजना, यति बजेट उती बजेट भन्दै घोषणा गर्छन् । प्रतिबद्धता जाहेर गर्छन् । तर, ती प्रतिबद्धता र योजना समयसंगै हराएर जान्छन् ।

त्यति मात्र कहाँ हो र, बजेट छुट्टिनु कता हो कता दर्जनौं योजना आफ्नो नामको शिलालेख राखेर शिलान्यास गर्दै हिँड्छन् । कतिले त उनलाई बजारमा ‘शिलान्यासमन्त्री’ समेत भन्दै चर्चा गर्ने गरेकाछन् । सस्तो लोकप्रियता कमाउन उद्धत राईको प्रतिबद्धता र घोषणाको एउटा उदाहरण हो ‘गाई संरक्षण गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता’ ।

तत्कालिन संघीय शहरी विकास मन्त्री हुँदा इस्तियाक राइले ‘गाई बचाउ अभियान’ सञ्चालन गरिरहेका अभियन्ताहरुलाई भेटी छाडा चौपाया (गाई)को उचित ब्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई संसदीय कोषबाट एक करोड रकम उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

राइले एक करोड उपलब्ध गराउने घोषणा गरेपछि सामाजिक सञ्जाल र चोक चौराहमा ‘एक करोड’को चर्चा चुलियो, मिडियामा समाचारले राम्रो स्थान पाए ।

राइले यसरी ‘गाई बचाउ अभियान’का लागि संसदीय कोषबाट एक करोड रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको तीन वर्ष वित्यो तर, प्रतिबद्धता जनाएको उक्त रकम आउनुको त परको कुरा त्यसको कुनै अत्तोपत्तो नै छैन ।

यसबीच उनी फेरी तेस्रो पटक मन्त्री बने । तर, पूर्वत आफूले बोलेको बाचा, प्रतिबद्धता र घोषणा लत्याए । तेस्रोपटक मन्त्री बन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने तर, गत असोज २७ गते प्रधानमन्त्री देउवाले उनलाई कारबाही स्वरुप बर्खास्त गरिदिए ।

त्यसो त बर्खास्तमा परेका मन्त्री राइ मन्त्री रहँदासम्म प्रतिबद्धतासहित आस्वासन बाँड्न र घोषणा गर्न पछि परेनन् । यसबीच उनले थुप्रै स्थानमा ‘बजेटको टुङ्गो नलागेको’ र धेरै वर्ष पहिले नै सम्पन्न पूर्वाधारको शिलान्यास र उद्घाटनमै कार्यकाल बिताए । बजेट नआएपनि एकैदिन चार–पाँच वटा आफ्ना नामको शिलालेख राख्दै शिलान्यास गर्दै हिँडे ।

शिलान्यास गर्दै हिँड्नु नै इस्तियाकलाई अहिले चुनावमा त्यही शिलालेख र शिलान्यास घातक सावित भइरहेको उनकै पार्टीका नेताहरुले बताइरहेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकालाई गाई नियन्त्रण तथा ब्यवस्थापनका लागि एक करोड रुपैयाँ कही कतैबाट नआएको नेपालगन्ज उपमहानगरपालिका बताउँछ ।

उपमहानगरपालिकाका कर्मचारीले भने–‘गाई नियन्त्रण तथा ब्यवस्थापनका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जसले जनाएका हुन् उनैलाई थाहा होला । तर, नेपालगन्ज उपमहानगरपालिकालाई यस्ता खाले कुनै बजेट आएको छैन ।’

तीन वर्षअघि (२०७६ साउन २५ गते) जब इस्तियाक राइ संघीय सरकारका शहरी विकास मन्त्री थिए उनले सो बखत ‘गाई बचाउ अभियान’मा सक्रिय नेपालगन्जका अभियन्ताहरुलाई साक्षी राखेर एक करोड दिने घोषणा गर्दै प्रतिबद्धता जनाएका थिए ।

उक्त घोषणा र फोटो फेसबुकमा समेत पोष्ट गरिएको थियो । सञ्चारमाध्यममा समाचार पनि छापिएका थिए ।

गाई बचाउ अभियानका अभियन्ता तथा नेपालगन्जमा सामाजिक संजाल(नेपालगन्ज ग्यालरी) मार्फत गाई बचाउ अभियान सञ्चालन गर्दै आएका विवेक श्रेष्ठले गाई संरक्षणका लागि तत्कालिन मन्त्री इस्तियाक राईले त्यो बेला एक करोड रकम दिने घोषणा गरेको बताए ।

सेतोखरीसँग कुरा गर्दै विवेकले भने–‘हामीले गाई बचाउ अभियान सञ्चालन गरिरहेका थियौं, इस्तियाक राइ हामीलाई भेट्न आए, उनले ५० हजार नगद दिए । म र नेपालगन्ज ग्यालरीका एडमिन समीरमान श्रेष्ठले बुझ्यौं । त्यही बेला उनले एक करोड दिने घोषणा गरेका हुन् ।’

उनले अगाडी थपे–‘हामीलाई प्राप्त भएको ५० हजार काञ्जि हाउसमा रहेका पशुचौपायाको उपचार, औषधि तथा आहारामा खर्च भयो । पछि त्यती रकम पनि अपुग भयो ।’

नेपालगन्जमा सामाजिक सञ्जालमार्फत गाई बचाउ अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरुलाई साक्षि राखेर घोषणा गरेको रकम आयो आएन ? सेतोखरीको जिज्ञासामा विवेकले भने–‘घोषणा गर्दैमा आउने भन्ने हुँदैन । आयो आएन त्यसको बारेमा जानकारी छैन । आएको भए सबैलाई थाहा हुन्थ्यो नी ।’

‘बोल्नु र गर्नु धेरै फरक कुरा हो । राजनीति मात्र गर्ने होइन । बोलेको कुरा पनि पुरा गर्नुपर्दछ ।’ विवेकले अगाडी थपे–‘नेपालगन्जमा गाई बचाउ अभियान चलाउँदै गर्दा मेरो ब्यक्तिगत रकम कति खर्च भयो त्यसको लेखाजोखा छैन । निस्वार्थ भावले पशुचौपायाका लागि लाग्दै गर्दा हाम्रो अभियान र ‘गाई’ माथि नै राजनीति हुन थाल्यो । बाध्य भएर हामी पछि हट्यौं ।’

गाई बचाउ अभियान तथा ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका अभियन्ता डाक्टर विनोद कर्णले गाई नियन्त्रण तथा ब्यवस्थापनका लागि पैसा घोषणा गर्ने अनि नदिने यस्तो गर्नु राम्रो नभएको बताए ।

‘यदि दिनुनै थिएन भने किन घोषणा गरेको’– कर्णले भने–‘दिइएन भने किन दिइएन जनतालाई प्रष्ट पार्न सक्नु पथ्र्याे नी । घोषणा गरेको रकम आएको भए सबैलाई थाहा हुन्थ्यो नी । घोषणा ग¥यो, चर्चा कमायो त्यही त हो ।’
सेतोखरीसंग कुरा गर्दै डाक्टर कर्णले भने–‘एउटा असल नेतामा हुनुपर्ने गुण भनेकै इमान्दारिता हो । नेपालमा बोलेको अनुसार पुरा नगर्ने वाहवाही मात्र कमाउने धेरै छन् । नेता हुन त भिजन चाहिन्छ । योजना चाहिन्छ ।’

छाडा पशुचौपायाको दर्दनाक अवस्था र त्यसबाट निम्तिएको परिस्थितीलाई दीर्घकालिन समाधानका लागि भन्दै केही गरौं न भनेर गाई संरक्षण अभियान चलाएका डाक्टर कर्णले बताए ।

‘हमीले अभियन त चलाएका थियौं तर, त्यहाँ पनि राजनीति गरेर विवादित बनाए । बाध्य भएर पछि हट्नु प¥यो ।’ डाक्टर कर्णले तीन वर्षको अवस्था सम्झदै भने ।

यसैबीच, इस्तियाक राइलाई मोबाईलमा पटक–पटक फोन गर्दा फोन रिसिभ गरेनन् ।

थप समाचार

मन्त्री राईको चुनाव अगावै ५० करोड असुल्ने योजना यस्तो छ ?

६ ठेकेदार कम्पनीले मात्र ४० अर्ब ठेक्का पाउने गरी ‘सेटिङ’

‘डिजि’देखि मन्त्री ईस्तियाक राईसम्मले कमिशन मागेको खुलासा

भवन उद्घाटन गर्न हनुमानगढी पुगेका मन्त्री मो. ईश्तियाक राईलाई युवाले लखेटे

ठेक्का सम्झौता नहुँदै हतारमा शिलान्यास

सडक विस्तार योजना अलपत्र : आकाशे पुल, सडक स्तरोन्नती र बत्ती जडान गर्न अलग्गै ठेक्का

सासंद ईस्तियाक राईको दश हजार विरुवा खोई ?

ईस्तियाकलाई हराउन उनकै पिए जसपाबाट विद्रोही उम्मेदवार

चुनाव लड्न मन्त्री राईलाई असहज, आफ्नै भाई समशुलले दिदैँ टक्कर

कुनै पनि हालतमा म इस्तियाक राईलाई छोड्दिन : नेता समसुल हक राई

मोहम्मद ईस्तियाक राईसहित ४ मन्त्रीलाई बर्खास्त