कर्णाली चिनाउने ‘रारा म्याराथन’ आगामी वैशाख २२ गते हुने


कर्णाली चिनाउने ‘रारा म्याराथन’ आगामी वैशाख २२ गते हुने

File Photo

नेपालगन्ज ५ वैशाख : पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल कर्णाली चिनाउने ‘रारा म्याराथन’ आगामी वैशाख २२ गते हुने भएकोछ । यसअघि लोकतन्त्र दिवसका अवसर पारेर गत वर्ष वैशाख ११ गते हुने तय भएको रारा म्याराथन स्थानीय चुनाव लगायतका कारण स्थगित गरिएको थियो ।

रारा म्याराथनको पूर्व निर्धारित मितिमा स्थगन गरिएको र अर्को मिति ढिलोगरि तय भएको हो । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गरिरहेकाछन् । म्याराथनको रुट रारा ताल किनारबाट शुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदैँ चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरीतर्फ लाग्नुपर्नेछ । त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुने आयोजकले जनाएकोछ ।

यस म्याराथनको महत्वपुर्ण आकर्षणको रुपमा राराताल वरीपरी १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ । फुल म्याराथनसँगै शुरु भएर धावकहरु ताल वरीपरी घुमेर पुनः स्टार्टिङ प्वाइन्टमै पुगेर यो दौड समापन हुनेछ । यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा छ ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ’–रारा म्याराथनका अध्यक्ष एवम परिकल्पनाकार अन्तरालका टिम लिडर जयनारायण शाहले भने, ‘बुद्ध पुर्णिमाको दिन सुन्दर रारातालबाट भाइचारा र विश्व शान्तिको सन्देश पनि दिनेछ ।’

रारा म्याराथनले खेलकुदसँगै आन्तरिक र बाह्य पर्यटनलाई अभिवृद्धि गर्ने अपेक्षा छ । म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

‘रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ’– सांसद शाहीले भने, –‘यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ ।’ रारा म्याराथनले स्थानीय खेलाडीहरु उत्पादनमा विशेष जोड दिनेछ । यस वर्ष मुगुका खेलाडीहरुलाई म्याराथनमा भाग लिँदा कुनै पनि शुल्क लाग्ने छैन । प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिनेछ ।

कर्णालीका खेलाडीहरुलाई विशेष सहुलियत हुनेछ । युवा खेलाडीहरुलाई १ हप्ताको विशेष अभिमुखिकरणमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गरिनेछ । यसका लागि रारा म्याराथनकी सद्भावना दुत विश्वकिर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई सहितको टिम एक साता अघि नै मुगु पुगिसक्नेछ । रारा म्याराथनमा धाविका मीरा राईको अगुवाईमा सञ्चालित मीरा राई इनिसीयटिभले पनि सहकार्य गरेको छ ।

इनिसीयटिभले ‘स्तुपा टु स्तुपा’ र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने देशैभरबाट किशोरीहरुलाई काठमाडौंमा लगेर दौड, क्षमता अभिवृद्धि, अग्रेंजी लगायतका भाषा तालिम आवासीय रुपमा सञ्चालन गर्दै आएको छ ।

‘आगामी वर्षदेखि धाविका मीरा राई हरेक वर्ष कम्तिमा डेढ महिना मुगुमा भेटिनेछन्’– शाहले भने,‘निकट भविष्यमा मुगुका किशोरीहरुबाट अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’

सुन्दर ताल राराको नाममा तयारी शुरु गरिएको म्याराथनको सद्भावनादूत भएर काम गरिरहँदा आफुले गौरव बोध गरेको बताउँदैं मीरा राई भन्छिन् –‘म रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरुलाई निमन्त्रणा गर्दछुँ ।’ विकट कर्णालीका किशोरीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहित भएको बताउँदैं राईले भनिन् – ‘म मुगुका किशोरीहरुमा थुप्रै मीरा खोज्नेछु ।’

‘पहिलो चरणमा किशोरीहरुलाई खेलकुद प्रशिक्षण शुरु गरिनेछ’–सांसद शाहीले भने– ‘निकट भविष्यमा समग्र खेलकुद समेट्ने गरी बृहत प्रशिक्षण गरिनेछ ।

‘रारा म्याराथनले विकट कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद सफल आयोजना हुन सक्छ भनेर मात्र प्रमाणित गर्ने छैन’ – म्याराथनका अध्यक्ष जयनारायण शाहले अगाडी थपे,‘यो सफल आयोजनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको आयोजनाको लागि पनि सकारात्मक सन्देश दिनेछ ।’

कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पुर्ण रुपमा सघाउनेछ,– सदस्य सचिव सञ्ज्यालले भने–ञरारामा राष्ट्रिय, अन्तराष्ट्रिय धावक र पाहुनाहरुलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद आतुर छ।’

थप समाचार

कर्णाली चिनाउने ‘रारा म्याराथन’ स्थगित, नयाँ मिति छिटै सार्वजनिक गरिने

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई अनुबन्धित

‘रारा म्याराथन’ वैशाख ११ मा