कोरोना संक्रमितलाई बचाउँदा बचाउँदै विदा भइन् रमा

शोकमय बाँके बर्दियाका स्वास्थ्यकर्मी


कोरोना संक्रमितलाई बचाउँदा बचाउँदै विदा भइन् रमा

गुलरिया (बर्दिया) १६ माघ : विश्वभर कोरोना माहामारी फैलिरहेको थियो । भुसको आगो जस्तो फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि आफनो प्रभाव बनाउन सुरु गर्यो । कोरोना नियन्त्रण गर्न नेपाल सरकारलाई लकडाउन गर्नुपर्ने बाध्यता आइपर्यो । तर, यस्तो जोखिममा आम सर्वसाधरणको सुरक्षाका लागि अग्र पंक्तीमा स्वास्थ्यकर्मी खडा भए ।

कोरोना संक्रमणको ठोस उपचार छैन, उपचारका लागि आवश्यक उपकरण, औषधी थिएन न कुनै भ्याक्सिन बनेको नै थियो । दिनहुँ कोरोना संक्रमणको दर बढ्दै थियो र संक्रमितहरुको मृत्युदर पनि अप्रत्यासीरुपमा बृद्धि हुदँै गएको थियो ।

कोरोनाको तत्काल औषधि नभएपनि कोरोना भाइरसबाट संक्रमित हुनबाट बच्नका लागी स्वास्थ्य मापदण्डको पालना गर्नु नै यसको प्रमुख उच्च सर्तकता थियो । आम सर्वसाधारणमा कोरोनाको डर र त्रासमा रहेकै बेला संक्रमितलाई सान्त्वना दिदैँ जोखिम मोलेर दिनहुँ संक्रमितको उपचारमा अहोरात्र खटिए स्वास्थ्यकर्मी ।

कोरोनाको लडाईमा पहिलो पंक्तिमा रही उपचारमा अग्रसर थिए स्वास्थ्यकर्मी र अहिले पनि छन् । तर, कोरोना महामारीको बेला होस वा त्यो भन्दा पहिलेको समयमा स्वास्थ्यमा रहेका स्वास्थ्यकर्मीहरुले आफ्नो दायित्व पुरा गरिरहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

भगवानकै अर्को रुपमा लिइने स्वास्थ्यकर्मी नै कोरोनाका कारण अनाहकमा ज्यान गुमाउँदा यतिबेला स्वास्थ्यकर्मीमा त्रासको वातावरण सिर्जना भएकोछ । देशमा कोरोनाले न गरिब भन्यो न धनि, न पेशागतरुपमा न भूगोलको हिसाबमा । यसले जहाँ पायो त्यही आफ्नो प्रभाव छोड्यो । कोही सहजै जित हाँसिल गरे कोही कष्टपूर्ण र जटिल अवस्थामा पुगेर पनि फर्के । तर, सबै भाग्यशाली भएनन् । केहीले दर्दनाक र अनाहकमा ज्यान गुमाउनुपर्यो ।

नेपालमा कोरोना भाइरस न्यूनिकरण पहिलेको भन्दा अहिले धेरै भएको छ । यद्यपी कोरोना भाइरसको जोखिम र संक्रमण भने अझै उच्च छ । कोरोना पीडितलाई मात्र यसको प्रभाव र यसले पुर्याएको क्षती थाहा छ । त्यसैले कोरोनालाई हल्का वा सामान्य रुपमा लिनुहुदैन भन्ने पनि पछिल्लो घटना क्रमले सन्देश दिएकोछ ।

कोरोना भाइरसको प्रकोप र असरले कस्तो नजिता ल्याँउछ भन्ने कुरा कोरोना भाइरस न्यूनिकरण तथा रोकथाममा अग्रपंक्तिमा रही बाँकेमा कार्य गरिरहेकी एक स्वास्थ्यकर्मीको निधनको घटनाले पुष्टि गरेकोछ ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै सेवा दिदैं आइरहेका स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीकी धर्मपत्नी रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण शुक्रबार विहान निधन भयो । यो घटनाले बाँके मात्र होइन यतिबेला बर्दियामा समेत त्रास फैलाएकोछ । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेको अवस्थामा कोरोना पोजेटिभ भएर भारतीको मृत्यु हुँदा सिंगो स्वास्थ्यकर्मी स्तब्ध भएका छन् ।

भेरीमा उपचारको क्रममा रमा भारतीका श्रीमान गोकर्ण गीरीले सामाजिक संञ्जाल फेसबुकमा राखेको तस्विर ।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी रमा भारती बाँकेको बैजनाथ गाँउपालिकाको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत रहँदा उनले कोरोनाको महामारीकै बेला ज्यान धरापमा राखि अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्दै आएकी थिइन् ।

नेपालमा कोरोना भाइरस संक्रमणको दर केही मथ्थर भइरहेकै बेला केही दिन अघि रमाको स्वास्थ्य अवस्था अस्वस्थ भयो । अचानक कडा ज्वरो, पखाला तथा वान्ता भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब परीक्षण गर्दा आएको रिर्पोटमा उनीमा कोरोना पोजेटिभ पाइयो ।

कोरोना पोजेटिभ पाइएकी बाँकेकी सिनियर अनमी रमाको उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा राखियो । भेरी अस्पतालको कोभिड वार्डमा राखि उपचार गराइरहेकै अवस्थामा रमाले शुक्रबार विहान ५ः२७ बजे ज्यान गुमाउनु पर्यो ।

कोरोना संक्रमितको उपचार तथा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा सक्रिय भूमिका खेलेकी रमाले थुप्रै संक्रमितको ज्यान समेत बचाईन्, तर, आफू संक्रमित भएपछि अन्ततः कोरोनासंग हारिन् । उनको मृत्युसंगै यतिबेला उनीसंगका काम गर्ने सहकर्मी तथा उनको उपचारबाट कोरोना जितेकाहरुलाई गहिरो चोट पुगेकोछ । उनीहरुले रमाको मृत्युलाई पत्याउन सकेका छैनन् ।

भारतीको यो निधनले स्वास्थ्यकर्मीको मात्र होइन यतिखेर सबैका आँखा रसाएका छन् । भेरी अस्पतालमा उपचारको क्रममा रहेका बेला ३ दिन अघि स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले जिवन संगीनीको उपचार भैरहेको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह समेत गरेका थिए । तर, उनले यस्तो आग्रह गरिरहँदा आफ्नै श्रीमतीबाट सदाका लागि टाढा हुनुपर्यो ।

४७ वर्षिय रमा भारती कार्यक्षेत्रमा होस् वा घरपरिवार उनी मिलनसार, सहयोगी, इमान्दार र आफूले पाएको जिम्मेवारीमा निर्भिकरुपमा अहोरात्र खटिने स्वास्थ्यकर्मी हुन् । यीनको यही विशेषता र गुणकै कारण कोरोना माहामारीमा केही स्वास्थ्यकर्मीले जोखिम लिन डराएकै बेला समेत उनी कोरोना संक्रमितको उपचारमा खटेकी उनका समकक्षी बताउँछन् ।

बैजनाथ गाँउपालिकालाई सिनियर अनमि गुमाउँदाको पीडा थामि नसक्नु भएको छ । रमा भारतीका श्रीमान गोकर्ण गीरी स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख हुन् ।
बर्दियाकै बासिन्दा भएका कारण कोरोना महामारीको अवस्थामा गोकर्णले पनि दिनरात खटेर काम गरिरहेका छन् । श्रीमानको आत्मविश्वासले श्रीमतीको मनोवल बढाउने काम गर्दथ्यो भने श्रीमान गोकर्णको मनोवल बढाउने काम गर्दथिन् रमा । तर, अव त्यो सदाको लागी अन्त्य भएको छ । स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका गोकर्ण गीरी आफ्नाी धर्मपत्नी रमा भारतीलाई गुमाउँदा यसको रोदन र पीडा बयान गर्नसक्ने छैन ।

यता कोरोना भाइरस माहामारी नियन्त्रण, निदान र उपचारमा फ्रन्टलाइनमा खटिएर काम गर्दा गर्दै भाइरस संक्रमित भइ उपचारका क्रममा अनमी भारतीको निधनले कुशल र पेशाप्रति समर्पित रास्ट्रसेवक कर्मचारी गुमाउनु परेको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गहिरो दुःख व्यक्त गरेकाछन् ।

मृतक रमा भारतीका एक छोरा र एक छोरी छन् ।