पूर्ण खोप घोषणामा तगारो बन्दै ‘रोटीबेटीको सम्बन्ध’


पूर्ण खोप घोषणामा तगारो बन्दै ‘रोटीबेटीको सम्बन्ध’

बर्दिया १ चैत : रोटीबेटीको सम्बन्धका कारण यतिबेला बर्दियाको सबैभन्दा जेठो नगरपालिका गुलरिया नगरपालिकालाई पूर्ण खोप घोषणा गर्न समस्या देखिएकोछ ।

भारतसंग खुल्ला सीमा जोडिएका कारण पूर्ण खोप घोषणा गर्नमा समस्या देखिएको हो । छिमेकी देश भारतसंगको रोटीबेटीको सम्बन्धका कारण नगरपालिकालाई पूर्ण खोप घोषणा गर्न समस्या आएको हो ।

खोप लगाउनुपर्ने उमेरका बच्चा लिएर भारत माईत वा घर गएका अभिभावक लामोसमय उतै बसिदिँदा पूर्ण खोप घोषणा प्रभावित बनेको गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डे बताउँछन् ।

उनका अनुसार यसरी भारत जाने अभिभावकले आफूसंगै बच्चा लिएर जाने र कम्तिमा पनि ५÷६ महिनासम्म उतै बसिदिने परिपाटीका कारण अभियान सफल पार्न चुनौति देखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बच्चासहित भारत बस्ने अभिभावकको समस्या एकातिर छ भने नगरपालिकामै रहेका मधेशी समुदायका अभिभावकले बच्चालाई खोप लगाँउदा बच्चा रुएपछि थप अर्को खोप लगाउन नआउने गरेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले अनुभव सुनाए ।

अभिभावकमै खोपसम्बन्धि जनचेतनाको कमि भएका कारण यस्तो समस्या आएको हो । यही समस्यालाई चिर्न यतिबेला गुलरिया नगरपालिकाले आफ्ना वडा स्तरबाट खोप सम्बन्धि सचेतना जगाउने कार्य तिव्र पार्दै लगेको छ ।

अहिले पूर्ण खोप घोषणा नगरपालिका बनाउनका लागी वडा र टोलटोलमा जनचेतना जगाउने कार्य भैरहेको छ । पूर्ण खोप घोषणाका लागि नगरपालिकाले प्रत्येक वडामा जन्मदेखि १५ महिनासम्मका बच्चालाई खोप लगाउने सम्बन्धि जनचेतना सञ्चालन गरिरहेकोछ ।

१५ महिनासम्मका बच्चालाई बिभिन्न ११ किसिमका खोपहरु प्रदान गरिन्छ । यी खोप पूर्णरुपमा लिएको सुनिश्चित भएमा मात्र पूर्ण खोप घोषणा गर्न सकिन्छ ।

खोपको मात्रा पुरा नभएको अवस्थामा भविष्यमा बच्चाको स्थिति सहज नहुने हुँदा जन्मेदेखि १५ महिना भित्र सवै खोप मात्रा पुरा गर्नु पर्ने हुन्छ । तर, यदि कुनै कारणबस १५ महिना भित्र खोपको मात्र पुरा गर्न सकिएन भने २३ महिना भित्र खोप लगाउन सकिने पाण्डेले बताए । गुलरिया नगरपालिकामा ३४ वटा खोप केन्द्र रहेका छन् । प्रत्येक वडामा २ देखि ४ वटासम्म खोप केन्द्र रहेका छन् ।