निउरो टिप्न गएकी डल्लीलाई बाघले खायो


निउरो टिप्न गएकी डल्लीलाई बाघले खायो

बर्दिया ३ चैत : पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक महिलाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले मारेको हो ।

मङ्गलबार दिउँसो निउरो टिप्न निकुञ्जमा गएका बेला डल्लीलाई पाटेबाघले झम्टेर लगेपछि उनको खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको छ । उनीसँगै निउरो टिप्न गएका अन्य तीन महिला भने सकुशल छन् ।

यसअघि फागुन २६ गते बर्दियाको मधुवन नगरपालिका– ३, स्थित सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सो घटना घटेको पाँच दिनमै पुनः बाघको आक्रमणमा परि एक डल्लीको ज्यान गएको हो ।

यस्तै फागुन १७ गते सामुदायिक वनमा भैंसी चराउन गएका बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षिय लालबहादुर थारुलाई बाघले आक्रमण गरि मारेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।

बाघ आक्रमणका घट्ना बढ्दैगएपछि निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गर्दै निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैँसी चराउन तथा घाँस दाउरा लिन नजान पटकपटक आग्रह गरेपनि स्थानीयले अटेर गरेपछि बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।