मान्छे खाने बाघ फेरि सडकमा आयो, मोटरसाईकललाई झम्टन खोज्यो


मान्छे खाने बाघ फेरि सडकमा आयो, मोटरसाईकललाई झम्टन खोज्यो

File Photo

गाभर (बाँके) २९ भदौ : मान्छे खाने बाघ फेरि सडकमा आएकोछ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरस्थित राजमार्गमा आएको उक्त बाघले एक मोटरसाईकल यात्रीलाई झम्टन खोजेको थियो ।

केही बेरअघि सडकमा आएको सो बाघले पूर्वपश्चिम राजमार्गमा गुडिरहेको उक्त मोटरसाईकललाई झम्टन खोजेपनि मोटरसाईकल यात्रीलाई केही नभएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

आईतबार गाभरमा अन्दाजी ४५ वर्षिय एक पुरुषलाई बाघले खाएपछि यतिबेला सो क्षेत्रमा डरत्रास फैलिएकोछ । राजमार्गमै बाघको आंतक फैलिएपछि बाँके राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाएकोछ ।

‘हामीले हिजै बेलुकादेखि लागु हुनेगरि रात्रीकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाएका छौं,’ साहले अगाडी थपे–, ‘अब अर्को सूचना जारी नहुँदासम्म उक्त समयमा खुलारुपमा सवारी साधन टेम्पो, मोटरसाइकल, साइकल तथा पदैलबाट यात्रा गर्न पाइने छैन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहका अनुसार सिकार गरेपछि बाघ बचेको सिकार खानका लागि पटक/पटक घटनास्थलमा आउने गर्छ । उनका अनुसार हिजो मात्रै तीन पटक घटना स्थलमा ती बाघ आएका थिए ।

‘मैले करिब दुई सय मिटर नजिक गएर ती बाघ नियाले । लिंग पहिचान भने गर्न सकिनँ,’ साहले भने, ‘ती बाघ भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा विचरण र सिकार गर्दै हिँडेका बाघ हुन् ।’ भर्खरै माउबाट छुट्टिएका बयस्क बाघ भएको हुँदा उनीहरूले आफ्नो एरिया नबनाउँदासम्म स्वतन्त्रपूर्वक विचरण गर्ने र सिकार गर्न बानी नभइसकेको हुँदा इजी सिकार रोज्ने खतरा रहने उनले बताए ।

निकुञ्जले मान्छे खाने बाघ नियन्त्रणमा लिन दुई वटा घरपालुवा हात्ति र ठूलो मात्रामा सेना परिचालन गरेकोछ । हिजो सोमबार नै देखिएको उक्त बाघलाई निकुञ्जले निगरानीमा राखेकोछ । ती बाघ फेरि राजमार्ग क्षेत्रमा आएर अरु घटना हुन नपाओस् भनेर सुरक्षाकर्मी तैनाथी बढाइएको हो ।

बाघ निरन्तर राजमार्ग क्षेत्रमा आउन प्रयासरत रह्यो भने फेरि घटना हुने खतरा रहेकाले बाघ नियन्त्रणमा लिन लागिएको हो ।

बाघको निगरानीका लागि प्राविधिक टोलीले सो क्षेत्रमा क्यामेरा जडान गरिसकेको भन्दै उक्त क्यामेराबाट बाघलाई ‘ट्रापिङ’ गरि पुरानो बाघ हो वा नयाँ बाघ हो भनेर ‘रेकर्ड आईडी’ म्याच गरिने साहले बताए । ‘हामीसंग क्यामेराले कैद गरेका फोटाहरु छन्, क्यामेराबाट ती बाघको गतिविधि निगरानी गर्नुका साथै रेकर्ड म्याच गराउँछौं । यसले बाघको ब्यवहार पत्ता लाग्छ ।’