बर्दियामा सरकारी निर्देशन लत्याइयो, कोभिडकाविच विद्यालय सञ्चालन


बर्दियामा सरकारी निर्देशन लत्याइयो, कोभिडकाविच विद्यालय सञ्चालन

गुलरिया (बर्दिया) २८ पुष : सरकारले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय आगामी माघ १५ गतेसम्मका लागि बन्द गरेकोछ । यसका साथै २५ जना भन्दा बढि भेला नहुने भन्दै भीडभाड हुने स्थानमा कडाई गरि स्वास्थ्य मापदण्डको पालना गराइरहँदा बर्दियामा विद्यालय तथा हाट बजार निर्वाधरुपमा सञ्चालन भइरहेकाछन् । सरकारको निर्देशनलाई बर्दियाका केही पालिकाले लत्याएर विद्यालय र हाट बजार सञ्चालन गरिरहेकाछन् ।

कोभिड महामारी तिव्र रुपमा बढेपछि नेपाल सरकारले न्यूनीकरणका लागी चालेको कदमलाई अक्षरस लागु गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बैठकबाट अर्को निर्णय नभएसम्मका लागी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढि भेला हुने गरी मेला तथा भेला महोत्सवहरुको आयोजना गर्न नगराउन आग्रह समेत गरेको छ । तर, बर्दियाका केहि स्थानीय तहले यो निर्देशनलाई लत्याउदै विद्यालय तथा हाट बजार सञ्चालन गरिरहेका छन् ।

भारतसँग सीमा जोडिएको बर्दिया जिल्लामा दैनिक मानिसहरुको आउजाउ बाक्लो छ । उनीहरुले स्वास्थ्य सम्बन्धि सामान्य मापदण्ड समेत पालना गरेको पाइदैन । यस्तो बेलो बर्दिया प्रशासन र सरकारको निर्देशनलाई समेत अटेर गरि बर्दियाका अधिकांश स्थानीय तहमा विद्यालय र हाट बजार सञ्चालन गर्दै प्रशासन र सरकारको धज्जी उडाउने मात्र होइन कोरोना संक्रमणको दलदलमा बर्दीयालाई धकेलिरहेकाछन् ।

यतिबेला बर्दियाको बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका, मधुवन नगरपालिका र बारबार्दिया नगरपालिकाले सरकारको निर्देशन लत्याइरहेका छन् । यी स्थानीय तहमा विद्यालय सञ्चालनमा रहेकाछन् । ती विद्यालयले कोर्ष पुरा नभएको र परीक्षा चलिरहेको भन्दै आफ्नो बचाउ गरिरहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बर्दियाको मधुवन नगरापालिकामा स्थित लालीबजारमा बुधबार लागेको हाट बजारमा ठेलमठेल भीड थियो । कोरोना तीव्ररुपमा फैलिरहेका बेला कडाई गर्नुको साटो स्थानीय तहले बेवास्ता गरेको स्थानीय युवा नेता युवराज अधिकारीले बताए ।

उनले भने –‘सरकारले विद्यालय बन्द गरिएको भन्छ तर यहाँ विद्यालय निर्वाधरुपमा खुला छ । कोरोनाको जोखिमका बाबजुत आफ्ना बच्चा विद्यालय पठाउने वा नपठाउने अन्यौलता छाएकोछ ।’ ‘केही विद्यालयहरुको परीक्षा सञ्चालनमै रहेकाले २९ गतेबाट विदा गर्ने तयारीमा छौं’ बाँसगढी नगरपालिकाका नगरप्रमुख सालिकराम अधिकारीले बताए ।

बारबर्दिया नगरपालिकामा पनि पुष २९ गतेबाट विद्यालय बन्द गरि बैकल्पिक शिक्षण शिकाइको पाटोलाई संगसगै लिएर जाने शिक्षा युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक टिकानाथ गोसाइले बताए ।

मधुवन नगरपालिकामा विद्यालय मात्र होइन नियमित रुपमा लाग्ने हाट बजार पनि सञ्चालनमा रहेकोछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले कोभिडको अवस्था हेरेर मात्रै विद्यालय बन्द गरिने बताए ।
बढैयाताल गाँउपालिकामा पौष २९ गतेसम्म परीक्षा सकिने र सोही दिनबाट विद्यालय बन्द गरिने गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

यता गुलरिया नगरपालिकामा विद्यालय बन्द गरिनुका साथै स्थानीय स्तरमा लाग्ने हाट बजार पनि बन्द गरिएको छ ।

राजापुर नगरपालिकामा २७ गते देखी नै विद्यालय बन्द गरिएको सचना अधिकारी वसन्त मल्लले जानकारी दिए । तर, प्रत्येक हप्ताको शनिबार लाग्ने हाट बजारको विषयमा कुनै निर्णय नभएको उनले बताए ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल तथा गेरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्गका अनुसार दुवै पालिकाले सरकारको निर्णयलाई पछ्याउँदै विद्यालय बन्द गरेको जानकारी दिए । तर, विद्यालय बन्द गरिएका पालिकामा समेत कोभिड सम्बन्धिको अनुगमनलाई प्रभावकारी बनाउँदै स्वास्थ्य सम्बन्धि मापदण्डको पालनामा कडाई गरिएको छैन ।

थप समाचार

शिक्षा मन्त्रालयको निर्णय : माघ १५ सम्म देशभरका विद्यालय बन्द