गुलरिया (बर्दिया) २८ पुष : सरकारले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय आगामी माघ १५ गतेसम्मका लागि बन्द गरेकोछ । यसका साथै २५ जना भन्दा बढि भेला नहुने भन्दै भीडभाड हुने स्थानमा कडाई गरि स्वास्थ्य मापदण्डको पालना गराइरहँदा बर्दियामा विद्यालय तथा हाट बजार निर्वाधरुपमा सञ्चालन भइरहेकाछन् । सरकारको निर्देशनलाई बर्दियाका केही पालिकाले लत्याएर विद्यालय र हाट बजार सञ्चालन गरिरहेकाछन् ।
कोभिड महामारी तिव्र रुपमा बढेपछि नेपाल सरकारले न्यूनीकरणका लागी चालेको कदमलाई अक्षरस लागु गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बैठकबाट अर्को निर्णय नभएसम्मका लागी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढि भेला हुने गरी मेला तथा भेला महोत्सवहरुको आयोजना गर्न नगराउन आग्रह समेत गरेको छ । तर, बर्दियाका केहि स्थानीय तहले यो निर्देशनलाई लत्याउदै विद्यालय तथा हाट बजार सञ्चालन गरिरहेका छन् ।
भारतसँग सीमा जोडिएको बर्दिया जिल्लामा दैनिक मानिसहरुको आउजाउ बाक्लो छ । उनीहरुले स्वास्थ्य सम्बन्धि सामान्य मापदण्ड समेत पालना गरेको पाइदैन । यस्तो बेलो बर्दिया प्रशासन र सरकारको निर्देशनलाई समेत अटेर गरि बर्दियाका अधिकांश स्थानीय तहमा विद्यालय र हाट बजार सञ्चालन गर्दै प्रशासन र सरकारको धज्जी उडाउने मात्र होइन कोरोना संक्रमणको दलदलमा बर्दीयालाई धकेलिरहेकाछन् ।
यतिबेला बर्दियाको बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका, मधुवन नगरपालिका र बारबार्दिया नगरपालिकाले सरकारको निर्देशन लत्याइरहेका छन् । यी स्थानीय तहमा विद्यालय सञ्चालनमा रहेकाछन् । ती विद्यालयले कोर्ष पुरा नभएको र परीक्षा चलिरहेको भन्दै आफ्नो बचाउ गरिरहेकाछन् ।
बर्दियाको मधुवन नगरापालिकामा स्थित लालीबजारमा बुधबार लागेको हाट बजारमा ठेलमठेल भीड थियो । कोरोना तीव्ररुपमा फैलिरहेका बेला कडाई गर्नुको साटो स्थानीय तहले बेवास्ता गरेको स्थानीय युवा नेता युवराज अधिकारीले बताए ।
उनले भने –‘सरकारले विद्यालय बन्द गरिएको भन्छ तर यहाँ विद्यालय निर्वाधरुपमा खुला छ । कोरोनाको जोखिमका बाबजुत आफ्ना बच्चा विद्यालय पठाउने वा नपठाउने अन्यौलता छाएकोछ ।’ ‘केही विद्यालयहरुको परीक्षा सञ्चालनमै रहेकाले २९ गतेबाट विदा गर्ने तयारीमा छौं’ बाँसगढी नगरपालिकाका नगरप्रमुख सालिकराम अधिकारीले बताए ।
बारबर्दिया नगरपालिकामा पनि पुष २९ गतेबाट विद्यालय बन्द गरि बैकल्पिक शिक्षण शिकाइको पाटोलाई संगसगै लिएर जाने शिक्षा युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक टिकानाथ गोसाइले बताए ।
मधुवन नगरपालिकामा विद्यालय मात्र होइन नियमित रुपमा लाग्ने हाट बजार पनि सञ्चालनमा रहेकोछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले कोभिडको अवस्था हेरेर मात्रै विद्यालय बन्द गरिने बताए ।
बढैयाताल गाँउपालिकामा पौष २९ गतेसम्म परीक्षा सकिने र सोही दिनबाट विद्यालय बन्द गरिने गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।
यता गुलरिया नगरपालिकामा विद्यालय बन्द गरिनुका साथै स्थानीय स्तरमा लाग्ने हाट बजार पनि बन्द गरिएको छ ।
राजापुर नगरपालिकामा २७ गते देखी नै विद्यालय बन्द गरिएको सचना अधिकारी वसन्त मल्लले जानकारी दिए । तर, प्रत्येक हप्ताको शनिबार लाग्ने हाट बजारको विषयमा कुनै निर्णय नभएको उनले बताए ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल तथा गेरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्गका अनुसार दुवै पालिकाले सरकारको निर्णयलाई पछ्याउँदै विद्यालय बन्द गरेको जानकारी दिए । तर, विद्यालय बन्द गरिएका पालिकामा समेत कोभिड सम्बन्धिको अनुगमनलाई प्रभावकारी बनाउँदै स्वास्थ्य सम्बन्धि मापदण्डको पालनामा कडाई गरिएको छैन ।
थप समाचार
शिक्षा मन्त्रालयको निर्णय : माघ १५ सम्म देशभरका विद्यालय बन्द
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे