मण्डफवा जङ्गलमा बाघसँग लडेर बाँचेका ‘वकिल’


मण्डफवा जङ्गलमा बाघसँग लडेर बाँचेका ‘वकिल’

बाघसंग लडेर ज्यान बचाएका फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दी ।

नेपालगन्ज ८ फागुन : बाँकेमा पछिल्ला दिन बाघ आक्रमणको घटना शृङ्खलाबद्ध बृद्धि भइरहेकोछ । अझ यो वर्षमा प्राय सबै महिना २–४ वटा बाघ आक्रमणको घटना भइरहेकै छन् ।

शृङ्खलाबद्ध बाघ आक्रमणका घटनामा कतिपयले ज्यान बचाउन सफल हुन्छन् त कतिपय अनाहकमा ज्यान गुमाउँछन् । यसअघि हिजो शनिबार मात्रै बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरी मारेको थियो ।

बाघले चलाउनेलाई मारेको घटनाको भोलीपल्ट अर्थात आईतबार पुनः राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर–७ फत्तेपुरको झगडीया गाउँका युवालाई बाघले आक्रमण गरेकोछ । फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेता पनि उनी बाँच्न सफल भएकाछन् ।

आईतबार माध्यान्ह १२ बजेतिर फत्तेपुर स्थित मण्डफवा सामुदायिक वनको पहाडी क्षेत्रमा घाँस, दाउरा खोज्न गएका बेलामा बाघले उनलाई एक्कासी आक्रमण गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७ का वडाअध्यक्ष रामलखन थारुका अनुसार बाघले वकिललाई आक्रमण गरेपनि बाघसंग लड्दा बाँच्न सफल भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

मण्डफवा जङ्गलमा बाघसँग लडेर बाँचेका वकिललाई भेरी अस्पताल नेपालगन्जमा उपचाररत रहेकाछन् । घटनास्थल फत्तेपुर गाउँबाट करिव ३ किलोमिटर भित्र पर्छ । घाँस, दाउरा खोज्न गएकाबेला बाघले वकिललाई एक्कासी आक्रमण गरेको थियो । बाघसँग केहीबेरसम्म लडेका वकिललाई बाघले भुइँमा पल्टाएर घाँटीमा टोकेर रगत चुस्न प्रयास गरेकै बेला उक्त सामुदायिक जङ्गलमा संगै गएका साथीहरुले हो–हल्ला गर्दा तर्सेर बाघ त्यहाँबाट भागेको स्थानीयले बताए ।

वकिलको दाहिनेतर्फको गर्दनको पछाडी र कुमतर्फ गहिरो प्वाल परेको छ । बाघको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्दार गरेका हुन् । उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अस्पताल पुर्याएपछि उनको होस् खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाघ आक्रमणमा परि वकिल घाइते भएको बताए । ‘बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएका छन्, भेरी अस्पतालमा उपचाररत उनको अवस्था खतरामुक्त नै छ,’ अधिकारीले भने ।

यसअघि शनिबार मात्रै राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई बाघले आक्रमण गर्दा उनी बाँच्न सकेनन् । गत भदौ अन्तिम सातायता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

गत कार्तिक २७ गते नरैनापुर–४, पण्डितपुरुवाका ४१ वर्षिय लखन गडरिया, पुष २३ गते राप्तिसोनारी– ४ का ५२ वर्षीया लिला बिष्ट, पुष २४ गते राप्तिसोनारी–६ का ३० वर्षीया चाँदनी थारु र केही महिना पहिले राप्तिसोनारी– १ राप्तिभेरी होटल गाभरमा काम गर्ने ५१ वर्षीय भारतीय नागरिकको बाघको आक्रमणबाट ज्यान गएको छ ।

यता सामुदायिक वनमा बाघ आक्रमणको घटना फेरि दोहोरिएपछि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय बाँके र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको संयुक्त प्राबिधिक टोलीले बाघको खोजी कार्यमा लागेकोछ । यतिबेला बाँकेमा बाघ गणनाको कार्य जारीछ ।

थप समाचार

फत्तेपुरका धनबहादुरलाई बाघले खायो

बाघ आक्रमणको घटना : बाँकेदेखि कैलालीसम्म २८ जनाको मृत्यु

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए