नेपालगन्ज १७ जेठ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटना भएको थियो ।
विमान दुर्घटनापछि उद्धारका लागि गएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले विमानको ब्ल्याक बक्स भेटाएको हो । उद्धारका लागि खटिएको सात टोलीमध्येका एकले ब्ल्याक बक्स भेटिएको जानकारी दिएका हुन् ।
दुर्घटनामा परेको विमानको ब्ल्याक बक्सलाई प्राथमिकताका साथ खोजिन्छ । दुर्घटनामा पर्नुअघि पाइटले गरेको कुरानकानी उक्त बक्समा रेकडेड हुने भएका कारण पनि यसलाई प्राथमिकताका साथ खोज्ने गरिएको हो ।
यसैबीच, मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आईतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज (मङ्गलबार) बिहान कोवाङ ल्याइएको छ । हराइरहेको एकजनाको शव अझैं भेटिएको छैन ।
मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए ।
सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० जनाको शव काठमाडौं ल्याइएको थियो । घटनास्थलबाट कोवाङ ल्याइएका थप १० जनाको शवलाई पनि आज (मङ्गलबार) नै काठमाडौं ल्याउने तयारी गरिएकोछ ।
तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आईतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।
करीब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयबासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिम प्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए ।
विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ । शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए ।
सोमबार बिहान ७ बजेतिर यार्सागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडिओ पठाएका थिए ।
थप समाचार
तारा एयरको विमान दुर्घटना : रतिशचन्द्रको नेतृत्वमा ५ सदस्यीय छानबिन आयोग गठन
तारा एयर विमान दुर्घटना : ज्यान गुमाउने यी हुन चालक दलसहित यात्रु
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव पोष्टमार्टम गर्न काठमाण्डौं लगिने
सम्पर्कविहनी भएको तारा एयरको विमान भेटिएन, खोजी कार्य स्थगित
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’