बर्दिया प्रहरीको चरम लापरबाही : थुनुवा फरारदेखि ओराली बजारको गोली काण्डसम्म सुरक्षा नेतृत्व असफल


बर्दिया प्रहरीको चरम लापरबाही : थुनुवा फरारदेखि ओराली बजारको गोली काण्डसम्म सुरक्षा नेतृत्व असफल

गुलरिया (बर्दिया) १२ साउन : नागरिकको सुरक्षाका लागी खटिएको नेपाल प्रहरी बर्दियामा पछिल्लो पटक असफल बनेको जिल्लामा भएका घटनाबाट पुष्टि हुदैँ गएको छ ।

बाघको आक्रमणका विरुद्धमा सुरक्षाको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिकमाथि गोली प्रहार गरी ज्यान लिने कार्यदेखि नेपाल –भारत क्षेत्रको जंगलमा निउरो टिप्न गएका नेपाली नागरिकमाथि गोली प्रहारका घटनामा कसले, किन गोली चलाएको हो भन्ने जानकारी पाउन सकिरहेको छैन ।

सीमाक्षेत्रको जंगलमा भएको घटनाको विषयमा भारतीय सुरक्षाकर्मीसंग समन्वय गर्न नसक्दा मृतकका आफन्तले न्याय नपाउने पक्कापक्की जस्तै भएकोछ ।

यतिमात्र होइन बर्दिया प्रहरी बारम्बार चरम लापरबाही गरिरहेकोछ । प्रहरी प्रमुखको कमजोर नेतृत्व तथा मातहतका प्रहरी प्रशासनलाई ब्यवस्थित र मर्यादिन बनाउन नसक्नुले यतिबेला बर्दिया प्रहरीमाथि थुप्रै प्रश्न तेर्सिएको छ ।
पछिल्लो पटक प्रहरी हिरासतमा रहेका बलात्कार आरोपी थुनुवा कक्षबाटै दिउँसै फरार हुँदा प्रहरीले यसको सुइको समेत पाउँदैन । यतिमात्र होइन प्रहरी चौकी नजिकै घरमा राति लुटपाट हुँदासम्म प्रहरीको तदारुकतामा निष्क्रिय देखिएको छ । यो पछिल्लो दुई महिनाको घटनाक्रमले बर्दिया प्रहरीलाई गिज्याइरहेको मात्र छैन समग्र बर्दियको सुरक्षा व्यवस्था कमजोर रहेको प्रमाणित पनि गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका व्यक्ति दिउँसै प्रहरीलाई चक्मा दिएर भाग्न सफल भएको घटना सेलाउन नपाउँदै बारबर्दिया नगरपालिका वडा नम्बर–९ कतर्नियामा प्रहरी चौकी नजिकै मुस्कान घिमिरेले सञ्चालन गरेको सुन पसलमा बुधबार राति २ बजे लुटपाट भएकोछ ।

लुटेराले सुन पसल खोल्न लगाई गरगहना तथा नगद लुटि भाग्दा समेत नजिकै रहेको प्रहरीले यसको सुइको समेत पाएनन् । स्थानीयबासीहरुका अनुसार मुखमा मास्क लगाएर आएका ५ देखि ६ जनाको समुहले मुस्कानको घरमा प्रबेश गरी परिवारलाई बन्धक बनाई लुटपाट गरेका हुन् ।

लुटेराले आफूलाई घरदेखि करिब २ सय मिटर टाढा रहेको सुन पसलमा लगी ढोका खोल्न लगाई सुन तथा नगद चोरी गरि भागेको पीडित मुस्कानले बताए । आफ्नो पसलमा लुटपाट भएपछि करिब १ सय मिटरको दुरीमा रहेको प्रहरीलाई खबर गर्दा पनि घटना भएको धेरै समयपछि प्रहरी आएको पीडित मुस्कानले गुनासो पोखे ।

पीडित मुस्कानका अनुसार लुटेराको समुहले पसलमा रहेको नगद एक लाख, करिब १८ तोला भन्दा बढि सुनका गरगहना लुटेर लगेकाछन् । यतिमात्र होइन लुटेराहरुले सुन पसलमा रहेको सीसीटिभिको हार्डडिस्क समेत लुटेर लगेको छ ।

पछिल्ला यी घटनाले बर्दियाको समग्र शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उब्जिएको छ । त्यसो त बर्दियामा दिनहुँ चोरी, लुटपाटका घटना हुने गरेकाछन् । तर, समग्र बर्दियाको शान्ति, सुरक्षा, अपराध नियन्त्रणको जिम्मेवारी लिएको सुरक्षा प्रमुखको असफल नेतृत्व र कार्यकुशलताले यस्ता घटना नियन्त्रणमा आउन नसकेको हो ।

यस्तै घटना केहि महिना पहिले बर्दियाको बढैयाताल गाँउपालिका रहेको सुनचाँदि पसलमा भएको थियो ।

भारतसंग खुला सीमाना जोडिएका कारण पनि बर्दियामा सुरक्षा चुनौती रहेको छ । तर, प्रहरीको सक्रियताको कमि र उदासिनताले शान्ति, सुरक्षा प्रत्याभुती हुन सकिरहेको छैन ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले घट्ना भैसकेपछि बास्तविकता के हो ? प्रहरीलाई जानकारी गराउनु पर्ने बताउँदै सुरक्षा निकायको समन्वयको अभावमा कुनै पनि समस्या नआउने बताउँछन् ।

उनले जिल्लामा देखिएको घटनाक्रमलाई न्यूनिकरण गर्न अन्य छिमेकी जिल्लासँग पनि समन्वय गरी काम गर्न आफुले प्रहरीलाई निर्देशन दिएको बताए ।

यता जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक विरेन्द्रबहादुर शाही कुरा गर्न चाहदैनन् । उनी केही न केही बहानामा पन्छिरहेका हुन्छन् ।

स्थानीयबासीहरुका अनुसार प्रहरी उपरीक्षक विरेन्द्रबहादुर शाही र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाको नेतृत्व सम्हाल्दै गर्दा बर्दियामा अपराधका घटना बढेर आएको बताउँछन् ।

बाघको आक्रमणको विरुद्धको शान्तिपुर्ण आन्दोलन गरिरहेका नागरिक माथि गोली प्रहार गर्ने र गराउने जिल्लाका सुरक्षा निकायका प्रमुखलाई नेपाल सरकारले बनाएको छानविन समितिले समेत लापरबाही गरेको प्रतिवेदन पेश गरेको थियो ।

प्रहरीको लापरबाहीकै कारण बर्दियाको ओराली बजारमा शान्तिपुर्ण आन्दोलन गरिरहेकामाथि गोली प्रहार हुँदा एक युवतिको ज्यान गएको थियो ।

सूचना अधिकारीको जिम्मेवारी समेत पाएका प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदीले हिरासतबाट भागेका थुनुवाको खोजी भैरहेको र प्रहरीले आन्तरिक छानविन थालेको भन्दै दोषिलाई विभागीय कारवाही गरिने बताउछन् । उनले अन्य घटनाहरुको विषयमा पनि प्रहरी गम्भीर भएर लागेको दावि गरे ।