गडरिया दम्पती हत्या प्रकरण : अर्का व्यक्ति पनि संलग्न रहेको खुलासा


गडरिया दम्पती हत्या प्रकरण :  अर्का व्यक्ति पनि संलग्न रहेको खुलासा

नेपालगन्ज १९ साउन : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– १४, पार्वतीपुरमा भएको गडरिया दम्पती हत्यामा अर्का व्यक्ति पनि संलग्न रहेको खुलेको छ ।

साउन ९ गते राति २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरियाको घरभित्रै विभत्स हत्या भएको थियो । दाजु विजय गडरिया र भाउजू रेखा गडरियाको योजनामा कृष्ण र अञ्जलीको हत्या भएको थियो ।
दाजु विजय र भाउजू रेखाले ‘पैसा’ दिएर नेपालगन्जका सकिल अली शेष, राजन सोनकर र राजु बेहनालाई प्रयोग गरेर कृष्ण र अञ्जलीको हत्या गराएको खुल्न आएको छ ।

प्रहरीले विजय, रेखा, सकिल र राजनलाई पक्राउ गरेको छ । हत्यामा संलग्न राजु फरार रहेका छन् ।

पक्राउ परेका विजय र रेखाले पटक–पटक बयान फेर्दै आएका छन् । सुरुमा उनीहरूले भारतीय दुईजना सुटरलाई ल्याएर हत्या गराएको बताएका थिए । पछि नेपालगन्जका दुई सकिल र राजनबाट हत्या गराएको बताए ।
अहिले आएर फेरि घटनामा राजु पनि संलग्न रहेको खुलाएका छन् । सुरुमा विजयले आफू माथिल्लो तलामा सुतेको बताएका थिए । तर, उनी हत्यामा प्रत्यक्ष संलग्न भएको बयान दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीसँग दिएको बयानका अनुसार भाइ र बुहारीको हत्याको योजना विजयले सकिलसँग बसेर बनाएका थिए । ग्यारेजमा काम गर्ने सकिलसँग विजयको पुरानो चिनजान थियो । विजयले भाइ र बुहारीको हत्या गर्ने कुरा गरेपछि सकिलमार्फत नै ममता नाम गरेको व्यक्तिलाई दुई लाख रुपैयाँ दिएको खुलेको छ ।

हत्या गर्ने दिनअघि नै ममता जेल परेपछि घटनाले अर्को रूप लिएको थियो । त्यसपछि सकिलले राजन र राजुलाई अपराधमा जोडेका थिए । ५० हजार रुपैयाँ लिएका सकिल, राजन र राजुलाई दाजु विजयले घरभित्र प्रवेश गराएका थिए ।

पेस्तोल लिएर घरभित्र पसेका उनीहरूले एक राउण्ड फायर गरेका थिए । खोका अड्केपछि फेरि पड्काउन पाएका थिएनन् । त्यसपछि डोरीले घाँटी कसेर मार्ने योजना बनेको थियो । कृष्णलाई हत्या गर्न हत्यारालाई धेरै सकस भएको घटनास्थलले देखाएको प्रहरीले बताएको छ । कृष्णले धेरैबेरसम्म प्रतिकार गरेका थिए ।

ईलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डिएसपी ऐनबहादुर मल्लले घटनाको रहस्य खुल्दै गइरहेको बताए ।

‘हत्यामा दुई जनामात्रै संलग्न भनिएको थियो । अनुसन्धान गर्दै जाँदा चारजना संलग्न रहेको पाइएको छ’, सेतोखरीसंग कुरा गर्दै डिएसपी मल्लले भने, ‘हत्यामा बाहिरका तीनजना र दाजु विजय प्रत्यक्ष संलग्न थिए ।’

डिएसपी मल्लले राजु बेहना फरार रहेकाले उनको खोजी गरिरहेको बताए । मल्लले हत्याको कारण सम्पत्तिलगायत भएको बताए । बाबुआमा तीर्थ गएको मौका छोपेर विजयले बाहिरी मान्छे लगाएर भाइ र बुहारीको हत्या गरेका थिए ।

थप समाचार

गडरिया दम्पती हत्या प्रकरण : हत्यामा संलग्न कन्ट्रयाक किलर भारतीय नभएर नेपाली, नेपालगन्जका २ जना हतियारसहित पक्राउ

गडरिया दम्पती मृत्यु घटना : भारतबाट कन्ट्रयाक किलर बोलाएर भाइ र बुहारीको हत्या

गडरिया दम्पती मृत्यु घटना : घटना शंकास्पद, सुराक खोज्दै प्रहरी