नेपालगन्जमा अटोरिक्सा चढ्दा खुद्रा पैसा बोक्नु पर्दैन !


नेपालगन्जमा अटोरिक्सा चढ्दा खुद्रा पैसा बोक्नु पर्दैन !

नेपालगन्ज १७ मंसिरः नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सिभिल बैंकले अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्य ‘गो क्यासलेस’ अभियान नेपालगन्जमा पनि शुभारम्भ गरिएकोछ ।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अटोरिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरेको सिभिलले ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिन नेपालगन्जमा अभयिान शुभारम्भ गरिएको हो । यसअघि जावलाखेलमा उद्घाटन गरिएको ‘गो क्यासलेस’ अभियान नेपालगन्जसंगै धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा सञ्चालनमा आएकोछ ।

‘गो क्यासलेस’ अभियान सञ्चालनमा आएसंगै अब नेपालगन्जमा अटोरिक्सामा यात्रा गर्ने यात्रुले आफ्नो मोबाइल बैंकिङ एप अथवा स्मार्ट वालेट एपमार्फत बिना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन् । जसले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ति मिल्नेछ ।

सिभिल बैंकले शनिबार नेपालगन्जको रामलिला मैदानमा शुभारम्भ गरेको ‘गो क्यासलेस’ अभियानको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले उद्घाटन गरेका थिए । सो क्रममा उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोर्याउने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको नेपाल राष्ट्र बैंक नेपालगन्जका छविलाल गिरीले बताए ।
साना–साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने सिभिल बैंकका चिफ बिजनेस अफिसर भोलाबहादुर विष्टले बताए ।

सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलाले ‘गो क्यासलेस’ का बारेमा जानकारी दिदैँ शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महांघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाह, नेपालगन्ज–९ का वडाअध्यक्ष गोविन्द रेग्मी तथा तीन सय बढि अटोरिक्सा व्यवसायीहरुको उपस्थिति रहेको थियो । ‘गो क्यासलेस’ अभियान शुभराम्भका अवसरमा आयोजित कार्यक्रममा उपस्थित तीनसय बढि अटोरिक्सा व्यवसायीहरुलाई क्यूआर कोड समेत प्रदान गरिएको थियो ।

९५.२३ अर्ब निक्षेप संकलन गरी करिब ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरुलाई बैंकिङ तथा वित्तीय ज्ञान सम्बन्धी वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्दै आएकोछ ।