आठौं नेपालगन्ज म्याराथनको उपाधि खड्कालाई


आठौं नेपालगन्ज म्याराथनको उपाधि खड्कालाई

नेपालगन्ज २४ मंसिर : नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्न सफल भएकाछन् । नेपालगन्जमा आज (शनिबार) भएको आठौं संस्करणको नेपालगन्ज म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारे ।

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेण्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेण्डमा पूरा गरे । यसअघि सातौँ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए ।

उपाधि विजेता खड्काले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै, आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जित्न सफल भइन् । उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेण्डमा पूरा गर्दै ६० हजार पुरस्कार प्राप्त गरिन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै, सोही विधा अन्र्तगतको म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेण्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेण्डमा पूरा गरिन । दुवै जनाले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवम् नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए ।

नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए ।

प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।

थप समाचार

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

‘इतिहास’ रच्न सफल नेपालगन्ज म्याराथन

नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

नेपालगन्ज म्याराथन विजेताले डेढ लाख पाउने

‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट