बाँकेमा फैलिदैँ दादुरा : पाँच पालिकामा दादुरा संक्रमण, चारमा खोप अभियान

स्वास्थ्यमन्त्रीसहितको टोली नेपालगन्ज आइपुग्यो


बाँकेमा फैलिदैँ दादुरा : पाँच पालिकामा दादुरा संक्रमण, चारमा खोप अभियान

नेपालगन्ज ७ माघ : पूर्ण खोपयुक्त जिल्ला बाँकेमा दादुराको प्रकोप फैलिदैँ गएकोछ । २०७७ चैत्र मसान्तमा बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष वित्नै लाग्दा बाँकेमा दादुरा प्रकोप पाइएको हो ।

नेपालगन्जमा गत पुष १२ गतेदेखि दादुराको संक्रमण देखिएपछि यतिबेला बाँकेको ५ पालिकामा दादुरा संक्रमण फैलिसकेकोछ । बाँकेको डुडुवा गाउँपालिकाका आठ जना बालबालिकामा दादुरा संक्रमण पाइपछि जिल्लामा ८ पालिकामध्ये ५ पालिकामा दादुरा संक्रमण फैलिएको पाइएको हो ।

डुडुवा गाउँपालिकाको वडा नम्बर–१ मा दादुरा संक्रमण देखिएको हो । योसँगै जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखापरेको छ ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा दादुरा संक्रमित बालबालिका भेटिएका थिए । दादुरा संक्रमित बालबालिका भेटिएका यी पालिकामा खोप अभियान जारी छ ।
डुडुवामा दादुरा संक्रमण देखापरेपछि शनिबारदेखि त्यहाँ खोप अभियान सञ्चालन गरिएको छ । वडा नम्बर– १ को तीन वटा खोप केन्द्रमा अभियान सञ्चालन गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेमा अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा १५ जना र डुडुवा गाउँपालिकामा आठ जना दादुराका संक्रमित फेला परेका छन् ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुष २२ गतेदेखि दादुरा–रूबेलाविरूद्धको खोप अभियान शुरू गरिएको छ ।

स्वास्थ्य कार्यालय, नेपालगन्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, पाँच वटा पालिकाको २६ वटा वडा प्रभावित छन् । त्यसमध्ये नेपालगन्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाको १३ वटा वडाका २० वटा खोप केन्द्रमा शनिबार खोप लगाइएकोछ ।

नेपालगन्ज, कोहलपुर, खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

७० हजार ५ सय जनालाई पुग्ने दादुरा–रुबेला खोप रहेकोमा थप ३० हजार डोज खोप प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रबाट प्राप्त भएको हो । बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी छ ।

सबैभन्दा बढी १७ वटा वडा नेपालगन्जको प्रभावित छन् । खजुराको ४, नरैनापुरको १, डुडुवाको १ र कोहलपुरको ३ वटा वडामा दादुरा फैलिएको छ ।

स्वास्थ्यमन्त्रीसहितको टोली नेपालगन्ज आइपुग्यो

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहितको टोली नेपालगन्ज आएकोछ । दादुरा प्रकोप प्रभावित बाँकेको अवस्था बुझ्न मन्त्री गिरीसहित स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलसहीतको टोली शनिबार बेलुका आइपुगेको हो ।

नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकनका लागि उक्त टोली आइपुगेको हो । टोली भोलि(आईतबार) प्रभावित क्षेत्रमै पुगेर महामारी बारे जानकारी लिनेछ । स्वास्थ्यमन्त्री गिरी नेतृत्वको टोलीले भोली(आईतबार) भेरी अस्पतालको निरीक्षण पनि गर्ने बताइएको छ ।

थप समाचार

बाँकेका २०९ जनामा दादुरा संक्रमण हुँदा १५० जना निको भए

पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित

नेपालगन्जका ११० जनामा दादुरा, दिनहुँ १८ संक्रमित भेटिन्छन्

३० हजार डोज दादुरा रुबेलाको खोप नेपालगन्ज आइपुग्यो

कस्ता बच्चालाई दादुरा लाग्न सक्छ ?