गुण्डा नाइके चक्रे मिलनलाई हतियारसहित सुरक्षा दिने युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा


गुण्डा नाइके चक्रे मिलनलाई हतियारसहित सुरक्षा दिने युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा

चक्रे मिलन (सानो घेरा) र उनको सुरक्षार्थ खटिएका युवकले बोकेको हतियार ‘पोइन्ट टुटु’ राइफल (ठुलो घेरा) ।

नेपालगन्ज २९ चैत्र : गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई हतियारसहित सुरक्षा दिने युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएकोछ ।

‘पोइन्ट टुटु’ राइफल हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि गुण्डा नाइके चक्रेका बडीगार्ड गणेश बोगटीलाई हिजो मङ्गलबार हतियारसहित पक्राउ गरिएको थियो । पक्राउ परेका गुण्डा नाइके चक्रेका ‘बडीगार्ड’ बोगटीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको हो ।

बाँके बैजनाथ गाउँपालिकाका बोगटीले सार्वजनिक स्थलमा ‘पोइन्ट टुटु’ राइफल प्रदर्शन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बोगटीलाई अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान थालेको बताए । ‘अभद्र व्यवहारमा मुद्दा लगाएर अनुसन्धान थालेका छौँ । अनुसन्धान गर्दै जाँदा अरु भेटिए, थप मुद्दा लाग्छ,’ एसपी राठौरले भने ।

Kids Festival 2022
kanti aarogya hospital

गुण्डा नाइके चक्रे मिलन नेपालगन्ज आएका बेला उनलाई ‘पोइन्ट टुटु’ राइफल हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएको थियो ।

तीन दिनअघि (आईतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन उक्त हतियारको सुरक्षा घेरामा देखिएका थिए । उनी आफ्ना सहयोगीका साथ होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका बोगटीले उक्त हतियार बोकेका थिए ।

प्रहरीका अनुसार उक्त हतियारको जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिइएको पाइएको छ । सो हतियार के प्रयोजनका लागि र कहिले लाइसेन्स लिइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘पोइन्ट टुटु’ राइफलको सुरक्षा घेरामा देखिएको भिडियो सार्वजनिक भएको भोलिपल्ट सोमबार चक्रे नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित महाधिवेशन स्थलमा समेत देखिए ।

युवाको एक समुह घेराभित्र रहेका उनी सुरक्षाकर्मीलाई चुनौती दिदैँ सरासर महाधिवेशन स्थलको मुख्य मञ्चमै गए । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मञ्चासिन थिए ।

युवाको घेराभित्र निर्धक्क हातारिँदै मञ्चतर्फ पुगेका उनलाई त्यही छेउमा रहेका सुरक्षाकर्मीले समेत चिन्न सकेनन् । महाधिवेशन मञ्चसँगै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत उनलाई को हुन् भन्ने समेत पत्तो भएन । यतिमात्र होइन महाधिवेशन स्थलको मञ्च छेउमा सञ्चारकर्मीलाई बस्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ रहेका अधिकांश सञ्चारकर्मीले उनलाई समेत को हुन् भनेर चिन्न सकेनन् ।

सोही छेउ भएर उनी युवासंघका महासचिव क्षितिज थैवेले कार्यक्रम सञ्चालन गरिरहेको ठाउँबाट मञ्चमा उक्लिए । महाधिवेशन मञ्चबाट उनी त्यसरी नै बाहिरीए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष समेत रहेका ज्ञानु ओली र विमल केसीको निमन्त्रणामा नेपालगन्ज पुगी युवासंघको महाधिवेशन स्थलमा समेत पुगेका हुन् ।

गुण्डा नाइकेहरू ‘घैंटे’ भनिने कुमार श्रेष्ठ र ‘चरी’ भनिने दिनेश अधिकारी प्रहरी इन्काउण्टरमा मारिएपछि गुण्डागर्दी हटेको भनिएको थियो । त्यसपछि स्वयं चक्रे मिलन पनि गुमनाम बसेका थिए । तर, अहिले उनका केही गतिविधि अस्वाभाविक देखिएको छ ।

थप समाचार

चर्चित ‘डन’ चक्रे मिलनलाई सुरक्षा दिने युवा हतियारसहित पक्राउ

चर्चित ‘डन’ चक्रे मिलनलाई ‘पोइन्ट टुटु’* राइफलको सुरक्षा, युवा महाधिवेशन स्थल निर्धक्क पुगे