बाँकेमा सशस्त्र प्रहरीले नदेखेको तस्करी


दामोदर भण्डारी दामोदर भण्डारी   शुक्रबार, वैशाख १४, २०८१
बाँकेमा सशस्त्र प्रहरीले नदेखेको तस्करी

सशस्त्र प्रहरीको सीमाक्षेत्रबाट तस्करीको सामान नेपालगन्ज भित्रिनु र जिल्ला प्रहरी कार्यालयको टोलीले दिनहुँ उक्त तस्करीको सामान समात्नुले तस्करी चरमविन्दूमा पुगेको देखिन्छ ।

नेपालगन्ज १४ बैशाख : सरकारले मुख्यतया सीमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्न राखेको हो सशस्त्र प्रहरीलाई । सशस्त्र प्रहरीको काम नै कुनैपनि हालतमा सीमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्ने नै हो ।

त्यसैले त सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरी राखेको छ । तर, सरकारले जुन उद्देश्यले सीमाक्षेत्रमा सशस्त्रका क्याम्पहरु स्थापना ग¥यो त्यसको ठिक विपरित कार्य गर्छन् सशस्त्र प्रहरीका हाकीमहरु (गणपती) ।

बाँके जिल्लामा तस्करी चरम उत्कर्समा पुगेको देखिन्छ । तस्करी गरी सशस्त्र प्रहरीको क्षेत्र भएरै भित्रिएका अवैध भन्सार छलीका लाखौ मूल्यका मालसामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले दिन्दिनै पक्राउ गर्नुले तस्करी कुन हदसम्म भइरहेको छ भन्ने छर्लङ्ग हुन्छ । 

सरकारले सीमा क्षेत्रबाट तस्करी गराउनु भनेर निर्देशन दिएझै भारतसँग सीमा जोडिएका तराईका जिल्लामा हाकिमहरुले नै तस्करी गराउने गरेको विगतका तस्करीका घटनाले देखाउँछ । विगतमा तस्करीमा संलग्न भएको भन्दै जवानदेखि एसपीसम्म विभागले गरेको कारवाहीले पनि उक्त कुराको पुष्टी गर्दछ ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त कार्यबाट बाँके जिल्ला पनि अछुतो छैन । तराईमा स्थापन गरिएका मध्ये नेपाल भारत–सीमामा पर्ने बाँकेको बालेगाउँमा अवस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर, बागेश्वरी बाँके पनि तस्करीबाट पैसा कमाउनका लागि ‘मालदार’ गणमा पर्दछ । यस गणमा आउन सशस्त्रका एसपीहरु तछाड–मछाड नै गर्छन् । यहाँ आउन एसपीहरु नेता, मन्त्री, आइजीपी सबैको पावर प्रयोग गर्छन् । किनकी एक वर्षको कार्यकालमा २ देखि ३ करोडसम्म तस्करीबाट कमाई हुने गरेको बसेर गएका पूर्व एसपीहरु बताउँछन् ।

Apf_Sp_Banke_Bimal_Dangi_2080-1712752183.jpg
अहिले उक्त ‘मालदार’ गणको प्रमुख भएर आएकाछन् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विमल डाँगी । एसपी रमेश विक्रम शाही सरुवा भएर गएपछि उनको ठाउँमा एक महिना अघिमात्र विमल डाँगी आएका हुन् । ३० नम्बर गणको हाकिम हुँदा एसपी शाहीले बाँकेमा करीब–करीब तस्करी निम्ट्याननै पारेका थिए । आफ्नो कार्यकालमा शाहीले तस्करी मज्जाले रोक्न सफल भए । तस्करीको सामान प्रक्राउ गरेपछि नेता, मन्त्री जो सुकैले भनसुन गरेपनि उनले कहिल्यै छोडेनन्, भन्सार बुझाइहाल्थे । त्यतिमात्र होइन तस्करीमा संलग्न पाएपछि दर्जनौ आफ्ना प्रहरीलाई कारवाही गरेका थिए । त्यसबेलाका जिल्ला प्रहरी कार्यालय बाँकेका एसपीले भनेका थिए ‘जाने बेला भइसक्यो सशस्त्रको एसपीले गर्दा पैसा नै कमाउन पाइएन, तस्करी फिटिक्कै गर्न दिंदैन ।’

तस्करबाट पैसा खान नपाएपछि ओठ, मुख सुकाएर बसेका जिल्ला प्रहरी कार्यालय बाँके मातहत र सशस्त्र प्रहरीको ३० नम्बर गण मातहतका सीमा क्षेत्रमा बस्ने ईन्चार्जहरुले त सशस्त्रका एसपी शाहीको सरुवा भएको दिन खुशीयाली नै मनाएका थिए ‘अब लाईन खुल्छ र पैसा कमाउन पाइन्छ’ भनेर । अहिले एसपी डाँगी पैसाका लागि ‘मालदार’ मानिएको सशस्त्र प्रहरीको ३० नम्बर गणमा सरुवा गराएर आउन सफल भएका छन् ।

तत्कालिन सशस्त्र एसपी शाही हुँदा बाँकेमा रोकिएको तस्करी फेरी मौलाएको छ । तस्करी रोक्न बाँके जिल्लाको ६५ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १० वटा विओपी (क्याम्प) राखिएका छन्, तर तस्करी भइरहेको देखिन्छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर, बागेश्वरी बाँकेका एसपी विमल डाँगीले, सीमा क्षेत्रबाट तस्करी भइनै रहेको बताए । उनले तस्करी हुने काम र सामान समात्ने काम दुवै भइहेको बताए । तस्करी पनि भइरहेको छ, हामीले सामान पनि समातीरहेका छौं एसपी डाँगीले सेतोखरीसँग भने–‘हामी मिडियामा आउन मात्र नचाहेको हो । जतिसक्दो तस्करी रोक्ने काम भइरहेकोछ ।’

सशस्त्र प्रहरीको क्याम्पहरु राखिएको क्षेत्रबाटै तस्करी भएर आएको लाखौं मूल्यका मालसामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले धमाधम पक्राउ गरिरहेको छ । 

सीमाक्षेत्रबाट तस्करी भएर आएको मालसामानहरु जिल्ला प्रहरी कार्यालयको प्रहरीले नेपालगन्ज र आसपासबाट अहिले दिनहुँजसो पक्राउ गरिरहेको छ । ‘सीमा क्षेत्रमा तस्करी रोक्न छ्याप्छ्याप्ती सशस्त्र प्रहरी बसेको छ, त्यहीँबाट तस्करी भएर नेपालगन्ज मालसामान आउँछ यसैबाट बुझ्नुस् तस्करी कुन तरिकाले भइरहेको छ भनेर ।’ एक व्यापारी नेताले भने ‘एसपी परिवर्तनको यो ज्वलन्त उदाहरण हो । तस्करीको जिम्मा नयाँ एसपी विमल डाँगीले लिनेकी नलिने ?’ 

जिप्रका बाँकेले पक्राउ गरेको भन्सार छलेको सामान यस्तो छ 

भारतबाट तस्करी भई नेपालगन्ज भित्रिएको माल सामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले धमाधम पक्राउ गरिरहेको छ । भन्सार छलेर सीमा क्षेत्रबाट भित्र्याइएका ति  माल सामानहरु पक्राउ हुनुले तस्करी कुन गतीमा भइरहेको छ भन्ने पुष्टि गर्दछ । जिप्रका बाँकेले यही वैशाख २ गतेदेखि १२ गतेसम्म १० दिनमा ७ पटक गरी १५ लाख भन्दा बढीको भन्सार छलीको सामान पक्राउ गरेको छ । तर, सशस्त्र प्रहरीले भने उक्त तस्करी देखिरहेको छैन । 

सशस्त्र प्रहरीको सीमाक्षेत्रबाट तस्करीको सामान नेपालगन्ज भित्रिनु र जिल्ला प्रहरी कार्यालयको टोलीले दिनहुँ उक्त तस्करीको सामान समात्नुले तस्करी चरमविन्दूमा पुगेको देखिन्छ ।

जिप्रका बाँकेले १० दिनमा पक्राउ गरेको मिति र सामानको मूल्य
–    वैशाख २ गते २ लाख १० हजारको सामान बरामद गरेकोछ ।
–    वैशाख ६ गते ४ लाख पचास हजारको चल्ला बरामद ।
–    वैशाख ७ गते ५७ हजारको सामान बरामद ।
–    वैशाख ९ गते २ लाख ९२ हजारको सामान बरामद ।
–    वैशाख १० गते १ लाख ३३ हजारको सामान बरामद ।
–    वैशाख १२ गते ४ लाख ४६ हजारको सामान बरामद ।