बाघले झम्टेर लगेको नन्दकलाको शव १६ घण्टा पछि फेला पर्यो

परिवारले शव बुझ्यो, राति ८ बजेपछि यात्रा गर्न प्रतिबन्धः प्रशासन


बाघले झम्टेर लगेको नन्दकलाको शव १६ घण्टा पछि फेला पर्यो

गुलरियाः बर्दियामा बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको १६ घण्टापछि उनको शव फेला परेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि बाघले आक्रमण गरेको हो ।

कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको थियो । सोक्रममा मोटरसाइकल चालक उनका छोरा सामान्य घाइते भएका थिए ।

उनको शव शनिबार मध्यान्ह १२ बजेतिर घटनास्थलदेखि उत्तरपश्चिम करिब तीन सय मिटर पर फेला परेको हो । कोहलपुरबाट उपचारपछि आमाछोरा मोटरसाईकलमा शुक्रबार राती ८ बजे घर फर्केका थिए । घर फकर्ने क्रममा निकुञ्ज क्षेत्र अम्रेनि पोष्टदेखि करिब ६ किलोमिटर पश्चिमतर्फ मोटरसाईकलको पछाडि बसेकी नन्दकलालाई बाघले झम्टेर जंगलतर्फ लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र खडकाले जानकारी दिए ।

बाघले आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा निस्किएको थियो । उनका अनुसार राती खोजीकार्य असम्भव भएपछि शनिबार बिहानपख खोजी कार्य गर्दा बाघले झम्टेर लगेको स्थान देखि करिब ३ सय मिटर उत्तरपश्चिमतर्फ ती महिलाको शव फेला परेको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

राति ८ बजेपछि यात्रा गर्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ । शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

‘मैले निकुञ्ज प्रशासनलाई फोन गरि आजै बेलुकादेखि मोटरसाईकल, साईकल र अटो रिक्सा चलाउन रोक लगाउनू भन्ने आदेश गरिसकेँ,’ प्रजिअ अधिकारीले भने, ‘त्यो बाहेकको समयमा पनि आजैदेखि १० जनाको समूहमा मात्रै साधन सञ्चालन गर्न पाउने गरि व्यवस्थापन गर्न निर्देशन दिएको छु ।’

दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न नदिने र सवारी चालकहरू दशवटा जम्मा भएपछि मात्रै यात्रा गर्न दिने नियम लागू गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । मोटरसाईलकमा सवार महिलालाई बाघले झम्टिएर मारेपछि मानवीय सुरक्षाको दृष्टिकोणले त्यस्तो नियम लागू गर्नुपरेको अधिकारीले बताए ।

प्रजिअ अधिकारीले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने बारेमा निकुञ्ज प्रशासनसँग थप कुरा हुने जानकारी दिए । प्रजिअ अधिकारीले निर्देशन दिएसंगै बर्दिया राष्ट्रिय निकुञ्जले शनिबार एक सूचना जारी गर्दै उक्त क्षेत्रमा यात्रा गर्न बन्द गरेकोछ ।

राष्ट्रिय निकुञ्ज भित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अम्रेनी–कर्णाली चिसापानी सडखण्डमा पाटे बाघको चहलपहल अत्याधिक रुपमा बढिरहेको भन्दै शनिबारदेखि लागुहुने गरि उक्त सडकखण्डमा हरेक दिन बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साईकल र मोटरसाईकलमा यात्रा गर्न बन्द गरिएको निकुञ्जद्वारा जारी सूचनामा उल्लेखछ ।

आफन्तले शव बुझे

बाघको आक्रमणबाट मृत्यु भएकी कैलाली लम्किचुहा नगरपालिका–४ की ५० वर्षिया नन्दकली थापाको शव आफन्तले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार पोष्टमार्टमपछि शनिबार बेलुका आफन्तले शव बुझेर लगेका हुन् ।

पछिल्लो समय बर्दियामा बाघ आतंक बढ्दै गएको छ । बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्गमा घर पालुवा जनावर र स्थानीयलाई बाघले आक्रमण गर्न थालेको छ । बाघ आतंककै कारण पछिल्लो ३ महिनामा ७ जना मानिसको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् ।