बर्दियामा मान्छे खाने पाटेबाघ पहिचान भएन, बुढो कमजोर बाघ नियन्त्रणमा लिइयो

निकुञ्जद्वारा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक


बर्दियामा मान्छे खाने पाटेबाघ पहिचान भएन, बुढो कमजोर बाघ नियन्त्रणमा लिइयो

प्रतिकात्मक तस्विर

बर्दिया ४ चैत : बर्दिया राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघको पहिचान गर्न नसके पनि घरपालुवा जनावर खाने बाघको पहिचान गरी नियन्त्रणमा लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट उक्त पाटेबाघलाई नियन्त्रणमा लिइएको हो ।

चालु आर्थिक वर्षमा ९ जना मानिसको बाघ आक्रमणबाट मृत्यु भैसकेको अवस्थामा मान्छे खाने बाघको पहिचान हुन सकेको छैन । यद्यपी निकुञ्जको उत्तरी पश्चिम भागमा घरपालुवा जनावहरुलाई आफ्नो शिकार बनाएको बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एंवम सूचना अधिकारी असिम थापाका अनुसार पाटेबाघ नियन्त्रणमा लिन निकुञ्ज, नेपाली सेनाको टोली र प्रहरीको संयुक्त टिमले क्यामरा जडान गरी ट्रयाकिङ कार्य गरेको थियो ।

सोहि अनुसार हात्तिको सहयोगमा बुधबार बेलुका नियन्त्रणमा लिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम सूचना अधिकारी थापाले सेतोखरीलाई जानकारी दिए ।
नियन्त्रणमा लिइएको उक्त पाटेबाघ करिब १५ वर्षको भएको बुझिएको छ । भने बाघका नङग्रा कमजोर हुनुका साथै केहि झरेको तथा मुख्य दाँत पनि नरहेको उनले बताए । बुढो कमजोर बाघ नियन्त्रणमा लिएको निकुञ्जले बर्दियामा मानिस मार्ने बाघको भने अझैँ पहिचान हुन सकिरहेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘डार्ट’ गरि नियन्त्रणमा लिएको पाटेबाघलाई निकुञ्ज मुख्यालय ठाकुरद्वारा राखिएकोछ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई (हिजो) मङ्गलबार दिउँसो पाटेबाघले झम्टेर लगेपछि उनको खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा पाटेबाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।

बाघ आक्रमणका घट्ना बढ्दैगएपछि निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गर्दै निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैँसी चराउन तथा घाँस दाउरा लिन नजान पटकपटक आग्रह गरेपनि स्थानीयले अटेर गरेपछि बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।

यसअघि पनि गत कार्तिक २४ गते बर्दियाको गेरुवा क्षेत्रबाट मान्छे खाने एउटा पाटेबाघ निकुञ्जको टोलीले ‘डार्ट’ गरि नियन्त्रणमा लिइसकेको छ ।

निकुञ्जद्वारा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक

पाटेबाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ ।

केही महिनादेखि पाटेबाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भइरहेका पर्यटकीय गतिविधिमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो ।