बाघ आतंक बढेपछि खाता जैविकमार्गको ब्रेकर हटाइयो


बाघ आतंक बढेपछि खाता जैविकमार्गको ब्रेकर हटाइयो

खाता जैविकमार्गमा ब्रेकर भत्काइएपछिको दृष्य । तस्विर : दीपक शर्मा सेतोखरी

गुलरिया (बर्दिया) ७ चैत : खाता जैविक मार्गका हुलाकी सडकमा बनाइएको ब्रेकर हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मधुवन नगरपालिका, सुरक्षाकर्मीलगायतको टोलीले ब्रेकर हटाएको हो ।

वन्यजन्तु आवतजावत गर्दा तीव्रगतिका गाडीले ठक्कर दिन सक्ने भन्दै बनाइएको ब्रेकर पछिल्लो समय खाता जैविकमार्गमा बाघको आतंक बढ्दै जानु र ब्रेकरमा कम गतिमा सवारीसाधन चलाउँदा बाघले आक्रमण गर्न सक्ने आँकल गर्दै हटाइएको हो ।

वन्यजन्तु ओहोरदोहोर गर्न सहज होस् भनेर खाता जैविकमार्गमा ५०–५० मिटरको दूरीमा १० वटा ब्रेकर बनाइएको थियो । मापदण्डभन्दा अग्लो ब्रेकर बनाएकाले सवारीसाधन चलाउँदा दुर्घटना समेत बढाएको भन्दै स्थानीयवासीहरू असन्तुष्ट रहेका थिए ।

साइकल मोटरसाइकललगायत सवारीसाधनको गति न्यून भएका बेलामा बाघले आक्रमण गर्न सक्ने सम्भावना बढेपछि ब्रेकर हटाइएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘ब्रेकर हटाएको स्थानमा बिग्रिएको बाटो नगरपालिका आफैँले मर्मत गर्छ, बाघको आक्रमण बढेसँगै ब्रेकरका कारण यात्रुहरूको ज्यानसमेत जोखिम थियो’ उनले बताए ।
हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी रामसागर हरिजनले राजमार्गमा ब्रेकर बनाउन नमिल्ने भए पनि वन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भएकाले ब्रेकर निर्माण भएको बताए । उनले विश्व वन्यजन्तु कोष र हुलाकी सडक निर्देशनालयको सम्झौताअनुरूप ब्रेकर निर्माण भएको बताए ।

ब्रेकर भत्काइएको स्थानमा वन्यजन्तु ओहोरदोहोर गर्नका लागि सडकमाथिबाट ओभरपास बनाइनेछ । वन्यजन्तुको ओभरपास बनाउने प्रक्रिया सुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी हरिजनले बताए । ओभरपास निर्माणका लागि निर्देशनालयले प्रक्रिया शुरु गरेको उनले बताए ।

जिल्ला सुरक्षा समितिले मानवीय सुरक्षाको कारण देखाउँदै खाता जैविकमार्गको ब्रेकर हटाउने निर्णय गरेको थियो ।

बाघको आतंक र स्थानीयको विरोध आएपछि सुरक्षा समितिले सो निर्णय गरेको हो । बाघको गतिविधि बढेसँगै ब्रेकर भएको सडक खण्डमा पटक–पटक बाघ देखिन थालेको छ ।

पछिल्लो समय बर्दियामा वन्यजन्तु र मानवविच द्वन्द्व बढेर आएकोछ । चालु आर्थिक वर्ष चैत पहिलो हप्तासम्म ९ जना मानिसको बाघ आक्रमणबाट मृत्यु भैसकेको छ ।
खाता जैविक मार्ग क्षेत्रबाट यही बिहीबार अन्दाजी १० वर्षको पाटेबाघ नियन्त्रणमा लिएको थियो।