खाता जैविकमार्गमा ब्रेकर भत्काइएपछिको दृष्य । तस्विर : दीपक शर्मा सेतोखरी
गुलरिया (बर्दिया) ७ चैत : खाता जैविक मार्गका हुलाकी सडकमा बनाइएको ब्रेकर हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मधुवन नगरपालिका, सुरक्षाकर्मीलगायतको टोलीले ब्रेकर हटाएको हो ।
वन्यजन्तु आवतजावत गर्दा तीव्रगतिका गाडीले ठक्कर दिन सक्ने भन्दै बनाइएको ब्रेकर पछिल्लो समय खाता जैविकमार्गमा बाघको आतंक बढ्दै जानु र ब्रेकरमा कम गतिमा सवारीसाधन चलाउँदा बाघले आक्रमण गर्न सक्ने आँकल गर्दै हटाइएको हो ।
वन्यजन्तु ओहोरदोहोर गर्न सहज होस् भनेर खाता जैविकमार्गमा ५०–५० मिटरको दूरीमा १० वटा ब्रेकर बनाइएको थियो । मापदण्डभन्दा अग्लो ब्रेकर बनाएकाले सवारीसाधन चलाउँदा दुर्घटना समेत बढाएको भन्दै स्थानीयवासीहरू असन्तुष्ट रहेका थिए ।
साइकल मोटरसाइकललगायत सवारीसाधनको गति न्यून भएका बेलामा बाघले आक्रमण गर्न सक्ने सम्भावना बढेपछि ब्रेकर हटाइएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।
‘ब्रेकर हटाएको स्थानमा बिग्रिएको बाटो नगरपालिका आफैँले मर्मत गर्छ, बाघको आक्रमण बढेसँगै ब्रेकरका कारण यात्रुहरूको ज्यानसमेत जोखिम थियो’ उनले बताए ।
हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी रामसागर हरिजनले राजमार्गमा ब्रेकर बनाउन नमिल्ने भए पनि वन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भएकाले ब्रेकर निर्माण भएको बताए । उनले विश्व वन्यजन्तु कोष र हुलाकी सडक निर्देशनालयको सम्झौताअनुरूप ब्रेकर निर्माण भएको बताए ।
ब्रेकर भत्काइएको स्थानमा वन्यजन्तु ओहोरदोहोर गर्नका लागि सडकमाथिबाट ओभरपास बनाइनेछ । वन्यजन्तुको ओभरपास बनाउने प्रक्रिया सुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी हरिजनले बताए । ओभरपास निर्माणका लागि निर्देशनालयले प्रक्रिया शुरु गरेको उनले बताए ।
जिल्ला सुरक्षा समितिले मानवीय सुरक्षाको कारण देखाउँदै खाता जैविकमार्गको ब्रेकर हटाउने निर्णय गरेको थियो ।
बाघको आतंक र स्थानीयको विरोध आएपछि सुरक्षा समितिले सो निर्णय गरेको हो । बाघको गतिविधि बढेसँगै ब्रेकर भएको सडक खण्डमा पटक–पटक बाघ देखिन थालेको छ ।
पछिल्लो समय बर्दियामा वन्यजन्तु र मानवविच द्वन्द्व बढेर आएकोछ । चालु आर्थिक वर्ष चैत पहिलो हप्तासम्म ९ जना मानिसको बाघ आक्रमणबाट मृत्यु भैसकेको छ ।
खाता जैविक मार्ग क्षेत्रबाट यही बिहीबार अन्दाजी १० वर्षको पाटेबाघ नियन्त्रणमा लिएको थियो।
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति