बर्दिया प्रहरीको फन्दामा लागुऔषध प्रयोगकर्ता, प्रहरीको पहुँच बाहिर कारोवारी


बर्दिया प्रहरीको फन्दामा लागुऔषध प्रयोगकर्ता, प्रहरीको पहुँच बाहिर कारोवारी

File Photo

बर्दिया १७ साउन : बर्दियामा पछिल्लो पटक लागु औषध सेवनकर्ताको संख्या बढ्दै गएको छ ।

लागुऔषध सेवनकर्ता बढ्दै गएपछि बर्दिया प्रहरीले पनि सक्रियता देखाएकोछ । बर्दिया प्रहरीले लागुऔषध न्यूनिकरणमा तदारुक्ता देखाएपनि कारोबारीलाई पक्राउ गर्न सकेको छैन ।

प्रहरीले लागुऔषध सेवनकर्तालाई मात्र पक्राउ गर्ने तर, कारोवारीलाई समात्न नसकेपछि लागुऔषध नियन्त्रणमा समस्या खड्किएकोछ ।

प्रहरीले ‘नो ड्रक्स’ अभियान पनि सञ्चालन गरिरहेको छ तर, त्यसको प्रभाव सामान्य रुपमा परेपनि साथी संगतको लहलहमै लागेर लागु औषध प्रयोगकर्ताको संख्यामा भने कमि आउन सकेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

भारतसंग खुल्ला सीमाना भएकै कारण लागु औषधको कारोवारीले उन्मुक्ति पाउने गरेकाछन् । यसरी लागुऔषधको कारोबारीमा संलग्न ब्यक्तिलाई पक्राउ गरि कानूनी कारबाही गर्न बर्दिया प्रहरी चुकिरहेकोछ ।

लागुऔषध कारोबारीमा संलग्न ब्यक्तिले भरिया र अन्य ब्यक्तिलाई प्रयोग गरि लागुऔषध कारोबार गरिरहेकाछन् । जसले गर्दा बर्दियामा प्रहरीले लागुऔषध सेवनकर्ता र भरियालाई मात्र पक्राउ गरिरहेकोछ ।

लागु औषध कारोबारीको ठूलो सञ्जाल हुनु, खुला सीमानाका र प्रयाप्त मात्रामा सुरक्षाकर्मीको निगरानी हुन नसकेकै कारण कारोबारीले उन्मुक्ति पाइरहेको प्रहरीको भनाईछ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय बर्दियाले गत आर्थिक वर्षमा गाँजा ४ किलो एक सय ५३ ग्राम, चरेश ५ किलो ६ सय ९६ ग्राम, अफिम २६ किलो ५ सय ग्राम, ब्राउन सुगर ५७ ग्राम ८० मिलिग्राम र ट्याबलेट ७ सय ४८ वटा लागु औषध बरामद गरेको थियो । जसमा ३८ जनालाई पक्राउ गरि २७ जनालाई मुद्दा चलाएको थियो ।

चालु आर्थिक वर्षमा १९ ट्याबलेट नाईट्रारोभेट तथा २ ग्राम २ सय ८० मिलिग्राम ब्राउन सुगर सहित ४ वटा मुद्दामा ६ जनालाई पक्राउ गरि मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए ।