मिचियो महेन्द्र स्कुलको जग्गा


मिचियो महेन्द्र स्कुलको जग्गा

नेपालगन्ज २९ भदौ : मेहन्द्र माविको जग्गा मिचिएको पाइएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदोमा रहेको महेन्द्रको जग्गा मिचेर अबैध बाटो निर्माण भइरहेको छ ।

एउटा मात्र घर भएको अवस्थामा उक्त घरका लागि भन्दै विद्यालयको जग्गा मिचेर बाटो निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक राजेश कुमार यादवले बताए । उनका अनुसार, कारकाँदोमा विद्यालयको ३ विघा जग्गा रहेको छ । त्यस मध्ये एक सय मिटरमा अनुमति नै नलिएर स्थानीयले बाटो निर्माण गरेका हुन् ।

यस विषयमा विद्यालयले सम्बन्धित कार्यालयहरुमा निवेदन दिँदासमेत सुनुवाई नभएको बताएको छ । वडा कार्यालय, उपमहानगरपालिका, शिक्षा समन्वय इकाई, जिल्ला प्रसाशन कार्यालय लगायतका सम्बन्धित क्षेत्रमा विद्यालयको जग्गा मिचेर निर्माण भइरहेको बाटो तत्काल काम रोक्नुपर्ने माग गर्दै निवेदन पेश गरिएको प्रधानाध्यापक यादवले बताए । सम्बन्धित निकायलाई जानकारी गराएको एक महिना वितिसक्दा पनि काम नरोकिएको उनले गुनासो पोखे ।

नेपालगन्ज उपमहानगरपालिका मेयर डाक्टर धवलशम्शेर राणाले केही दिनअघि उक्त क्षेत्रमा पुगेर स्थलगत रुपमा अनुगमन समेत गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सम्बन्धित निकायले चासो नदिएपछि मङ्गलबार पत्रकार सम्मेलन गरिएको उनले बताए । विद्यालयमा व्यवस्थापन समिति नभएका कारण पनि थप चुनौती थपिएको उनको भनाई छ । उक्त बाटो निर्माण भएपछि आसपासको क्षेत्रका जग्गा महंगोमा बिक्रि गर्ने उद्देश्यले भूमाफियाको इशारामा बाटो बनाइएको हुन सक्ने उनको अनुमान छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर– ७ रानी तलाउ नजिकै रहेको महेन्द्र नमूना माध्यमिक विद्यालय बाँकेकै पुरानो विद्यालय हो । लामो समयदेखि विद्यालयको जग्गामा भू–माफियाहरु लागेको यादवले बताए ।

‘यसअघि उक्त जग्गामा बाटो निर्माण गर्ने प्रयास गरिएको थियो । हामीले दुई पटकसम्म बाटो निर्माण गर्ने प्रयास स्वरुप ग्राभेल हालेर तयार गर्न लागेको समयमा प्रहरीको सहायताले डोजरको प्रयोग गरेर बाटो निर्माण कार्य रोकेका थियौँ,’ उनले भने । तर, केही समयपछि पुनः बाटो निर्माण कार्य सुरु भएको उनले बताए । यादवका अनुसार जग्गा ठेक्कामा लिएका ब्यक्तिले पनि रेखदेखमा बेवास्ता गर्दै आइरहेको छ ।

उक्त स्थानमा विद्यालयको १३ कित्तामा तीन बिघा १६ धुर जग्गा भएको लालपुर्जामा उल्लेख छ । हाल उक्त विद्यालयको जग्गामा आठ मिटर चौडाई भएको करिब एक सय मिटरको बाटो निर्माण गरि ग्राभेलसमेत गरिएको छ ।