‘कोलियामा रगतैरगत देखिएकाले त्यही हत्या भएको हुन सक्छ’


‘कोलियामा रगतैरगत देखिएकाले त्यही हत्या भएको हुन सक्छ’

नेपालगन्ज ३ असोज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर–४ साहाराटोल निवासी कृष्णबहादुर बिकलाई हत्या गरिएको उनका आफन्तले दावि गरेकाछन् । बर्दिया राजापुरको एक होटेलमा मृत अवस्थामा भेटिएका ३१ वर्षिय विकको हत्या भएको उनका दाई गौरीलाल विश्वकर्माले दावि गर्दै निश्पक्ष अनुसान्धानको माग गरे ।

आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै कृष्णका दाई गौरीलालले भने–‘घटनाको प्रकृती हेर्दा होटलको कोलियामा रगतैरगत देखिएको छ । त्यही भाइको हत्या गरियो ।’ घटनालाई मोड्न भाईलाई छतबाट खसाइएको उनले दावि गरे ।

उनले अगाडी थपे–‘भाइले राति १० बजे श्रीमती इन्दिरा विकलाई फोन गरेर छोराछोरीको खबर सोधेका थिए । एक्कासी राति १२ बजे ३ तलाको छतबाट हाम फालेर मृत्यु भएको होटेल व्यवसायीले बताएकाछन् ।’ मृतकका दाई गौरीलालले भने –‘भाइले लगाएको कपडा सबै छतमा भेटियो, कपडा खोलेर कसले हाम फाल्छ र ? यो झुटो हो । भाईले न्याय पाउनुपर्छ । दोषीलाई कारबाही होस् ।’

कृष्णकी श्रीमती इन्दिरा र कृष्णका ६ भाइहरु भएपनि प्रहरीले कसैलाई खबर नगरी घटनास्थलबाट विकको शव उठाएको भन्दै पत्रकार सम्मेलनमा उपस्थित मृतकका परिवारहरुले प्रहरीप्रति आक्रोश ब्यक्त गरे ।

प्रहरीले भाईको हत्या गरिएको विषयमा प्रभावकारी अनुसन्धान अघि नबढाएको समेत उनीहरुको आरोप छ । घटनामा न्याय नपाउने आशंका बढ्दै गएपछि न्यायका लागि मृतकका परिवारले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेको बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले न्याय मर्न नदिन र पीडितलाई तत्काल कारबाहीको माग समेत गरेका छन् । ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा भाद्र १४ गते कर्तब्य ज्यान मुद्दामा होटेल सञ्चालक सहित ३ जना विरुद्ध किटानी जाहेरी दिइएको गौरीलालले जानकारी दिए ।

उक्त जाहेरी लगत्तै किटानी गरिएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोछ । पक्राउ परेकामाथि अनुसन्धान प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक इश्वर कार्कीले बताए । उनले भने प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरिएको देखिएको छ । यद्यपी पीडित पक्षले दिएको जाहेरी पश्चात उनीहरुलाई पक्राउ गरि अनुसन्धान अघि बढेको छ । छिटै नतिजा आउँछ ।

गाडी ड्राइभरका रुपमा काम गर्दै आएका विक यही भाद्र ११ गते भे १ ज ११४५ नम्बरको विंगर(गाडी)मा यात्रुहरु लिएर बर्दियाको राजापुर गएका थिए । त्यसको भोलिपल्ट कामको शिलशिलामा गाडी साहु विनय रानाले रोकिन भनेपछि कृष्ण राना र अर्का गाडी स्टाफ पारस गुरुङसंगै स्थानीय एक होटेलमा विक बसेका थिए । सोहि राति १२ बजे कृष्णको मृत्यु भएको थियो ।