सबैका घरमा वाईरिङ गरेर ठिक्क, विद्युत मिटर छैन

‘मिटर अभाव छैन, बितरण केन्द्र र शाखाकै ढिला सुस्ती हो’


सबैका घरमा वाईरिङ गरेर ठिक्क, विद्युत मिटर छैन

नेपालगन्ज ८ असोज : वर्षौंसम्म बत्तीको पखाईमा रहेका बाँकेको राप्तीपारीका स्थानीयहरु अहिले मिटर नपाउँदाको पीडा खेपिरहेकाछन् । बिधुत बिस्तार भएपनि प्राधिकरणले मिटर उपलब्ध गराउन नसक्दा राप्तीसोनारी र नरैनापुरका करिब आधा बढी घरधुरीले बत्ती बाल्न पाएका छैनन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ४ शाहीपुरका गंगाराम थारुले गत चैत महिनामा बिद्युत बिस्तार हुनासाथ घरमा वाईरिङ गरे । बत्ति जोड्नका लागि मिटर माग गर्दै गत बैशाखमा बिद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जमा आवश्यक कागजात र रु. २५ सय शुल्क पनि बुझाए । तर, अहिले सम्म उनले मिटर पाउन सकेका छैनन् ।

मिटरकै लागि प्राधिकरणमा पटक–पटक आउँने गरेका छौं, उनले भने – ‘बिद्युतको हाकीमले कहिले मिटर छैन भन्छन्, कहिले मिटर जोड्ने मान्छे छैनन् भन्छन्, यस्तो भन्न लागेको ६ महिना भईसक्यो ।’ उनले अगाडी थपे – ‘साँझ पर्दा छिमेकीको घरमा झलमल बत्ती बल्दा आफ्नो घर अँध्यारो हुन्छ । अनि प्राधिकरणले सँधै रित्तो हात घर फर्काएको सम्झिँदा झनै पीडाहुन्छ ।’

मिटर बक्सको लागि आवश्यक कागजात र पैसा बुझाएको ६ महिना बितिसक्दा समेत मिटर पाउँन नसकेको उपभोक्ताको गुनासो छ । बिद्युत प्राधिकरणको मटेहिया शाखाले पहुँचको भरमा मिटर बाँडिरहेको र अन्य उपभाक्ताको फाईल तथा पैसा बुझन समेत अहिले बन्द गरिसकेको उपभोक्ताहरु बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

राप्तीसोनारीको वडा नम्बर– ३, मा १२०२ घरधुरी रहेको बताईएको छ । ६ सय बढी घरधुरीले अझै मिटर पाउन नसकेपछि हप्ता र महिनै पिच्छे प्राधिकरणमा डेलिगेशन जाने गरेको काँग्रेस बाँके क्षेत्र नम्बर – १ का सदस्य हेमकुमार डाँगीले बताए ।

बत्तीका लागि दौडधुप गरेर अहिलेसम्म कति जुत्ता च्यातिए थाहा छैन, उनले भने –‘पहिले बिद्युत बिस्तारका लागि संघर्ष गरियो अहिले मिटरका लागि धाउनु परेको छ ।’ घरको आँगनमा बिजुलीको पोल माथि बिद्युत प्रवाह सुरु भएको ६ महिना पुग्दा समेत घरमा बत्ती बाल्न नपाएको उनले दुखेसो पोखे ।

राप्तीसोनारी गाउँपालिकाले ८ करोड बढी लगानीमा वडा नम्बर–३ मा आफै पोल गाड्ने, तार तान्ने लगायतका काम गत चैतको पहिलो हप्तामै सम्पन्न गरेको थियो । पूर्वाधार निर्माणपछि प्राधिकरणलाई हस्तान्तरण गरेको ६ महिना बितिसक्दा समेत सबैले बत्ति बाल्न नपाउनु बिद्युत प्राधिकरणकै कमजोरी भएको राप्तीसोनारीबासी काँग्रेसका युवा नेता सन्तोष चौधरीले बताए ।

प्राधिकरणले हालसम्म जति काम गरेको छ जनताको दवावले मात्र गरेको छ, उनले भने – ‘पटक–पटकको डेलीगेशनले नभए विकल्पमा फरक तरिकाले प्रस्तुत हुन बाध्य हुनेछौं ।’

प्रत्यक्ष जनतासँग जोडिएकोले मिटर नपाएकाहरु आफुहरुलाई हैरान गरेको जनप्रतिनीधिहरु बताउँछन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ का अध्यक्ष गंगाराम थारुले प्राधिकरणमा जाँदा अश्वासन राम्रो पाउने गरेको तर, अहिलेसम्म मिटरको समस्या जिउँका तिउँ रहेको बताए । जनताले बत्ती बाल्न नपाएको पीडा हामीलाई मात्र थाहा छ उनले भने–‘त्यो पीडा हामी स्वयंले पनि भोग्दै आएकाछौं, प्राधिकरणले द्रुत गतिमा सबैको घरमा मिटर जडान गर्न सक्ने सम्भावना हुँदाहुँदै ब्यवास्ता गरिरहेको छ ।’

नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र नेपालगन्जका प्रमुख लखन लला मल्लिकले मिटर नपाउनुको मुख्य कारण प्रयाप्त मिटर र जनशक्तिको अभाव देखाए । डिभिजन कार्यालयले प्रयाप्त मिटर दिनसक्ने बताउँदै उनले भने – ‘अहिले प्रयाप्त मिटर आएको छैन, जतिमिटर उपलब्ध छ त्यहि जोड्ने जनशक्ति पनि छैन ।’ नरैनापुर र राप्तीसोनारी क्षेत्रको फिल्डमा खटिने सातजना मात्र कर्मचारी रहेकोले मटेहिया र धामपुरमा आधा–आधा कर्मचारी बाँडेर काम गरिरहेकोले पनि मिटर वितरणमा ढिलाई भएको मल्लीकले बताए ।

नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतमले भने राप्तीसोनारी र नरैनापुरका लागि मिटर अभाव नरहेको बताए ।

उनले भने –‘भरर्खर बिद्युत बिस्तार भएको स्थानमा मिटर अभाव छैन, यो सब बितरण केन्द्र र शाखाकै ढिला सुस्ती हो ।’ १३० वटा मिटर केही दिनअघि पठाईसकेको जानकारी दिँदै उनले अगाडी थपे – ‘पछिल्लो चरणमा पठाएको मिटर जडान भईसकेपछि फेरी अरु पठाउने छौं, राप्तीसोनारी र नरैनापुरमा मिटर अभाव हुन दिन्नँ ।’

डिभजन र बितरण कार्यालयको कुरा बाझिने किसिमको आईरहेकाले यसको मारमा राप्तीसोनारीका जनता मारमा परिरहेको स्थानीय जनप्रतिनीधिको भनाई छ । सबै संरचना निर्माणपछि पैसा तिरेर पनि बत्ति बाल्न नपाउनु भनेको दुर्भाग्य भएको स्थानीयको गुनासो छ ।