१०० नम्बरमा फोन गर्दा सर्वसाधरणलाई बर्दिया प्रहरीको ‘धम्की र गाली’


१०० नम्बरमा फोन गर्दा सर्वसाधरणलाई बर्दिया प्रहरीको ‘धम्की र गाली’

बर्दिया १५ मंसिर : कुनै घटना, दुर्घटना वा अप्ठेरो परेको खण्डमा सबैले १०० नम्बर डायल गर्छन् । जहाँ सिधै प्रहरीसंग सम्पर्क हुन्छ र तत्काल जोखिम र जटिल अवस्था वा अन्य अप्रिय घटनाबाट बच्ने र बचाउने आशा सबैको हुन्छ ।

१०० नम्बर प्रहरीको सञ्चार शाखाको नम्बर हो । देशभरी नै आम सर्वसाधरणका लागि २४ सैं घण्टा शान्ति, सुरक्षा, उद्धार, सूचना प्रवाह लगायतको सेवा प्रदान गर्न र लिन यो नम्बर सुचारु गरिएको हो । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

बर्दियामा १०० डायल गरेमा सर्वसाधरणले उल्टै हप्काई र गाली खानु परेको अवस्थाछ । बर्दियामा १०० नम्बर डायल गरेमा सहजै सेवा पाउने अवस्था छैन । कुनै अप्रिय घटना हुने वा भएको खण्डमा प्रहरीलाई तत्काल जानकारी गराउन आम सर्वसाधरणको मुखमा झुण्डिएको निशुल्क १०० नम्बर न फोन उठ्छ, न त राम्रो रेस्पोन्स नै आउँछ । फोन उठेपनि पुरा कुरा नसुनेर नै फोन काटिदिने गरिएकोछ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको कन्ट्रोलमा रहेको यो नम्बरमा फोन गर्दा बर्दिया गुलरियाका नागरिक नै सास्ती खेप्नु परेकोछ । घटना यही मंसिर ९ गते राति करिब ८ देखि ९ बजेको समयमा गुलरिया नगरपालिका वडा नम्बर–४ बगही नजिकै गुलरियाबाट माछागढतर्फ जाँदै गरेको बा १३ च ३१६३ नम्बरको स्कारपियो अनियन्त्रित तरिकाले चलिरहेको देखेपछि मोटरसाईकल सवार जलवर्षा थारु आफू चढेको मोटरसाइकल सडक किनारमा लगाइन । तर, मापसे गरेर चलाएको सो स्कारपियोले सडक छेउ रोकी राखेको मोटरसाइकललाई ठक्कर दियो । ठक्करबाट बारबर्दिया नगरपालिका वडा नम्बर– ११ जब्दी निवासी जलवर्षा थारु घाइते भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बगही नजिकै रोकीराखेको मोटरसाइकलमा ठक्कर दिएर भागेको स्कारपियो माछागढमा रहेको पट्रोल पम्पका सञ्चालक घनश्याम सुवेदी हो । सो दिन अत्याधिक मापसे गरी उनका छोरा शिशिर सुवेदीले चलाएको स्कारपियोले जलवर्षालाई ठक्कर दिएको हो ।

गाडीले ठक्कर दिएपछि गाडी चालकलाई गाडी भित्र रहेका आफुलाई भिआईपी बताउनेले भगाएका थिए । भने स्थानीयबासीले प्रहरीलाई १०० सय नम्बरमा फोन गर्दा करिब ३० मिनेटपछि फोन सम्पर्क भयो । आफूमाथि भएको घटनाका बारेमा बताउन नपाउँदै उताबाट थर्काउदै मानिस मरेको छ कि छैन ? भनेर सोधियो ।

प्रहरीले थर्काउदैँ सोधेपछि अचम्मित भएका स्थानीयबासीले मानिस जिउँदै रहेको तर, घाइते भएको हुँदा खबर गरेका भन्दा ‘यस्ता सामान्य कुरामा पनि फोन गर्ने भनेर फोन काटियो’ ती स्थानीयबासीले बताए ।

केहि सिप नलागेपछि गाडीलाई भगाई आफु त्यहि बसेका ति भिआइपी भनिने व्यक्तिले बर्दियाका डिएसपी र इन्सपेक्टरलाई खबर गरे । खबर लगत्तै १५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्यो । घाइते थारुलाई गुलरियामा सामान्य उपचारपछि थप उपचारकाका लागी बाँकेको कोहलपुर लगिएको छ । गाडी कसले चलाएको हो भन्ने विषयमा अझै खुलेको छैन ।

प्रहरीले घटनालाई गोप्प राख्न प्रयास गरेता पनि पीडितले प्रहरीमा उजुरी गरेपछि उपचार खर्च व्यहोर्ने घनश्याम सुवेदीले बताएको घाइते थारुले बताए ।

यो घटनाले बर्दिया प्रहरीभित्रको अनुशासन र घटनाप्रतिको गाम्भिरतामाथि प्रश्न खडा भएकोछ । प्रहरीको डायल १०० बाट सर्वसाधरणप्रति गरिएको यो ब्यवहारले प्रहरी संगठनलाई गिज्जाइरहको छ ।

घटना घटेको १० देखि १५ मिनेटसम्ममा प्रहरी बारदात स्थानमा पुग्ने भन्ने भनाईलाई प्रहरी उपरीक्षक इश्वर कार्की र प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले लत्याउँदै शक्ति र सत्ताको चाकडी र चाप्लुसी गर्दा आम नागरिकले दुःख पाएको यो घटनाले पुष्टि गर्छ ।