खजुरामा ‘फिल्मी शैली’मा मौलाउँदो अपराध, कहिले बलात्कार त कहिले लुटपाट


खजुरामा ‘फिल्मी शैली’मा मौलाउँदो अपराध, कहिले बलात्कार त कहिले लुटपाट

हतियारसहित आएका नकाबधारी लुटेराबाट लुटिएका पीडित (रातो मफुलर भिरेका) हरिप्रकाश सुनार ‘पप्पु’ र पृष्ठभूमीमा देखिएको लुटपाट भएको घर । तस्विर सौजन्य :खगेन्द्र दाहाल

नेपालगन्ज १७ माघ : बाँकेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारीको जंगलमा गत पुष २० गते मंगलबार बेलुका सवारीसाधन रोकी जबरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समुहलाई बाँके प्रहरीले पक्राउ ग¥यो । दाङ घर बताउने दूर्गा टमटा, सन्तोष पहाडी लगायतका ६ जना युवाको समुहलाई अगैया प्रहरी चौकीले नियन्त्रणमा लियो । अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीका अनुसार उनीहरुले अगैया भन्दा पुर्बतिर सिक्टा, गाभर जंगलमा गाडी रोकेर ‘फिल्मी शैली’मा जबरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिदै लुटपात गरेका थिए ।

बाघ आतंकले सुनसान बनेको उक्त राजमार्ग त्यसैमा बाक्लो कुहिरो र शीतलहरको मौका छोपी ‘फिल्मी शैली’मा राजमार्गमा गुड्ने सवारीसाधन लुट्ने प्रयास प्रहरीले असफल गरेको थियो ।

यो घटना सेलाउन नपाउँदै माघ ७ गते शुक्रबारका दिन बेलुका ५–६ बजेको समयमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–२ पुलचोक बाट १८ वर्षिया किशोरीलाई ‘फिल्मी शैली’मा अपहरण गरि बलात्कार गरियो ।

नेपालगन्जमा भाडामा बस्दै आएकी जाजरकोट निवासी १८ वर्षीया किशोरीलाई ५ जनाको समुहमा आएका स्थानीय युवाले ‘फिल्मी शैली’मा अपहरण गरि सोही दिन दुई पटक बलात्कार गरे । एकपटक जङ्गलमा र अर्को पटक आफ्नै घरमा बलात्कार गर्दै गर्दा रङ्गे हात १८ वर्षिय एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लियो ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके प्रहरीका अनुसार ती किशोरी आफ्ना ३ जना केटा साथीसंग फोटो खिच्न भन्दै घटना स्थल बाँकेको खजुरा स्थित पुलचोकमा गएका बेला अपहरणमा परेकी थिइन् ।

आफूसँगै गएका ३ जना केटा साथीलाई स्थानीय ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि ती किशोरीको अपहरण गरेका थिए । उक्त घटनामा १८ वर्षिय किशोर, अर्का २८ वर्षिय युवालाई नियन्त्रणमा लियो बाँकी फरार रहेका ३ जनाको पहिचान भइसकेको र उनीहरुलाई छिटै पक्रिने बाँके प्रहरीले बतायो ।

बाँकेमा घटेको यी दुई घटना पुरै फिल्मी शैलीको घटना हुन् । बाँकेको खजुरामा १८ वर्षिया किशोरीलाई ‘फिल्मी शैली’मा अपहरण गरि बलात्कार गरेको घटना घटेकै ९ दिनमा पुनः बाँकेको खजुरामा ‘फिल्मी शैली’मा एकजना ब्यापारिको घरमा लुटपाट भयो । एकपछि अर्को गरि बाँकेमै ‘फिल्मी शैली’मा लुटपाट र बलात्कारको घटना हुन थालेपछि बाँके प्रहरीले प्रदान गर्ने शान्तिसुरक्षामाथि प्रश्न उठेकोछ ।

बाँके प्रहरीले जिल्लाको समग्र शान्ति सुरक्षा र अमन चयनमा कुनै कसर बाँकी नराखेको बताइरहँदा खजुरा क्षेत्रमा पटक–पटक फिल्मी शैलीको अपराध मौलाउदै गएकोछ । खजुरा गाउँपालिका वडा नम्बर–४ ‘डी’ गाउँ निवासी सुन ब्यापारी हरिप्रकाश सुनार ‘पप्पु’ र उनको परिवारलाई बन्धक बनाएर सोमबार राती एक बजे लुटपाट गरियो ।

खजुरा १ नम्बर बजारमा ‘एलिसा ज्वैलर्स’ सञ्चालन गरेका सुन ब्यापारी हरिप्रकाशको घरमा रातीको एक बजे आएको नकाबधारी समुहले बन्दुक र धारिलो हतियार देखाएर घरमा लुटपाट गरे ।

बाक्लो कुहिरोको मौकाको फाइदा उठाउँदै ती नकाबधारीले हरिप्रकाशको एक तले घरको पछाडीबाट ढोका फोडेर भित्र पसे र परिवारका सबै सदस्यलाई बन्धक बनाएर तीन तोला सुन, ३० हजार रुपैयाँ नगद र एउटा मोटरसाइकल लुटेर कुलेलाम ठोके ।

डाँका समूहले तीन तोला सुन, ३० हजार रुपैयाँ नगद र एउटा मोटरसाइकल लुटेर भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार हतियारसहित पुगेको डाँका समूहले सोमबार राती साढे १ बजेतिर लुटपाट गरेको हो । उक्त समुह घर पछाडीको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो ।

पीडित सुनारले प्रहरीलाई दिएको जानकारी अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात र खुट्टा बाँधेर कन्चटमा पेस्तोल ताकेको थियो । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए ।

‘त्यस लगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे,’ पीडितलाई उदृत गर्दै प्रहरीले भन्यो, ‘दराज र पलङको बक्स फुटाएर ३ तोला सुन, ३ वटा मोबाइल, मोटरसाइकल र पैसा लगेर हामीलाई थुनेर भागे ।’ बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समयपछि गुहार मागेपछि छिमेकीहरू त्यहाँ पुगेका थिए ।

अपराधमा साना हतियार प्रयोग

बाँके प्रहरीको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको विगविगी भएको देखाउँछ । लुटपाट, हत्या, बन्धक, धम्की लगायतका घटनामा यस्ता साना हातहतियार बढि प्रयोग हुने गर्छ । बोक्न, लुकाउन सहज हुने भएकाले पनि यस्ता हतियार अपराधमा बढि प्रयोग हुन्छ ।

बाँके प्रहरीको पछिल्लो ६ महिनाको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको त्रास कायमै रहेको देखाउँछ । बाँके प्रहरीका अनुसार पछिल्लो ६ महिनामा ५ थान बन्दुक बरामद गरिएकोछ ।

वितेको ६ महिनाको अवधीमा बाँकेबाट ३ थान कटुवा पेस्तोल, एक थान एयरपेस्तोल, एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने ३ वटा छर्रासहित ४ जनालाई बाँके प्रहरीले पक्राउ गरि कारबाही गरेकोछ । यही अवधिमा गत वर्ष बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद भएको बाँके प्रहरीले जनाएकोछ ।

यसरी भयो लुटपाट

बाक्लो कुहिरो र चकमन्न रातको मौकाको फाइदा उठाउँदै नकाबधारी ती लुटेरा हरिप्रकाशको घरको पछाडिको ढोकाबाट भित्र पसे । उनीहरुले घरको उक्त ढोकोको माथि रहेको ‘रोसनदान’को जाली च्यातेर बाहिरबाट ढोकाको भित्रबाट लगाएको ‘लक’ खोले । उक्त ‘लक’ खोलेपछि ढोका उघारेर उनीहरु भित्र पसे ।

घरभित्र पसेका नकाबधारी लुटेरा पहिले हरिप्रकाशको छोरा भएको कोठामा पुगे । उनीहरुले हरिप्रकाशका छोरालाई बन्दुक ताकेर आफूलाई ज्वोरो आएको भन्न लगाई बुवाआमाको कोठा खोल्न लगाए । छोरालाई ढोका खोल्न लगाएपछि हरिप्रकाशले आफ्नो कोठाको ढोका खोल्नेवित्तिकै हतियार देखाएर हरिप्रकाश र उनको श्रीमतीलाई नियन्त्रणमा लिए ।

लुटेराबाट लुटिएका पीडित (रातो मफुलर भिरेका) हरिप्रकाश सुनार ‘पप्पु’ र पृष्ठभूमीमा देखिएको लुटपाट भएको घर । तस्विर सौजन्य : खगेन्द्र दाहाल

परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएका नकाबधारीले हल्ला नगर्न र आफूहरुले भनेको नमाने सबैजनालाई मारिदिने धम्कि दिदैँ सुनचाँदी पसलबाट ल्याएको ब्याग र घरमा रहेको सबै धनसम्पति निकाल्न निर्देशन दिदै हरिप्रकाशका छोरालाई फिल्मी शैलीमा बन्दुक तेस्र्याए ।

रातको समय घरभित्रै हतियारसहित लुटेरासमुह प्रवेश गरेको डरका अगाडी हरिप्रकाशको केही लागेन । उनीहरुले दराज, पलङ बक्स फुटाउँदै तीन तोला सुन, ३ वटा मोबाइल, पसलबाट ल्याएको नगद ३० हजार र मोटरसाईकल लुटे ।

लुटेरा समुहले अरु धनसम्पत्ति निकाल्न भनेपछि हरिप्रकाशले आफूसंग भएको सबै धनसम्पत्ति यती हो अरु छैन भन्दा उनीहरुको ध्यान खजुार १ नम्बरमा रहेको हरिप्रकाशको सुन पसलमा गयो । उनीहरुले पसलको चापी, सुनचाँदी र नगद राखेको लकरको चापी मागे । त्रसित बनेका हरिप्रकाशले लुटेराहरुले भने झैं चापी दिए । एकघण्टासम्म घरभित्रै रहेका ती लुटेराहरुले अन्ततः पसलको चापी त्यही राखि हरिप्रकाश र उनको परिवारलाई एउटै कोठामा थुनेर भागे ।

हरिप्रकाशको मोटरसाईकल लुटेर जाँदैगर्दा उनीहरुले यो घटना अरुलाई भनेमा पछि आएर गोली हानेर हत्या गर्ने धम्की समेत दिएको हरिप्रकाशले बताए । लुटेराले लुटपाट मच्चाएको करिब आधा घण्टापछि हरिप्रकाशले गुहार माग्दा छिमेकीले उद्धार गरेका थिए ।

हरिप्रकाशका अनुसार लुटपाटमा आएका ब्यक्तिहरुले तेरो नजिकको मान्छेले धेरै धनसम्पत्ति भएको सूचना दिए तर, त्यो अनुसार पाएनौं । हामीलाई गलत सूचना दिनेलाई पनि नछाड्ने भन्दै उनीहरु निस्किएका थिए । लुटपाटका क्रममा लुटेराले नेपाली भाषा बोलेपनि बोल्ने शैलीमा अवधि र हिन्दी लवज रहेको पीडित हरिप्रकाशले बताए ।

थप समाचार

१८ वर्षिया किशोरीलाई अपहरण गरि बलात्कार गर्ने युवा प्रहरी नियन्त्रणमा

बाघ मार्चपास गर्ने बाँकेको पूर्वपश्चिम राजमार्गमा लुटेरा समुह सक्रिय, प्रहरीद्वारा ६ जना पक्राउ

बाँके प्रहरीद्वारा ६ महिनामै ९ करोड बढि राजस्व संकलन