बर्दियामा टिप्पर आतंक : आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेका २ जनाको लियो ज्यान, ३ जना गम्भीर घाइते


बर्दियामा टिप्पर आतंक : आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेका २ जनाको लियो ज्यान, ३ जना गम्भीर घाइते

टिप्पर ठक्करबाट २ जनाको मृत्यु भएपछि आक्रोसित बनेका आफन्त र स्थानीयले बन्द गरेको नेपालगन्ज–गुलरिया हुलाकी सडक । तस्विर : दीपक शर्मा /सेतोखरी

गुलरिया (बर्दिया) १८ माघ : बर्दियाको बढैयाताल गाउँपालिकामा टिप्परले कुल्चिदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएकाछन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–३ स्थित सतपतियामा आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेकाहरुमाथि टिप्परले ठक्कर दिएको थियो ।

तिव्र गतिमा कुदेको टिप्पर अनियन्त्रित भई आँगनमा आगो तापेर बसिरहेका ४५ वर्षिय सोमबहादुर विकको घटना स्थलमै र वर्ष ४५ का रामु थारुको उपचारका क्रममा मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट सोही स्थानकी ३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र टिप्परका सहचालक सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर–११ का १९ वर्षिय लक्ष्मण सुनार गम्भीर घाइते भएका छन् । घाईत सबैजनाको नेपालगन्ज स्थित नर्सिङ्ग होममा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

टिप्पर चालक सुर्खेत विरेन्द्र नगरपालिका वडा नम्बर–११ निवासी ३३ वर्षिय दुर्गा विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गम्भीर घाइते भएकी चमेलीया थारु सोहि दुर्घटनामा मृत्यु भएका रामु चौधरीकी श्रीमती भएको बताइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सोमबार राती ८ बजेतिर नेपालगन्ज–गुलरिया हुलाकी सडक खण्डदेखि उत्तरतर्फ रहेको भोलागौडी जमुनी सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बर्दियाको मैनापोखर बजार र भोलागौडी बजारमा उचित क्षतिपुर्ति तथा चालकलाई कारबाहीको माग गर्दै नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग बन्द गरेकाछन् । आफन्तले शव बुझेका छैनन् ।

प्रहरीले अबरुद्ध भएको सडक खोल्ने प्रयास गरेपनि सडकको अबरोध हटाउन सकेको छैन । प्रहरीका अनुसार टिप्पर मालिक सुर्खेतका हुन् । उनी आएपछि मृतक परिवारले राखेको माग र कारबाहीका प्रक्रिया अगाडी बढाउने बताइएकोछ ।