जब २ जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित स्थानीयबासीले समाते...


जब २ जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित स्थानीयबासीले समाते...

गुलरिया १३ साउ (बर्दिया) : जिल्ला प्रहरी कार्यालय बर्दियाको मुल गेटतर्फ रहेको यामाहा सोरुमसगैैंको हुलाकी राजमार्ग छेउमा बिहीबार दिउँसो करिब १२ बजेतिर २ जना मानिसहरु केहि कुरा गरिरहेका हुन्छन् ।

उनीहरु अवधि भाषामा कुरा गरिरहेका थिए । कुरा गर्दा–गर्दै साईकल चोर्न लागे । त्यसै क्रममा स्थानीयबासीहरुले ती दुईलाई नियन्त्रणमा लिए ।

गुलरिया लगायत आसपासका क्षेत्रमा चोरी डकैतीका घटना बृद्धि भएका कारण त्रासमा रहेका बर्दियाबासीले नियन्त्रणमा लिएका ती दुई अपरिचित युवालाई केरकार गर्न थाल्छन् । सोहीक्रममा एक जना युवाको गोजीबाट कटुवा पेस्तोल खस्छ ।

साईकल चोर्न लागेका ती दुई ब्यक्तिमध्ये एकजनाको साथमा कटुवा पेस्तोल भेटाएपछि स्थानीयबासीहरुले तत्कालै प्रहरीलाई खबर गर्छन् । मुस्किलले जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालयदेखि घटनास्थल सम्म पुग्न ३०–४५ सेकेण्ड लाग्छ । तर, खबर पाएर पनि १५ मिनेटसम्म प्रहरी आउँदैन ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरी नआएपछि नियन्त्रणमा लिइएका ती युवालाई स्थानीयबासीहरु आफैले जिल्ला प्रहरी कार्यालयमा लगि बुझाउँछन् । प्रहरीलाई बुझाएका ती दुई युवा भारतीय रहेको खुल्छ ।

प्रहरीले अनुसन्धान अगाडी बढाउँदै जाँदा पक्राउ परेका भारतीय ती दुई नागरिकका साथबाट थप एउटा गरि २ थान कटुवा पेस्तोल, ९ राउण्ड गोली, चक्कु तथा नेपाली र भारु गरि केही नगद बरामद हुन्छ ।

स्थानीयले पक्राउ गरेका ती भारतीय नागरिक को हुन् ? कहाँबाट के का लागि आएका हुन् ? उनीहरुको उद्देश्य के थियो भन्ने लगायतका कुरा अझैं पत्ता लाग्न सकेको छैन । यद्यपी प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ परेका दुवैजनाको घटना थामथुम गर्ने प्रयासरत रहेकोछ ।

पक्राउ परेका व्यक्तिहरुबाट कुनै किसिमको परिचय खुल्ने कागजात फेला नपरेपछि उनीहरुको एकिन गर्न अप्ठेरो परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एव सूचना अधिकारी सूर्य प्रसाद सुवेदीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती दुई भारतीय नागरिक लुटपाट, चोरी डकैटी लगायतको अपराधिक गतिविधिका लागि आएको हुनसक्ने बताएकोछ । पक्राउ परेका ती दुई युवासंगै अरुपनि हुनसक्ने भन्दै उक्त घटनाको ग्राउण्ड जिरोबाट अनुसन्धान अघि बढाएको बर्दिया प्रहरीले बताएकोछ ।

बर्दियामा केहि समयदेखि लुटपाट, चोरी, डकैती र बलात्कार लगायतका घटनामा बृद्धि भएको छ । बर्दियामा पछिल्लो समय यस्ता अपराधिक गतिविधि बढ्दै गएपछि जिल्लाको शान्ति, सुरक्षामाथि प्रश्न उठ्न थालेकोछ ।

केही समयअघि मात्रै बर्दियाको ओराली बजारमा सुरक्षाकर्मीको गोली लागि युवतीको मृत्यु भएको घटनाले समेत जिल्लाको सुरक्षा चुनौतिपूर्ण रहेको पुष्टि गरेकोछ । नेपाल–भारत क्षेत्रको जंगलमा निउरो टिप्न गएका नेपाली नागरिकमाथि गोली प्रहार र बलात्कार आरोपी थुनुवा कक्षबाटै दिउँसै फरार हुँदा प्रहरीमाथि प्रश्न उब्जिएको हो ।

प्रहरीको लापरबाही तथा जिल्लाको सुरक्षा निकायको सक्रियता फितलो भएका कारण पनि यस्ता खालका घटनामा बृद्धि भएको स्थानीयबासीहरुको भनाई रहेको छ ।

थप समाचार

बर्दिया प्रहरीको चरम लापरबाही : थुनुवा फरारदेखि ओराली बजारको गोली काण्डसम्म सुरक्षा नेतृत्व असफल