नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि धम्क्याउँदै सिवान क्रसर उद्योग, राजस्व वापत ७३ लाख रुपैयाँ तिर्न अटेरी


नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि धम्क्याउँदै सिवान क्रसर उद्योग, राजस्व वापत ७३ लाख रुपैयाँ तिर्न अटेरी

गुलरिया(बर्दिया) २३ साउन : नदि उत्खनन् गरेबापत सरकारलाई बुझाउनु पर्ने राजस्व नबुझाएको सिवान क्रसर उद्योगको दादागिरीले यतिबेला बदिर्याको मधुवन नगरपालिका आजित बनेकोछ ।

सिवान क्रसर उद्योगले राजस्व बापत नगरपालिकालाई बुझाउनु पर्ने रकम बुझाउनुको साटो उल्टै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई धाक धम्की दिने गरेकोछ ।

क्रसर उद्योगको धाक धम्कीका कारण यतिबेला मधुवन नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले सास्ती भोग्नु परेको हो ।

स्थानीय तहलाई नदीजन्य पदार्थ उत्खनन् गरे वापतको राजस्व रकम नबुझाई कर्मचारी र जनप्रतिनिधिलाई दादागिरी शैलीमा धाक, धम्की दिदै आएको सिवान क्रसर उद्योगको कार्यले यतिबेला मधुवन नगरपालिकालाई काम गर्न अप्ठेरो परेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–४ मा रहेको सिवान क्रसर उद्योगले आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई तिर्नुपर्ने राजस्व ७३ लाख रुपैयाँ छ । तर, राजस्व स्वरुप उक्त रकम बुझाउन पटक–पटक नगरपालिकाले ताकेता गर्दा समेत सिवान क्रशर उद्योगले अटेरी गर्दै दादागिरी चलाएको छ ।

नगरपालिकाले पटक–पटक राजस्व बुझाउनका लागी मौखिक तथा लिखित पत्राचार गरेपनी राजस्व बुझाउन आनकाकानी गरिरहेको मधुवन नगरपालिकाले बताएकोछ ।

सिवान क्रसर उद्योगले मधुवन नगरपालिकालाई गत वर्षको ७३ लाख रुपैयाँ राजस्व बुझाउनु पर्ने भएपनी सो राजस्व अर्को आर्थिक वर्ष सुरु भइसक्दा समेत बुझाएको छैन ।

राजस्व बापत रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको नगरपालिकाले जनाएको छ । सम्झौता तथा नियम भन्दा बाहिर गएर नदी उत्खनन गर्ने, अनुगमनका बेला पटक–पटक कारबाही समेत भोगेको सिवान क्रसर उद्योगले राजस्वका लागि ताकेता गर्दा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई दादागिरी शैलीमा विभिन्न डर, धम्की र त्रास देखाउँदै आएकोछ ।

राज्यलाई बुझाउनु पर्ने नियमसंगत राजस्व नतिरेको सिवानका कारण यतिबेला मधुवनका स्थानीय राजनितिक दल, समाजसेवी तथा बुद्धिजिविहरुले चिन्ता र चासो समेत ब्यक्त गर्न थालेकाछन् ।

राजस्व नतिर्ने फर्मलाई प्रहरी प्रशासन लगाएर भएपनि असुल उपर गर्नु पर्ने स्थानीय नगरबासीहरुको भनाई रहेको छ ।

सिवान क्रसर उद्योगले नदि उत्खनन गरेबापत सरकारलाई बुझाउनु पर्ने राजस्व नबुझाउने, उल्टै कर्मचारी तथा जनप्रतिनिधिलाई धम्कि दिने गरेको नगरपालिकाका एक कर्मचारीले पुष्टि गरे ।

सिवान क्रसर उद्योगको दादागीरीले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि मात्र नभएर सर्वसाधरणले समेत सास्ती भोग्ने गरेकाछन् ।

मधुवन नगरपालिकालाई तिर्नु पर्ने राजस्वका विषयमा बुझ्न सिवान क्रसर उद्योगका सञ्चालकसंग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।