मृतक परिवारको मागप्रति बर्दिया प्रशासन उदासिन, दुई दिन वित्यो शव उठेन


मृतक परिवारको मागप्रति बर्दिया प्रशासन उदासिन, दुई दिन वित्यो शव उठेन

दोषीलाई कारबाही र उचित क्षतिपूर्तीको माग गर्दै ईलाका प्रहरी कार्यालय घेराउ गर्दै मृतकका परिवार र स्थानीयबासी । तस्विर :दीपक शर्मा /सेतोखरी

गुलरिया (बर्दिया) २० माघ : स्थानीय प्रशासनको लापरबाहीका कारण टिप्परको ठक्करबाट ज्यान गुमाएका ब्यक्तिको दुई दिन वित्दा पनि दाहसंस्कार हुन सकेन । भने नेपालगन्ज–गुलरिया सडक सञ्चालनमा आउन नसक्दा बर्दिया तनावग्रस्त बन्न पुगेकोछ ।

मृतकका आफन्त तथा स्थानीयबासीले चालकलाई कडा कारबाही र उचित क्षतिपुर्तिको माग राख्दै मंगलबार विहानदेखि अबरुद्ध पारिएको हुलाकी राजमार्ग अझै सञ्चालनमा आउन सकिरहेको छैन ।

बर्दिया प्रहरीले टिप्पर धनीलाई कारबाही नगरेको र आफ्ना मागप्रति उदासिन बनेको भन्दै मृतकका आफन्त र स्थानीय उग्र बन्दै गएकाछन् । दोषीलाई कारबाही र उचित क्षतीपूर्ती नपाएसम्म उनीहरुले सडक अबरुद्ध नखोल्ने र मृतकको दाहसंस्कार पनि नगर्ने चेतावनी समेत दिएकाछन् ।

घटनाको अनुसन्धान र कारबाही अगाडी बढाएको बताउने बर्दिया प्रहरीले सुर्खेत वीरेन्द्रनगर निवासी टिप्पर धनीलाई कानूनी दायरामा ल्याउन सकेको छैन । मृतकका आफन्त तथा स्थानीयबासीले आन्दोलन जारी राखेका कारण नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग बन्द छ । सडक अबरुद्ध भएपछि सर्वसाधारण नागरिकले सास्ती खेप्नु परेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यही माघ १७ गते सोमबार बेलुकी ८ बजेतिर सुर्खेतबाट बर्दियाको बढैयाताल गाँउपालिका–३ स्थित सतपतिया भन्ने गाउँमा भे १ क १४९५ नम्बरको टिप्परले आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेकालाई कुल्चेको थियो ।

टिप्परले आगो तापेर बसिरहेका स्थानीय ४५ वर्षिय सोमबहादुर विकको घटना स्थलमै मृत्यु भएको थियो भने करिब २ घण्टापछि उद्धार गरी नेपालगन्ज लगिएका अर्का स्थानीयबासी ४५ वर्षका रामु थारुको मृत्यु भएको थियो ।

उक्त घटनामा थप तीन जना गम्भीर घाईते भएका छन् । जसमा स्थानीय ३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र सुर्खेत घर भएका दुर्घटना भएको टिप्परका सह–चालक लक्ष्मण सुनार घाइते भएका थिए ।

स्थानीयबासीका अनुसार तीव्र गतिमा चलाइएको उक्त टिप्पर चालकको लापरबाहीले आफ्नै आँगनमा आगो तापेर बसेका दुई जनाको ज्यान गएको हो । उक्त घटनापछि आक्रोसित बनेका स्थानीयबासीको माग सुनुवाईमा प्रहरी प्रशासनले वेवास्ता गरेको भन्दै मङ्गलबारदेखि नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग अवरुद्ध गरेकाछन् ।

मृतकका आफन्त तथा स्थानीयबासीले हिजो बुधबार दोषीमाथि कारबाही र उचित क्षतिपूर्तीको माग गर्दै ईलाका प्रहरी कार्यालय मैनापोखर अगाडी टायर बालेर प्रहरी प्रशासन विरुद्ध नै नाराबाजी गर्नुका साथै गाँउपालालिका कार्यालय समेत घेराउ गरे ।

नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग अन्तर्गत भोलागौडी देखि जमुनी जाने हुलाकी मार्गमा भएको सो घटनाले अहिले गाँउ नै स्तव्ध भएको छ । न्यायको लागी स्थानीयवासीले आवाज उठाइरहेका छन् ।

मृतकका परिवार र स्थानीयले लगातार सडक अबरुद्ध गरिरहेता पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले हुलाकी राजमार्ग बन्द नभएको भन्दै हास्यास्पद प्रतिक्रिया दिएका छन् । उनले भने बाटो बन्द छैन, गाडी धनिलाई बोलाईदिएका छौं, पीडित पक्ष र गाडी धनिविच छलफल भैरहेको छ ।

थप समाचार

बर्दियामा टिप्पर आतंक : आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेका २ जनाको लियो ज्यान, ३ जना गम्भीर घाइते